किसानको लगानीमा बिचौलियाको रजाइँ

बाहिरको तरकारी नआउँदा पनि स्थानीय किसानले मूल्य पाएनन्

वीरेन्द्रनगर–१५ का किसान भीमबहादुर खत्रीले स्थानीय तरकारी संकलन केन्द्रलाई प्रतिकिलो सिमी १५ रूपैयाँ र बन्दा सात रूपैयाँमा बिक्री गर्छन् । त्यही तरकारीको मूल्य नजिकैको बजारमा पुग्दा दोब्बर हुन्छ । १५ रूपैयाँमा बिक्री गरेको सिमी वीरेन्द्रनगरकै बजारमा ५० देखि ५५ रूपैयाँ किलो र सात रूपैयाँमा बेचेको बन्दा ३५ देखि ४० रूपैयाँसम्म बिक्री हुन्छ ।

किसानले ३५ रूपैयाँमा बिक्री गरेको आलु उपभोक्ताको भान्सासम्म पुग्दा ६० रूपैयाँ पुग्छ । ३० रूपैयाँमा बिक्री गरेको काउली ७० रूपैयाँ, २५ देखि २८ रूपैयाँमा बिक्री गरेको टमाटर ८० रूपैयाँ किलोसम्म बिक्री हुन्छ । किसानहरूले भने लगानी र मेहेनत अनुुसार तरकारीले मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

किसानलाई तरकारीको उत्पादन मूल्य निकाल्न समेत हम्मेहम्मे परे पनि बिचौलियाले भने अधिक नाफा निकाल्ने गरेका छन् । किसानहरूले स्थानीय संकलन केन्द्रहरूमा तरकारी दिन्छन् । बजारसँगको सिधा पहुँचमा नहुँदा किसानहरू स्थानीय संकलन केन्द्र तथा तरकारी मण्डीहरूमा जति भन्यो उति मूल्यमा बिक्री गर्न बाध्य छन् । बिचौलियाले मनपरी रूपमा तरकारीको मूल्य तोक्दा किसानहरूले वास्तविक मूल्य नपाउने गरेका छन् । बजारमा देखिएको बिचौलियाको सक्रियताका कारण वर्षाैंदेखि आम किसान मारमा पर्ने गरेका हुन् ।

किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुग्छ । अनि मात्रै किसानले पाउने मूल्य तोकिन्छ । जसका कारण किसानहरूले आफ्ना कृषि उत्पादनको उचित मूल्य पाउन नसकेका हुन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि किसानले झनै तरकारीको मूल्य पाउन सकेका छैनन् । बजारमा तरकारीको माग कम छ भन्दै व्यापारीले किसानसँग सस्तो मूल्यमा खरिद गर्ने गरेको किसानको भनाइ छ । ‘किसानहरू आफ्ना कृषि उत्पादन उधारोमा दिन समेत बाध्य छन् । तरकारीको न मूल्य पाइन्छ न त समयमा पैसा नै,’ किसान खत्री भन्छन् । उनले आफूहरूले बारी जोतखन गर्दाको लगानी र मेहेनत समेत नपाउने गरेको गुनासो पोखे । सस्तो मूल्यमा बेचेको तरकारीको पैसा पनि समयमा नपाउने गरेको उनले बताए । बिचौलियाका कारण किसान र उपभोक्ता दुवै ठगिने गरेको खत्रीले सुनाए ।

वीरेन्द्रनगर–१५ कै किसान जानकी वलीले पनि आफूहरूले दुःख गरे अनुसारको प्रतिफल नपाउने गरेको बताइन् । उनले दुुई तीन महिना लगाएर तरकारी फलाए पनि लगानी समेत उठाउन मुस्किल हुने गरेको सुनाइन् । ‘हामीले आलु ३४ रूपैयाँ, बन्दा आठ रूपैयाँ, काउली ३० रूपैयाँमा, सिमी १५ रूपैयाँमा बिक्री गर्नुपर्छ,’ उनले भनिन्, ‘यही तरकारी बजारमा पुग्दा दोब्बर–तेब्बर मूल्यमा बिक्री हुन्छ ।’ किसानबाट बिचौलियाले त्यसपछि थोक व्यापार हुुँदै उपभोक्तासम्म पुुग्दा तरकारीको मूल्य आकाशिने गरेको हो ।

वीरेन्द्रनगर–१३ का गोविन्द गौतम र वीरेन्द्रनगर–४ का किसान बसन्त कोइरालाले लकडाउन भएपछि किसानहरूले तरकारीको मूल्य झनै कम पाउने गरेको बताए । बारीमै कुहाएर फाल्नु भन्दा सस्तो मूल्यमा भए पनि बिक्री गर्नुपरेको उनीहरूले बताए । लगानी नै उठाउन गाह्रो हुन थालेपछि सुर्खेतका कतिपय किसानले तरकारी खेती गर्दै आएको जमिनमा यो वर्ष धान रोपेका छन् । स्थानीयस्तरमा उत्पादित तरकारीको बजारीकरण नहुँदा किसानहरू मर्कामा पर्दै आएका हुन् ।

पछिल्लो समय वीरेन्द्रनगर बजारमा स्थानीय तरकारी मात्रै उपलब्ध छ । तर, किसानले भने यो बेला पनि आफ्ना उत्पादनको उचित मूल्य पाएका छैनन् । बजारमा तरकारी बिक्री नहुने भन्दै बिचौलियाले किसानसँग सस्तो मूल्यमा खरिद गरी उपभोक्तालाई महङ्गोमा बेच्ने गरेका छन् । झण्डै चार महिनायता भारतबाट फलफूल बाहेक तरकारी आएको छैन । बुुलबुले कृषि बजार समितिका अध्यक्ष प्रवल शाहीले बजारमा लकडाउनका कारण तरकारी कम खपत भएको बताए । भारतबाट फलफूलबाहेक तरकारी नल्याइएको उनले जनाए । शाहीका अनुसार अहिले वीरेन्द्रनगर बजारमा दैलेख र सुुर्खेतमा उत्पादन भएको तरकारी मात्रै बिक्री हुने गरेको छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७७, आईतवार ०६:०५