गाइज

ब्रो ! राजनीतिक लुतो त उस्यै छ

महेश नेपाली

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन ।

कहिले होला त्यो दिन, जब होला मिठो मिलन ।।

तराइको नदी जस्तै स्लो मोसनमा गीत बजिरहेछ ।

यो गीत कसले गाएको हो ? मनमा आइरहेको छ तर बाहिर मरे आएन । हैट दिमाग त गीत जस्तै स्लो पो भएछ, सोल्टी ।

हँ ! को छ र सोल्टी ? के भयो मलाई ? त्यसै सोल्टि यार । कतै मेरो दिमाग त…।

हैन, केही भएको छैन । भित्ताका पनि कान हुन्छन् । त्यसैले तिमीले भित्तालाई सोल्टी हान्यौ, सोल्टी ।

साथमा कोही नहुँदा मन दुई भइदिन्छ । अनि संवाद हुन थाल्छ यी दुई मनको ।

सायद एक्लोपनको मज्जा पनि यही हो । एउटा मनलाई फुटायो दुई बनायो । फुटायो अनि मिलायो ।

तर मलाई फुटाउन मन छ । फुटायो भने राज गर्न सकिन्छ । उपनिवेशवादीहरूको नीति जस्तो ‘फुटाउ र राज गर’ । राज मात्र के मोज गर । नेपाली राजनीतिको कपी पेष्ट मनमा ग¥यो भने राजनीति बुझ्न सजिलो हुन्छ । के थाहा कुनै दिन नेता पो भइजान्छु की ?

प्राक्टिस ब्रो ! प्राक्टिस ।

०००

गीत सकियो ।

कपि पेष्ट मन ः गायकको नाम अझै आएन ।

ओरिजिनल मन ः आएन यार ।

कपि पेष्ट मन ः के नापिस् जाबो गायकलाई सम्झिन सकिनस्, मुला बोला न छतमा गएर । नभए गीत सुन्न छोड ।

ओरिजिनल मन ः ए बे नकरा त, तनाब भइराछ, सम्झन नसकेर ।

कपि पेष्ट मन ः मलाई बाल । मनमा लागेको बोल्न नदिने तँ को होस् बे ?

ओरिजिनल मन ः भयो यार । मलाई ल्याँङ नगर । खालास फेरी ।

कपि पेष्ट मन ः के खोस्याउलास् र ?

गाइज ! अब म सुत्न चाहन्छु । कुम्भकर्ण निन्द्रामा । भो मलाई डिस्टर्भ नगर ।

ओरिजिनल प्लस कपि पेष्ट मन दुबै आवेगमा ः अनि के भुत्राको डिबाइट एण्ड रुल त मुला ?

मनभित्र, राजनीति गरेको परिणाम भोगियो । अब त यिनीहरूले तेस्रो विश्वयुद्ध नै सुरुवात गराउँछन् ।

सरि ल ! अब यस्तो गर्दिनँ ।

कति चाँडो हारँे मैले । गन्थनले राजनीति गराउने भए त, चाँडै ओली भइन्थ्यो होला ।

०००

ब्लांकेट माथि स¥यो । पूरै अँध्यारो भयो ।

०००

ऐया ! हातले मुख च्याप्दै ।

झ्याप्प निद्रा खुल्यो । जुरुक्क उठ्यो । शरीर त तातो न तातो छ, आरनबाट भर्खर निकालेको फलाम जस्तो । ओच्छ्यान पसिनाले भिजेको छ । सास बढेर मुटु फुट्ला जस्तो छ । देब्रे हातले छामछुम गर्दै बत्ति बाल्यो । उठेर ट्वाइलेट गयो । आएर पानी खायो । सोच्यो । मैले क्या खत्रा सपना देखेँ । अहिले भनेन भने पछि त बिर्सिन्छ । जुम मिटिङ गर्नुपर्छ ।

‘हेलो, झुमा दिदी, रहिना, बक्राम, महाशंकर, इट्स एन इमर्जेन्सी, प्लिज जुममा आउँन सबै जना ।’

०००

निद्रामै हेलो भनेका आइतेका सबै साथी हतार–हतार गरेर जुममा जोइन भए । सबैको अनुहार देख्नेबित्तिकै आइतेले सपना सुनाउँछः

‘प्रत्येक घरको छतमा राँका हालिएको थियो । राँका हाल्ने झरो (दियालो) ल्याउन तीन–चार दिन यता गाउँलेहरू जंगल पसेका थिए । गाउँलेहरूमा पनि तथा कथित तल्लो जातका । कथित माथिल्लो जातकाहरूले त उनीहरूको झरो खोस्ने हो, किन जान्थे र जंगल ?

