सुर्खेतमा क्षयरोगबाट पन्ध्र जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ चैत । 
पछिल्लो आठ महिनामा क्षयरोगका कारण सुर्खेतमा १५ जनाले ज्यान गुमाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत साउन यता जिल्लामा १५ जनाको क्षयरोगका कारण ज्यान गएको हो । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो ।
रोग लुकाउँने र नियमित औषधि सेवन नगर्दा जिल्लामा क्षयरोगको संक्रमण दर बढ्दै गएको छ । यस्तै समयमा नै उपचारका लागि ध्यान नदिँदा जिल्लामा क्षयरोग निवारणमा निकै चुनौती थपिएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार उपचारमै रहेका १५ जना क्षयरोगका बिरामीको मृत्यु भएको हो । कार्यालयले जिल्लामा क्षयरोगका कारण मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने भन्दै अधिकांश बिरामीहरू सम्पर्कमा नआउने भएकाले सबैको रेकर्ड हुन नसकेको जनाएको छ । साथै कार्यालयले क्षयरोग एचआईभी भन्दा पनि भयानक बन्दै गएको भन्दै बिरामीहरूलाई रोग नलुकाएर उपचारमा आउन आग्रह समेत गरेको छ ।
क्षयरोग निवारणका लागि मध्यपश्चिम क्षेत्रमै सुर्खेतमा बढी सुविधा र औषधि उपचारको व्यवस्था हुँदा समेत धेरै जनाको मृत्यु हुनुले थप कठिना उत्पन्न भएको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत गणशभक्त गौतमले बताए । उनले भने, ‘यो तथ्याङ्क त हाम्रो सम्पर्कमा आएका बिरामीहरूको मात्र हो, अधिकांश बिरामीहरू हाम्रो सम्पर्कमा छैनन् । अधिकांशले रोग लुकाएर बसेका छन्, त्यसले पनि यो रोग भित्रभित्रै फैलिंदै गएको छ ।’ स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष क्षयरोगका कारण १३ जनाको मृत्यु भएको थियो । उपचार गराइरहेका १३ जनाको मृत्यु भएको भन्दै कार्यालयले उपचारमा न आएका अरु धेरैले यो रोगका कारण ज्यान गुमाएको हुनसक्ने अनुमान गरेको छ । सरकारले निःशुल्क उपचार गरिदिने भए पनि क्षयरोगीहरू उपचारमा नआउने समस्या रहेको गौतमले बताए । उनका अनुसार क्षयरोगका कारण सबैभन्दा बढी महिलाहरू पीडित भइरहेका छन् । रोग लागेपछि उनीहरू परिवार र समाजबाट समेत अपहेलित भइरहेको भन्दै उनले यो समस्या जटिल बन्दै गएको उल्लेख गरे ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले बिहीवार आयोजना गरेको अन्तरक्रियामा खुला सीमाना, बसाइँसराइ र रोग लुकाउने समस्याका कारण सुर्खेत क्षयरोगको उच्च जोखिममा रहेको जानकारी दिइएको छ । कार्यालयका अनुसार गत साउन यता मात्र जिल्लामा थप एक सय सात जना नयाँ क्षयरोगका बिरामीहरू फेला परेका छन् । अहिले जिल्लामा दुई सय ७५ जना बिरामीहरू उपचार गराइरहेको जानकारी कार्यालयले दिएको छ । हरेक वर्ष यो रोगका बिरामीहरूको संख्या बढ्दै गएको भन्दै कार्यालयले चिन्ता समेत व्यक्त गरेको छ । यस्तै क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन महेशकुमार पुरीले एचआईभी र क्षयरोगबीच नकारात्मक सम्बन्ध रहेको भन्दै बिरामीहरूले नियमित औषधि सेवन नगर्दा निवारणमा समस्या उत्पन्न भएको बताए । एचआईभी संक्रमितहरूमा क्षयरोगको संक्रमण बढी हुने गरेको उनको भनाइ छ । रोगलाई सामान्य रूपमा लिएर मानिसहरूले मृत्युलाई लुकाइरहेको भन्दै उनले समयमै उपचार र औषधि सेवन गरे यो रोग निको हुने उल्लेख गरे । 
निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख लोकबहादर शाहीको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको 
हो । सो अवसरमा उनले क्षयरोग निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए । नियमित औषधि सेवन गरेमा रोग निको हुने भन्दै उनले उपचार समेत निःशुल्क हुने भएकाले समयमै उपचार गर्न आग्रह गरे । यस्तै कार्यालयका बसन्त श्रेष्ठले क्षयरोग सामान्य भए पनि बिरामीहरूले उपचारमा लापरबाही गर्दा चुनौतीको रूपमा देखा परेको बताए । 
प्रकाशित मितिः   १२ चैत्र २०७२, शुक्रबार ०३:३९