भर्चूअल कक्षा

वैकल्पिक शिक्षण अनुभव

भूपेन्द्र बिसी

जेठको २४ गते बिहान करिब ८ बजेको थियो । फोनको घण्टी बज्यो । हेडसरले भन्नुभयो ‘सर नगर शिक्षा शाखाबाट कक्षा १० को नेपाली र अंग्रेजी विषयको भर्चूअलको लागि हाम्रो विद्यालयलाई जिम्मा आएको छ, तयारी गर्नुपर्ला ।’

मैले सहज उत्तर दिएँ ‘हुन्छ सर ।’

अब कसरी सहजीकरण गर्ने भन्ने सम्बन्धमा तयारी थाल्नुपर्ने भयो । अंग्रेजी विषयका लागि ध्रुवकुमार अधिकारी सरसँग सल्लाह भयो । जूममार्फत कक्षा सञ्चालन गर्नुपर्ने थियो । जुम चलाउनका लागि कुनै समस्या थिएन । बन्दाबन्दीको समयमा यसको प्रयोगमार्फत अनलाइन आइसीटी तालिममा म सक्रिय भएको थिएँ । पहिलो पटक चैत्र २८ गतेका दिन विद्यालयका स्टाफकाबीचमा जूममार्फत नतिजा प्रकाशनका लागि मिटिङ्ग चलाएको थिएँ । अनलाइनमार्फत नतिजा प्रकाशन हाम्रा लागि नयाँ, रोचक अविस्मरणीय भयो । सम्भवतः सुर्खेत जिल्लामा बन्दाबन्दीको समयमा अनलाइनमार्फत नतिजा प्रकाशन गर्ने विद्यालयमा हामी अग्रस्थानमा थियौँ ।

पहिलो दिन

जेठ २५ गतेको दिन भर्चूअल कक्षाका लागि मेरो पहिलो दिन रह्यो । एक सय जना क्षमता भएको जूम आइडी उपलब्ध भयो । पहिलो दिन वीरेन्द्रनगरका संस्थागत र सामुदायिक विद्यालयका एक सय जना विद्यार्थी भर्चूअल कक्षामा जोडिए । थुप्रै विद्यार्थीहरू ‘वेटिङ् रुम’ रहे । कक्षामा प्रवेश गर्न पाएनन् ।

विद्यालयका अशोककुमार राई सरले जूम कसरी चलाउने भन्ने विषयमा विद्यार्थीलाई जानकारी गराउनु भयो । मैले पहिलो दिन नेपाली विषयमा पढ्नु पर्ने विधा र विद्यार्थी आचारसंहिताको बारेमा छलफल गरेँ । ध्रुवकुमार अधिकारी सरले अंग्रेजी विषयको कक्षा लिनु भयो ।

पहिलो दिन नयाँ अभ्यासको थालनीले मनमा आनन्द आयो भने प्रभावकारी व्यवस्थापन हुन नसक्दा अलिअलि झन्झट पनि लाग्यो । विद्यार्थीहरू साह्रै उत्सुक थिए । ‘कुन–कुन विषय पढाइ हुन्छ ? कहिलेसम्म हुन्छ ? कक्षा राम्रो छ सर’ जस्ता प्रतिक्रिया र विद्यार्थीले बन्दाबन्दी (लकडाउन) मा घरमै बसी पढ्न पाउँदाको अनुभूतिबाट पनि उनीहरू सिकाइका लागि उत्सुक छन् भन्ने कुरा प्रष्ट हुन्थ्यो ।

होस्ट र सहजीकरण आफैले गर्नुपर्ने भएकोले एकदम असहज भएको महसुस भयो । पहिलो दिनको कक्षा सकिएपछि भर्चूअल कक्षा सञ्चालन गर्ने अन्य शिक्षकहरूसँगको छलफलबाट यो असहजता सबैमा देखिएको पाएँ । शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगरले बेलुकी उक्त कक्षाको समीक्षा कार्यक्रम राखेको थियो । त्यो समीक्षाबाट होस्टको व्यवस्था पनि भयो ।

पहिलो साता

अब कक्षा नियमित हुन थाल्यो । घरबाटै सहजीकरण हुन थाल्यो । एकदम नौलो अनुभूति भयो । नयाँ आईडी उपलब्ध भयो, त्यसमा करिब दुई सय जनासम्म विद्यार्थी सहभागी भए । कक्षा सहजीकरणका लागि एक घण्टाको समय उपलब्ध थियो । एक घण्टा शिक्षणका लागि करिब तीन घण्टाभन्दा बढी तयारी आवश्यक पर्ने रहेछ । विनातयारी कक्षा सम्भव नै नहुने ।

कक्षालाई सकेसम्म सहभागितामूलक र अन्तरक्रियात्मक बनाउने अभ्यास गरिरहेका थियौँ । हामीसँग कक्षामा विभिन्न चुनौतीहरू थपिन थाले । हरेक दिन नयाँ–नयाँ विद्यार्थीहरू जोडिने भएकोले जुम चलाउन समस्या देखिन थाल्यो । सहजीकरणकै क्रममा उनीहरूले जूमसम्बन्धी प्रश्न सोध्न थाले । विद्यार्थी विविधता अर्को समस्या भयो । सरकारी र निजी विद्यालयका विद्यार्थी, नेपाली र अंग्रेजी माध्यमका विद्यार्थी, जुम चलाउन सक्ने र सिक्दै गरेका विद्यार्थी, सिकाइ स्तर उच्च, मध्य र निम्न भएका विद्यार्थी, बत्ती र नेट आउने–जाने जस्ता चुनौती देखा परे । अपरिचित विद्यार्थी, गृहकार्य परीक्षण, कमजोर विद्यार्थीहरूको सक्रिय सहभागिता, विद्यार्थी बसिरहेको अनुपयुक्त स्थान, विद्यार्थी कक्षामा जोडिने र हराउने, पृष्ठभूमिको हल्ला, कतिपय कोही ‘अनम्यूट’ हुन नचाहने त कोही ‘अनम्यूट’ भइरहने, च्याटबक्समा असान्दर्भिक कुराहरू गर्ने समस्याहरू देखिए ।

