बारीमा पस्यो सलह
विज्ञ भन्छन्,– ठूलो क्षति पुर्याउन सक्छ
कर्णाली प्रदेशमा सलह किरा भित्रिएसँगै बालीमा क्षति पु¥याउन थालेको छ । बिहीवारदेखि सुर्खेत प्रवेश गरेको सलहको ठूलो झुण्डले यहाँका किसानहरूले लगाएका बालीमा क्षति गर्न थालेको हो । विशेष गरेर मकै बालीमा सलह पस्दा किसानलाई भगाउन हैरानी भएको छ ।
सलह बारीमा पसेपछि किसानहरू चिन्तित भएका छन् । वीरेन्द्रनगर–११ का प्रेमबहादुर खत्रीले सलह किरा मकै बारीमा बसेपछि थाल र ड्रम बजाएर मुस्किलले भगाएको सुनाए । पूर्वी सुर्खेतका छिन्चु, रामघाट, मेहेलकुना लगायतका स्थानमा सलहले बालीमा क्षति गरेको स्थानीय किसानहरूले बताएका छन् ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली संरक्षण अधिकृत घनश्याम कार्कीले सुर्खेतमा सलहको ठूलो झुुण्ड प्रवेश गरेको बताए । उनले सलहको झुण्डले खेतीमा ठूलो क्षति गर्ने आँकलन गरिएको जनाए । तरकारी, मकै र धानमा बढी क्षति पुग्ने देखिएको भन्दै सलह भगाउन किसानलाई ड्रम र भाँडा बजाउन सुझाए । आँगोको धुुँवाले पनि सलह भाग्ने उनले जानकारी दिए ।
कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाले किसानले लगाएको बालीमा सलह किराले ठूलो क्षति गर्ने सम्भावना रहेको बताए । उनका अनुसार सलह पटक–पटक गरी सानो–सानो झुण्डमा कर्णाली प्रवेश गरेको र केही दिन यतै रहने अनुमान गरिएको छ । किसानलाई सलह भगाउनको लागि पावर स्प्रे र विषादी समेत वितरण सुरु गरेको रानाले जानकारी दिए । ‘सलह बसेको ठाउँमा करिब ४० प्रतिशत बाली नोक्सान भएको छ,’ उनले भने ‘तर धानलाई भने अहिलेसम्म क्षति गरेको छैन ।’ उनले मकै, बोडी लगायतका तरकारी बाली र अन्य घाँसहरूमा सलहले क्षति गरेको बताए ।
सलह किरा कर्णाली प्रदेशका नौ जिल्लामा पुगेको छ । कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका हुन् । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रवारदेखि ठूलो संख्यामा देखिएको हो ।
कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह पुगेको छैन । ठूलो संख्यामा सलह आएपछि कृषकहरू त्रसित भएका छन् । सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेको छ । अहिले मकै र धानको ब्याड हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको छ । बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । सलह भित्रिए पछि किसानहरू बालीनाली कसरी जोगाउने भन्नेमा चिन्तित छन् । एक पटक हजारौंको संख्यामा आउने सलह किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।
प्रकाशित मितिः ४ श्रावण २०७७, आईतवार ०६:०३
साझा बिसौनी ।