देउडा

कर्णालीको लोकलय

देउडाको इतिहास र प्रदेश सरकारले जोगाउन चाहेको सांस्कृतिक निधि

कर्णाली चिनाउने अनेक दृष्टान्त छन् । तीमध्ये एक हो, देउडा । जुन यहाँको लोकगीत हो, लोकलय हो । लोकगाथा हो । सांस्कृतिक निधि र वैभव पनि हो ।
देउडा गीत हो, नाँच हो र खेल समेत हो । देउडाभित्रै अनेक लोकलय छन् । जसलाई एक्लै बसेर गाउन सकिन्छ । समूहमा पैतलाको चाल मिलाउँदै खेल्न सकिन्छ । र छमछम नाँच्न सकिन्छ । त्यसैले त कर्णाली प्रदेशवासीलाई देउडा गीत गाउन वा भनौं यो खेल खेल्नको लागि कुनै विशेष चाडपर्व नै कुर्नुपर्ने जरुरत हुँदैन । मनका बिलौना पोख्नका लागि होस् या मनभित्रको खुशी साट्नका लागि नै किन नहोस् उनीहरू देउडालाई माध्यम बनाउँछन् । चाडपर्व परे त्यहीँ गाउँछन् र सबैलाई सुनाउँछन् । नभए मेलापातदेखि रनवनसम्म पुगेर स्वर लगाउँछन् । सायद रुखलाई सुनाउँछन्, चरालाई सुनाउँछन् । शनैः शनैः वनस्पतिदेखि वन्यजन्तुसम्मलाई आफ्ना भाकाले मुग्ध बनाउँछन् । किनभने यो लोकलय हो । लोकको लय हो ।

परिचय

त्यसो त कर्णालीसँगै सुदूरपश्चिममा पनि देउडा गाइन्छ । पश्चिम नेपालमा गाइने प्रचलित लोक गायन शैली नै देउडा गीत हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदी नाम दिएको पाइन्छ । यसको आफ्नै भाषा छ्, अलग लय र शैली छ । भिन्दै भाका छ ।

देउडालाई विशेष गरेर मनका सुख–दुःख दर्शाउने माध्यमको रूपमा लिने गरिएको छ । अपरिचित मान्ठसँग परिचय गर्नको लागि सुरुमा नजिक नगएर टाढाबाट नै के छ हालखबर ? के गर्दै हो ? लगायतका संवादहरू कर्णालीका दुर्गम गाउँहरूमा अझै पनि ठाडो भाकामा गर्ने गरिन्छ । यसकारण पनि यो सांस्कृतिक निधि हो, वैभव हो ।

कर्णालीमा बस्ने बहुसंख्याक मानिसहरूले नै यसलाई संस्कृतिको रूपमा मनाउने भएकोले कर्णाली प्रदेश सरकारले वर्षको एक दिन देउडा पर्वको रूपमा सार्वजनिक बिदा नै दिने गरेको छ । हरेक वर्षको साउन १ गते देउडा पर्व मनाउने गरी बिदा दिइएको हो । प्रदेशको साँस्कृतिक निधि जोगाउनका लागि प्रदेश सरकारको यो नयाँ आयाम हो । जुन प्रशंसनीय छ ।

देउडा गीत के हो ?

देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भइ लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । जस्तै रैथाने बस्ती नभएको ठाउँ कैलाली, बर्दिया, बाँके, सुर्खेत, लगायतका जिल्लाहरूमा बस्ती सराइँको आधारमा देउडा गीतले प्रभाव छोडेको पाइन्छ ।

देउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको मानिन्छ । संस्कृत भाषाको ‘देउंदुराय’ शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि छ ।

देउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्घाटित गरिएको हुन्छ । मान्छेको जीवनमा आउने सुख–दुःखका अनुभूति र मिलन–विछोडको पक्षलाई देउडाले सङ्केत गरेको हुन्छ ।

इतिहास

देउडा गीतको सुरुवात खस सभ्यतासँगै भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा देउडा गीत गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा देउडा गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल जवाफ चल्ने गर्दथ्यो । यतिमात्र होइन देउडा गीतबाट नै कतिपयका घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् । देउडा गीत एक प्रकारको भाषा हो यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्रायः यसका गीतहरू खस भाषामा आधारित हुन्छन् ।

खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तैः बैतडी, डोटी, दैलेख, दुल्लू, जाजरकोट आदि ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडा गीत पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालीन राज्य अन्तर्गत पर्ने स्थानहरूमा लोकप्रिय बन्दै गएको छ । पश्चिम नेपाल राज्यको नजरमा टाढा रहे पनि संस्कृतिमा सधैं सम्पन्न रहेको दृष्टान्त पनि हो, देउडा ।

