‘कालोबजारी गर्नेलाई छोड्दैनौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ चैत । 
स्थानीय प्रशासनले जिल्लामा हुने कालोबजारी रोक्न चासो देखाएको छ । नाकाबन्दीपछिको समयमा कालोबजारी बढेको गुनासोहरू बढ्दै गएको भन्दै प्रशासनले यसलाई नियन्त्रण गर्न पहल सुरु गरेको हो । यसका लागि बिहीवार जिल्लाका व्यापारी तथा व्यवसायीहरूसँग छलफल समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतकै पहलमा सुर्खेत उद्योग वाणिज्य संघले बिहीवार वीरेन्द्रनगरमा बजार अनुगमन, विद्यमान अवस्था र व्यवसायिक समस्याका विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाम बोल्दै प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कालोबजारी गर्नु कानुन विपरित कार्य भएकाले यसलाई रोक्न तदारुकताका साथ दोषीलाई कारबाही गरिने बताए । उनले व्यवसायीहरू उपभोक्ताको अधिकारप्रति पनि सजग र सचेत हुनुपर्ने उनको धारणा राखे । उनले बजार अनुगमनलाई पनि प्रभावकारी बनाइने बताए । व्यापारीलाई कारबाही नै गर्ने उद्देश्यले नभइ उपभोक्ताको अधिकार, स्वास्थ्य र व्यवसायिक आचारसंहिताप्रति सचेत बनाउनका लागि बजार अनुगमन गर्ने गरिएको जिकिर श्रेष्ठको थियो । ‘व्यापारीलाई अनावश्यक दुःख दिने र कारबाही नै गर्ने नियतले मात्र बजार अनुगमन गरिएको होइन’ उनले भने ।
कतिपयले विद्यमान कानुनको बारेमा जानकारी नहुँदा पनि विभिन्न किसिमका गल्तीहरू गर्ने गरेको उनले जनाए । तर कानुनविपरितका कार्यलाई उन्मुक्ति दिन नसकिने बताए । ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ उनले भने, तरपनि सबैलाई सबै कानुनको जानकारी हुन्छ भन्ने पनि हुँदैन, कानुनको पालना भने सबैले गर्नैपर्छ ।’ नियत खराब नहुँदा नहुँदै पनि कहिले काहीं अज्ञानता र अन्य केही प्राविधिक कमजोरीले केही व्यापारीहरू कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था आएकाले व्यापारी÷व्यवसायीहरूलाई विद्यमान ऐन कानुनबारे सचेत र उपभोक्ता अधिकारप्रति सजग बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा प्रजिअ श्रेष्ठले उपभोक्ता अधिकार, बजार अनुगमन, कालोबजार नियन्त्रण ऐन लगायत विभिन्न समसामयिक ऐनकानुनका बारेमा जानकारी गराएका थिए । 
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले एने तथा कानुनहरूको अज्ञानका कारण व्यवसायीहरूले दुःख खेप्नुपरेको बताए । जिल्लाका ९० प्रतिशत व्यापारीले सामान्य साक्षरताकै भरमा व्यापार व्यवसाय गरिरहेको उल्लेख गर्दै उनले त्यसैले पनि कतिपय नियम कानुन र प्रावधानबारे व्यापारी व्यवसायीहरू अनविज्ञ रहेको तर्क गरे । धेरै व्यवधानकाबीच पनि व्यापार व्यसाय गर्नु परिरहेको जिकिर गर्दै राज्यले पनि व्यापारिका बाध्यता बुझेर व्यवहारिक हुनुपर्ने आग्रह उनले गरे । कार्यक्रमका अन्य सहभागीहरूलेले नाकाबन्दीका बेलादेखि सुरु भएको खाना पकाउने ग्यासको आपूर्ति सहज र पर्याप्त अहिलेसम्म पनि हुन नसक्दा आम उपभोक्ता र व्यवासाय समेत मर्कामा परेको भन्दै ग्यासको अभाव तत्काल हटाउनका लागि प्रजिअ समक्ष आग्रह गरेका छन् । ग्यासको अभावका कारण होटल व्यवसाय समस्यामा परेको भन्दै होटल व्यवसायीहरूले एकातिर आवश्यकता अनुसारको सिलिण्डर नपाइने र टोकन काटेर, लाइन लागेर लिएको ग्यास राख्दा पनि कृत्रिम अभाव र कालोबजारीको आरोपमा सजाय खेप्नुपरेको गुनासो पनि उनीहरूले गरेका छन् ।
कार्यक्रममा करदाता सेवा कार्यालय सुर्खेतका प्रेमप्रसाद आचार्यले करका बारेमा, जिल्ला पशु सेवा कार्यालयका जीवराज पौडेल र कृषि विकास कार्यालयका सुरेश थापा लगायतले खाद्य  तथा कृषिवस्तुमा हुनसक्ने मिसावट र यसले उपभोक्ताको स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावका बारेमा जानकारी गराएका थिए । 
प्रकाशित मितिः   १२ चैत्र २०७२, शुक्रबार ०३:४३