असफलताको श्रृंखला
आर्थिक वर्ष २०७६/०७७ सकिएको छ । वर्षको सुरुवात उत्साहजनक भए पनि अन्त्य निराशाजनक रह्यो । यही वर्ष कोरोना भाइरस (कोभिड–१९)को महामारीले देश आक्रान्त बन्यो । कोरोना कहर अझै सकिएको छैन । कर्णाली प्रदेशका लागि पनि यो वर्ष असफल हुनपुग्यो, विगतमा जस्तै । प्रदेश सरकार अघिल्लो वर्षहरूमा जस्तै बजेट कार्यान्वयनमै असफल भयो । अन्य योजना र कार्यक्रम कार्यान्वयनको अवस्था उस्तै छ । वार्षिक विकासका लागि विनियोजन रकम खर्चको प्रगति हेर्दा प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर सावित हुँदै आएको छ । सुरुको चौमासिक बजेट जनशक्ति र संरचनाको अभावले खर्च हुन नसकेको जनाएको सरकारले त्यसयताका दुई वटा पूर्ण बजेट कार्यान्वयनमा पनि उही बहानाको पुनरावृत्ति गरेको छ ।
प्रदेशकै विकास र समृद्धिसँग जोडेर ल्याइएका अधिकांश ठूला परियोजना अलपत्र छन् । समयमा अख्तियारी नदिने र आर्थिक वर्ष घर्किनै लाग्दा मात्र बजेट कार्यान्वयन गर्ने परिपाटीले न विकास निर्माणका काम हुन सकेका छन् न त लक्ष्यअनुरूप खर्च नै हुने गरेको छ । यसले गर्दा एकातिर सरकारको विकास बजेट खर्च गर्ने क्षमता र संयन्त्र कमजोर देखिएको छ भने अर्कोतिर विकास आयोजनाहरू लथालिङ्ग हुने गरेका छन् । कर्णाली सरकारलाई बजेट खर्च गर्न नसकेको मात्र होइन बजेट निर्माण गर्दा नै त्रुटि गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । अहिलेसम्मको अवस्था केलाउँदा सरकार बजेट निर्माण र कार्यान्वयनका सन्दर्भमा असफलसिद्ध हुँदै आएको हो । प्रदेश सरकारले हालसम्म तीन वटा बजेट कार्यान्वयन गरेको छ । तर खर्च प्रणालीमा कुनै सुधार आएको छैन । आर्थिक वर्ष २०७६/०७७ मा सरकारले विनियोजित ३४ अर्ब ३५ करोड बजेटमध्ये १६ अर्ब ३६ करोड गरेको छ । अर्थात् जम्मा ४७ दशमलब ६५ प्रतिशत बजेट खर्च गर्न सरकार सफल भयो ।
त्यसो त सरकारको असफलता बजेट कार्यान्वयनको अवस्थासँग मात्रै जोडिएको पनि छैन । आफैले बनाएको साना तथा ठूला योजनाहरू कार्यान्वयन गर्न नसक्नु सरकारको अर्को कमजोरी रह्यो । त्यसैगरी जनजीविकासँग जोडिएका कामहरू हुन सकेनन् । पाँच वर्षदेखि विस्थापित भइ अस्थायी शिविरमा बसेका बाढीपीडितहरूको पुनस्र्थापना यस वर्ष पनि हुन सकेन । वर्षौंदेखिका सुकुम्बासी र भूमिहिनहरूका समस्या जहाँको त्यहीँ छन् । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न ठोस काम भएका छैनन् । त्यसमाथि आर्थिक वर्षको अन्तिम चौमासिक कोरोना भाइरसको महामारीले नै प्रभावित भएपछि सरकारले असफलता लुकाउन बहाना मिलेको छ । बजेट खर्च गर्न नसक्नुका मूल कारण कोरोनालाई देखाउन थालिएको छ । त्यसमाथि सरकार यही कोरोना रोकथाम तथा नियन्त्रणमा पनि असफल रह्यो । जेठको सुरुवातसम्म कोरोना संक्रमण नभेटिएको कर्णालीमा हेलचक्य्राइँ र लापरबाहीकै कारण संक्रमण फैलियो । अहिले समुदायस्तरमा समेत संक्रमण फैलिइसकेको छ । ६ जनाको मृत्यु भइसकेको अवस्था छ । यस्तो अवस्थाकाबीच नयाँ आर्थिक वर्ष २०७७/०७८ सुरु भइसकेको छ । सरकारले विगतको निर्मम समीक्षा गरेर आगामी मार्ग निर्माण गर्नु अपरिहार्य छ ।
प्रकाशित मितिः ४ श्रावण २०७७, आईतवार ०६:०७
साझा बिसौनी ।