नेपाली भाषाको उद्गम भूमिको रूपमा रहेको पश्चिम नेपालको आफ्नै इतिहास छ । यस क्षेत्रमा गाइने न्याउल्या गीतको आफ्नै गौरवमय इतिहास छ । देउडा गीतको ऐतिहासिक नाम न्याउल्या गीत हो । कुमाउतिर अझै पनि ठाडी भाकालाई न्याउली भनिन्छ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा गाइने सबै गीतहरूलाई समग्रमा देउडा भन्ने गरेको पाइन्छ । यति मात्र नभएर कतिपयले खस, अछामी, डोटेली, बैतडा आदि पश्चिम नेपालमा बोलिने भाषासहितलाई पनि देउडा भाषा भन्ने गर्छन् ।

नेपाली भाषाको उद्गमस्थल पश्चिम नेपाल हो भन्ने कुरा इतिहासले नै सावित गरिसकेको छ । अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमि खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासनकालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् । त्यसपछि खस साम्राज्यको उदय भयो । उनीहरूले जुम्लाको सिंजालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । राजाले राजकीय भाषाको मान्यता दिएपछि यस भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो । त्यहाँबाट सर्दै पूर्वी नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाएपछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो ।

प्राचीन खस भाषा पश्चिम नेपालमा अझै पनि रहेको छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा “मेरा साना दुःखले आज्र्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलबारी हो सबैलाई चेतना भया” भनेका छन् । उनकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ । त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । अझैं पनि खस भाषामा यहाँ ‘काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ’ जस्ता शब्दको प्रयोग हुन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक “एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुशी गराया पनि’ त्यही भाषाको प्रयोग भएको छ । परिस्कृत भएर अहिले नेपाली भाषा भएको यस भाषाको मुहान प्राचीन नेपालको जुम्ला राज्य र डोटी राज्य हो । त्यो भाषासँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर पाएको हो ।

न्याउल्याबाट देउडा

न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्यायन गर्दा न्याउल्या गीत न्याउली चरीको स्वर जस्तै सुमधुर रहेकाले सोही अनुसार नामाकरण गरिएको पाइन्छ । अहिले यसलाई देउडा गीत, देउडा संस्कृति, देउडा भाषा, देउडा खेल आदि नामले चिनिन्छ ।
पहिले न्याउल्या गीत भनिने यस गीतलाई देउडा गीत भनिने विभिन्न कारणहरू रहेका छन् । २०११ सालमा योगी नरहरिनाथले लेखेको इतिहास प्रकाश भाग–३ मा कर्णाली क्षेत्रका न्याउल्या गीतबारे व्याख्या गरिएको छ । उनले गीतहरू सङ्कलन समेत गरेका छन् । लोकवार्ता परिषद्ले दाङमा २०७२ सालमा सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा कुमाउ यूनिभर्सिटीका प्रोफेसर देवराज पोखरियालले एउटा कार्यपत्र तयार गरेका थिए । उनले त्यस कार्यपत्रमा ‘कुमाउ गढवाल से महाकाली अञ्चल तकका न्याउल्या गीत’ भनेर लेखेका छन् ।

अतः यो गीतलाई न्याउल्या नै भनिन्थ्यो देउडा त पछि भनिन थालिएको हो । सञ्चार माध्यमहरूबाट डेउडा र देउडा भनेर प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुण्डियो । जनजिब्रोमा झुण्डिएको कुरालाई कसैले थुत्न सक्दैन । सबैले देउडा भनेर नै बुझ्नु पर्ने भयो ।

वि.सं. २०१५–१६ सालको फागुन महिनामा धर्मराज थापा पश्चिम भ्रमणमा गएका थिए । उनले त्यहाँको संस्कृति र गीतसंगीत अवलोकन गरेका थिए । सोही क्रममा उनले सुदूरपश्चिममा होरी खेलेको देखे । त्यो खेल (नृत्य)मा प्रयोग हुने गीतहरूलाई होरी देउडा भनिन्छ । धर्मराज थापा काठमाडौं फर्किसकेपछि उनले सायद गोलाकार रूपमा खेलिने सबै देउडा हुन् सोचे । धर्मराज थापा त्यो बेलामा रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउँथे । उनले पश्चिम भ्रमणको अवसरमा रेकर्ड गरेर ल्याएका सबै कार्यक्रमहरूलाई रेडियो नेपालबाट देउडा भनेर प्रसारण गर्न थाले । रेडियो नेपालले तत्कालीन समयमा देउडा भनेर प्रसारण गर्दा जनमानसमा सबैकुरा देउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा धर्मराज थापाले व्यक्तिगत धारणाका आधारमा भनेका थिए त्यो कुरा सबैमा कस्तुरीले आफूसँग भएको बिनाको सुगन्ध थाह नपाए जस्तै भयो । गहिरो अध्ययन नगरेर नै देउडा बोलिन थालियो । कसैलाई थाह नभएको कुरा एकै चोटी रेडियो नेपालबाट देउडा भनेर प्रसारण भएपछि पश्चिम नेपालको सबै कुरा देउडा बन्न पुग्यो ।

देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गरेका छन् । उनले कोल घुमेजस्तै गरेर गोलाकार रूपमा खेलिने खेललाई देउडा भनिन्छ भनेर लेखेका छन् । अर्को पाटोमा भन्ने हो भने देउडाको अर्थ देवताको उपासना गर्ने भन्ने पनि हुन्छ । पश्चिम नेपालमा देवताका मन्दिरहरूमा र धार्मिक उत्सवहरूमा धमारी, झोडा, चुटकिला आदी देवताहरूका गाथा गाउने चलन छ । जसमा दुई हरफ चौध अक्षरको पंक्तिमा पूरै देवस्तुती हुन्छ । दे भन्नाले देवता, उ भन्नाले उपासना र डा भन्नाले डाँक्ने अथवा आवाहन गर्ने भन्ने पनि हुन्छ । देवताहरूको उपासना गर्ने देउडा निश्चित चाडपर्वहरूमा गाइन्छ । भगवान कृष्णका चरित्र गाथा, देवकी नन्दनका चरित्र गाथा, रामका चरित्र गाथा, शिवका चरित्र गाथा, स्थानिय देवी देवताको वर्णन, प्रकृति वर्णन आदि होरीको देउडामा गाइन्छ । कृष्ण जन्माष्टमीमा कृष्णको गाथा गाइन्छ । त्यसैले यी गीतहरूलाई देउडा भनिन्छ । यहाँ उल्लेख गरिएका विभिन्न कारणहरूले गर्दा पहिलेका दिनहरूमा न्याउल्या भनिने यी गीतहरूलाई अब देउडा गीत भनिएको हो ।

अनेक ताल, अनेक लय

देउडा गीतको हिसाबले र प्रयोगको हिसाबले धेरै प्रकारको हुन्छ । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गायको देखिन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । देउडा गीतका ताल र प्रकार निम्न अनुसार रहेको छन् ।

ठाडी भाका

यो ठाडीभाका लामो स्वर गरेर गाइन्छ । विशेषगरी भिर, पाखा, गोठालो जाँदा गाइने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ । यसमा गायकले सान्त र एकान्त ठाउँमा बसेर गाउँछन् । ठाडी भाकामा दुल्लूको ठाडी भाका निकै प्रचलित छ । यसमा गायक एकल यूगल हुन्छन् । वन जंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु यसको एक प्रमुख संस्कृति रहीआएको छ । लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ ।

हुड्क्यौली

हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाइन्छ । यसमा पूराना लडाईंका कथाहरू समावेश गरिन्छन् । यो सामूहिक रूपमा गाइन्छ । यसमा गायकहरू २ समूहमा बाँडिएका हुन्छन् । एक समूहमा नाँच्ने हुन्छन् जसलाई हुड्के भनिन्छ । अर्को समूहमा बजाउने र गाउने हुन्छन् । जसलाई रागिला अथवा स्वरे भनिन्छ ।

धमारी

देउडा समूह अन्तर्गत पर्ने एक अर्को प्रकारको भाका हो, धमारी । यसमा गायकहरू गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन् । धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ । यसलाई मुख्य रूपले बैतडी, दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग गरिन्छ । खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्ने प्रचलन छ ।

झोडा

झोडा पनि धमारी जस्तै हो । तर यसमा गायकहरूको ताल र भाषा फरक हुन्छ ।

देउडा खेल

देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ति भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाइ पैतरीका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । देउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्रायः एक समूह यूवक र अर्को समूहमा युवती रहेका हुन्छन् । पुरुष–पुरुषबीच र महिला–महिलाबीच पनि सवाल जवाफको खेल खेल्ने गरिन्छ । देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदचापमा सन्तुलन मिलाएर लयबद्ध ढङ्गले गाइने र खेलिने खेल देउडा हो ।

झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने देउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ । एक स्टेपमा खुट्टा पूरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेढीको प्रमुखता भएकोले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई देउडा गीत भनिएको हो भन्ने भनाइ पनि छ ।

देउडा खेलमा गीत गाउँदा पनि दुई पंक्तिमध्ये पहिलो पंक्तिको श्लोक पहिलो पटक पूरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईवटैमा डेडीको प्रमुखता भएकोले यसलाई देउडा भनिएको हो । देउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । देउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रूपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । देउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर समूहगत रूपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् । विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । देउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ ।

यस्तै राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पीडन, विषमता जस्ता विषयहरू देउडामा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा देउडियाहरू ठूलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडाहरू हुन्छन् । गीतको उठान गर्ने व्यक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहोरी शैलीमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । देउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । यसरी देउडा खेल्दा एकै ठाउँमा फरक–फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टाछुट्टै रूपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा–युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफमार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् ।


विवशकुमार सेजुवाल
प्रकाशित मितिः   १० श्रावण २०७७, शनिबार ०६:०८