साना व्यवसायीको सकस
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि देश लकडाउन ग¥यो । अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द भए । जसमा व्यापार–व्यवसायदेखि विद्यालयसम्म परे । कोरोनाको महामारी झन्–झन् फैलिएसँगै लकडाउनको अवधि पनि थपिँदै गयो । झण्डै चार महिना लकडाउन जारी रह्यो । यो लामो लकडाउनले सबै क्षेत्र प्रभावित बनायो । घाटा र नोक्सानको एकिन गरिएको छैन तर गर्ने हो भने पनि आँकलन गरी साध्ये छैन । अन्य क्षेत्रजस्तै व्यापार–व्यवसाय ठप्प हुँदा व्यवसायी मारमा परे । त्यसमाथि साना व्यवसाय गरिरहेकाहरू बढी प्रभावित भए ।
एक सय २० दिनपछि सरकारले लकडाउन खोलेको छ । तर केही व्यवसाय भने अहिले पनि खुलेका छैनन् । जस्तो सैलुन र ब्यूटीपार्लरहरू सञ्चालनमा रोक लगाइएको छ । चार महिनायता व्यवसाय ठप्प छ । बन्द सटर कहिले खुल्ने टुङ्गो समेत छैन । जसले गर्दा ती व्यवसाय गर्ने व्यवसायी मात्रै होइन त्यहाँ काम गर्ने कामदार पनि प्रभावित बनेका छन् । उनीहरूले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएसँगै आम्दानीको स्रोत गुमेको छ । आम्दानीको स्रोत गुमेपछि दैनिक जीवनयापन गर्नै कठिनाइँ उत्पन्न भएको छ । यसले धेरै घरपरिवार दैनिक गुजारा चलाउने सकसबाट गुज्रिरहेका छन् । एकातिर परिवारको गुजारा चलाउने पिरलो त हुने नै भयो, त्यसमाथि व्यवसाय सञ्चालनको अनिश्चितताले झनै चिमोटेको छ । अर्कोतर्फ व्यवसाय पूर्ण रूपमा ठप्प भए पनि मासिक रूपमा भाडा तिर्नु परिरहेको छ । सरकारले लकडाउन अवधिको घरभाडा छुट गर्न अनुरोध गरे पनि सबै घरवेटीले छुट दिएका छैनन् । यसले व्यवसायी थप घाटामा फसेका छन् । बजारमा चर्को भाडा तिरेर सानो व्यवसाय गर्नेहरू यतिबेला लामो लकडाउनको मर्कामा छन् ।
चरणवद्ध रूपमा सरकारले विभिन्न व्यवसाय खुलाउँदै आएको छ । मानिसहरूको चाप हुने बैंकदेखि सार्वजनिक यातायात समेत खुला गरिसकेको अवस्थामा यस्ता साना व्यवसाय बन्द गर्नु उपयुक्त नहुने तर्क आम रूपमा उठ्न थालेको छ । त्यसमाथि सैलुन र ब्यूटीपार्लर जस्ता व्यवसायमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सकिन्छ । तर यसैलाई सञ्चालनमा रोक लगाउने निर्णयको तात्पर्य बुझ्न सकिएको छैन । हरेक जिल्लामा सैलुन र ब्यूटीपार्लर व्यवसाय सञ्चालनमा छन् । पछिल्लो समय धमाधम यस्ता व्यवसाय बढेपछि यसमा निर्भर जनसंख्या पनि ठूलो छ । उनीहरूको जीवनयापनमा भइरहेको कठिनाइलाई भने सरकारले नजरअञ्दाज गर्नु हुँदैन । अहिले बजारमा चहलपहल ह्वात्तै बढेको छ । जताततै मानिसहरूको चाप छ । तर लकडाउन भएदेखि बन्द रहेका सैलुन र ब्यूटीपार्लर नै कोरोना संक्रमण फैलाउने जोखिमयुक्त क्षेत्र हुन् ? पक्कै होइन । कि त सरकारले यस्ता साना व्यवसायीहरूका लागि घरभाडा छुट वा कर छुटसहित राहतका कार्यक्रमहरू ल्याउन सक्नुपर्दछ । जसले सानो पूँजीको व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका व्यवसायीहरूको रोजीरोटी नखोसियोस् ।
प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।