राँकासँगै गाली दिन सुरु गरिएको थियो । हरेक गाउँले खोला पारीका गाउँलाई तथानाम भनिरहेको छ । तर ती अपशब्द थिएनन् । कोही पनि शब्द व्यक्ति केन्द्रित लान्छना लगाउने खालका थिएनन् । कसैमाथि रिसराग थिएन । लुतो, पाब्डो, खाइन्या, खड्क्यौन्या लैजाउ भन्दै थिए । दुहुनी गाई दिएर बाँठ्या गाई लैजाउ । फाटो फेरुवा लैजाउ, नौलो फेरुवा दिजाउ यस्तै यस्तै । म पनि त्यसमा सहभागी थिएँ । मज्जा दोब्बर आइरहेको थियो ।

राँको हालेपछि निस्किएको धुवाँ आकास भरी जो बादलसरी देखियो । कालो एकदम कालो । सके अहिल्यै पानी पर्ला जस्तो ।

०००

त्यति बेलै एउटा जनावार जस्तो आयो । पूरा जनावर जस्तो थिएन । हेर्दै डर लाग्दो । शरीर घोडाको । त्यसैमा गरुडका जस्ता पखेटा जोडिएका । मुख बाघको जस्तो । खुट्टाका नङ राज बाजका जस्ता, गोली भन्दा तेज सिकार टिप्न सक्ने । पुुच्छर लामो न लामो भुइमा लत्रिएको । पुच्छरको टुप्पोमा माछाको पुच्छर कलमी गरेजस्तो । पुच्छरको पुरै भाग अजिंगर जस्तो । कान लाम्काने बाख्राका जस्ता । आँखा बिरालाका जस्ता । नाक गाइसँग दुरुस्तै मिल्ने ।

यस्तो जनावरमाथि म चढेको । जनावर के भन्नु । पशु प्लस पंक्षी । स्तनधारी प्लस जलचरको रिमिक्स । सुरुमा डर लागेथ्यो, तर ऊ आफै डराएछ । चढ्न आइजाको संकेत ग¥यो । मलाई नि चढँुचढुँ भयो, चढिदिएँ, जे होला होला भनेर ।

सुरुमा राँकाबाट निस्केको धुवाबाट माथि गयौं । आकास निलो थियो । जसले रिफ्रेस गरायो । बादल भन्दा माथिको संसार पुरै घुमायो । सबै महादेशका आकाशमा घुमायो । मान्छे कतै देखिएनन् । वर्षा लागेको हुनाले हो वा सबैतिर बादलले ढाकेकोले हो, सबै ठाउँमा उस्तै मौसम देखिन्थ्यो ।

‘ब्रो’ले घुमाउनु घुमायो । मलाई मज्जा आयो ।

घुमुन्जेल उसले केही खाएन । मलाई पनि भोक तिर्खा केही लागेन । घरको याद आएन । साथीहरू पनि बिर्सियो । विश्वविद्यालयको चौर, क्यान्टिन, चटपट पसल, क्याफे, भट्टी सबै बिर्सियो । निलो आकास हेरँे । अमेरिकाको आकाशबाट ट्रम्प ब्रोलाई हाइ गर्न मन थियो, तर के गर्नु कुहिरोले छेकिदियो । अरु देशका सोल्टीहरूसँग बसेर चिया खाने मन थियो । त्यो पनि मनमै रह्यो ।

आकाशै आकाश नेपाल, नेपालबाट जुम्ला पुगुञ्जेल एक वर्ष बितिसकेको थियो । नेपालमा असार मसान्त लागेको थियो । कुहिरोका साना–साना झुप्पाहरू थिए ।

त्यो बेनामे बहुरूपी रिमिक्सले के गर्न खोजिरहेको छ ? म त कन्फ्यूज्ड । तर ब्रो ले मलाई यस्तो ठाउँमा घुमायो त्यसपछि म चकित ।

०००

सुरुमा डोजरले रोड खनेको ठाउँमा लियो । त्यहाँ जंगली जनावरहरूको भागाभाग थियो । रुखहरू वेवारिसे लडिरहेका थिए, जाँड खाएको मान्छे लडेसरी । कानमा बोकोलाई खसी बनाउने बेला अण्डकोष थिचिएर कराएजस्तो चर्को चिच्याहट आइरह्यो । सुरुमा यो के को आवाज हो ? झैं लागेको थियो । अलि बेर पछि पहिचान भयो, त्यो आवाज माटोको थियो ।

जडिबुटीहरू बर्खेभेलले बगिरहेका थिए । त्यसलाई इन्डियन व्यापारीहरूले उतारेर औषधि बनाए । ए क्वालिटीको औषधि युरोप र अमेरिका पठाए । बी क्यालीटीको अरब पठाए । सीको अफ्रिका पठाए । डीको इन्डियामै राखे । अन्तिमको औषधि नेपालको लागि ट्रकमा हाले । ती औषधिका बट्टामा सानो अक्षरले लेखिएको थियो, ‘फर सेल नेपाल वन्ली’ ।

अलि तल गाउँतिर आएपछि उपभोक्ता समितिमा पार्टीका कार्यकर्ताहरू झुण्ड–झुण्डामा काम गरिरहेका थिए । एक ठाउँको रोड बनाउनेहरूमा कांग्रेसी कार्यकर्ताहरू थिए । उनीहरूमध्ये केहीले भनिरहेका थिए, ‘मासाला नेकपाका केटाहरूको बाइक आयो भने जलाइदिनु पर्छ ।’

अर्को साइटमा नेकपाका कार्यकर्ताहरू थिए । उनीहरू स्कुलको भवन बनाइरहेका थिए । एउटा मुन्द्रे भन्दै थियो, ‘पार्टी प्रवेश गरे भने ठीक छ, नत्र तिनीहरूका छोराछोरीलाई पढ्न दिने होइन ।’

अलि तल गाउँपालिका अध्यक्षको कानमा फोन थियो, ऊ कसैसँग कुरा गर्दै थियो, ‘सबै मिलाएर गर्नु, हाम्रो चित्त नदुखाउनु । अर्को वर्षको लागि वनि बाटो हेर्नु । इन्जिनियरलाई सिधै घुस नदिनु, विचार पु¥याएर काम गर्नु मु…हरू सान दिन्छन् तर घुस खान छोड्दैनन् । प्रशासकीय अधिकृत तिमीसँग रिसाएको थियो । कुडो आफै मिलाउनु । भुक्तानी छिटो लिनु ।’

कृषि कार्यालयमा एक हुल माफिया र ठेकेदाहरू बसेका थिए । त्यसमा मन्त्रीका आफन्तहरू थिए । वर्षभरी ठेक्कापट्टा र गुण्डागर्दी गर्नेहरूको नाम राम्रा कृषकरुको सूचिमा थियो । बैंकको सस्तो ऋण उनीहरूकै नाममा निकासा भयो । कोरोनाले ब्याज तिर्न सकिने जस्तो छैन भन्दै ‘ब्याज मिनाह संघर्ष समिति’ बनाउने उनीहरू नै थिए ।

वास्तविक किसानको खेतमा भल पसेकोले उनीहरू असार मसान्तमा कृषि कार्यालयतिर जान समेत पाएनन् । उनीहरूलाई कसैले बोलाउन पनि बोलाएन । किसानको नाममा आएको अनुदान जति नक्कली फर्म दर्ता गरेका माफिया, ठेकेदर र गुण्डाहरूले पाए ।

मलाई औधि रिस उठ्यो । अब कसैलाई बाँकी राख्दैन भनेर हानेको त आफ्नै हातमा पो चट्कन लगाएछु । हैट, कस्तो सपना देखियो यार ।

०००

‘हा.हा.हा.. यत्ति सुनाउनलाई हामीलाई बिहानै चार बजे उठाइस है । दिउसो सुनाएपनि हुन्थ्यो नी यार, तेरो सुपर, डुपर सपनाले हाम्रो निद्रा खराब गर्‍यो बेकारमा’ रहिना कराउँछे ।

बक्राम, महाशंकर र झुमा बेस्मारी हाँसिरहेका हुन्छन् ।

महाशंकर हाँस्दै भन्छ, ‘बिहान बिहान हँसायो आइतेको सपनाले । आज दिनभरी हाँसिने भइयो ।’

‘भनेपछि असार त आइतेलाई पनि लागेछ है । सपनामा पनि असार आयो,’ बक्राम भन्छ ।

‘सबैतिर असार लाग्यो । त्यसैले त होला । असारले हाम्रो मनमा घृणा जगाएको । त्यसैको प्रतिक्रिया सपनामा पनि देखिएको हो ।

हाम्रोतिर साउने संक्रान्तिका दिन नुहाइधुवाइ गरी साँझ लुतो फाल्छौं । यो हाम्रोे विशेष पर्व हो । हामी हाम्रो शरीरको लुतो त फाल्छौं तर यो राजनीतिको लुतो कहिले जाने भएन । जसले विकासलाई रोगी बनाइरहेको छ ।

आइतेले गम्भीर विषयको सपना देखेछ । ‘ल आजैबाट हामी राजनीतिको लुतो फाल्ने संकल्प गरौं,’ झुमाले यति बोल्दै गर्दा जुमको टाइम सकिन आँटेको थियो । सबैले उनको विचारमा सहमति जनाए ।

आजको बिहानीले उनीहरूको दिनको संकेत ग¥यो ।

०००

नोट : माथि प्रस्तुत गीत बच्चु कैलाशले गाएका हुन् ।

प्रकाशित मितिः   ३ श्रावण २०७७, शनिबार ०६:०६