माथिका समस्या न्यूनीकरण गर्दै शिक्षण गर्नुपर्ने हाम्रो कर्तव्य थियो । गृहकार्य प्रतिनिधित्वका हिसाबले सुनाउन लगाएर र भिडियोमा देखाउन लगाएर परीक्षण गर्न थालियो । निष्क्रिय विद्यार्थीहरूलाई नामले बोलाएर अनम्युट गरी सहभागी हुन प्रेरित गरिन्छ । विद्यार्थीलाई एड्मिट, म्यूट, अनम्यूट होस्टले गर्नु हुन्थ्यो । प्रश्न पालैपालो सोध्ने, ब्रेकआउट रुममार्फत समूह विभाजन गर्ने, कतिपयलाई भिडियो अन गर्न लगाउने, वैयक्तिक च्याट बन्द गरी च्याटमार्फत उत्तर दिन लगाउने जस्ता क्रियाकलापहरू गर्दा भर्चूअल कक्षा पनि वास्तविक कक्षाकोठामा जस्तै सहभागितामूलक र अन्तरक्रियात्मक बनाउन सकिने रहेछ ।

विद्यार्थीहरूसँग कुराकानी गर्न सकिने, देख्न सकिने, ब्रेकआउट रुममार्फत हरेक रुममा गई समूह कार्यहरूको अनुगमन गर्न सकिने, च्याट बक्समा जिज्ञासा तथा प्रतिक्रिया राख्न सकिने जस्ता विशेषता जूममा हुने भएकोले सिकाइ सहजीकरण थप प्रभावकारी हुन गरेको छ । गरेको यसका लागि शिक्षकले रणनैतिक कौशल प्रयोग गर्नुपर्ने देखिन्छ ।

नगरबाट विद्यालयतिर

नगर शिक्षा शाखाले विद्यालयलाई नै जिम्मा दिने गरी भर्चूअल कक्षा एक सातापछि बन्द गर्ने निर्णय गर्‍यो । हामीले हाम्रो विद्यालयका विद्यार्थीहरूलाई विद्यालयको नयाँ आईडी र पासवर्ड दिई असार १ गतेबाट जोडिन अनुरोध गर्‍यौँ । अन्य विद्यालयका विद्यार्थीहरूलाई आ–आफ्नो विद्यालयमा सम्पर्क गर्न भन्यौँ । कतिपय विद्यार्थीहरू निराश भएको नरमाइलो अनुभूति पनि भयो ।

यतिबेलासम्म हाम्रो विद्यालयले एकपटक विद्यार्थीहरूलाई फोनमार्फत सम्पर्क गरिसकेको थियो । एउटा एउटा सेक्सनको जिम्मेवारी एकरएक जना शिक्षकलाई दिइएको थियो । हरेक शिक्षकले आफ्नो जिम्मामा परेको कक्षाका विद्यार्थीहरूलाई सम्पर्क गरी इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँचमा रहेका विद्यार्थीहरूलाई पहुँचका आधारमा कक्षामा सहभागी हुन निर्देश गरिएको थियो ।

नेटको पहुँच भएका कक्षा १० का विद्यार्थीहरूलाई जोडिनका लागि अनुरोध ग¥यौँ । यसलाई विद्यालयको भर्चूअल कक्षाको परीक्षणका रूपमा हामीले हेरेको थियौँ । पहिलो दिन २० जनामात्र विद्यार्थी सहभागी भए । अलिकता हतोत्साहित भयौँ तर अभिभावकसँग फोन तथा सामाजिक सञ्जालमार्फत सम्पर्क बढाएपछि ५५–६० जना विद्यार्थीहरू कक्षामा जोडिए । त्यसपछि हामीले भर्चूअल कक्षालाई निरन्तरता दिने योजना बनायौँ ।

यस क्रममा केही सकारात्मक र नकारात्मक टिप्पणीहरू सुनिन थाले । जस्तासुकै प्रतिक्रिया भएतापनि हामीले सुझावका रूपमा लियौँ । सम्पर्कमा रहेका विद्यार्थीहरूलाई हामीले रेडियो र टेलिभिजनबाट छुट्टै कक्षा सञ्चालन गर्न असमर्थ भएकोले विभिन्न टेलिभिजन च्यानल र एफएम रेडियोहरूबाट सञ्चालन भएका कक्षामा सहभागी हुन विद्यार्थीलाई सूचित गरेका छौँ ।

शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी भएपछि विद्यालयले त्यस कार्यलाई अगाडि बढाउन विद्यालयका शिक्षक अशोककुमार राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन ग¥यो । यस समितिले विद्यार्थीहरूको सहजीकरणका लागि शिक्षकहरूलाई जिम्मेवारी दिई काम गरिरहेको छ ।

शिक्षकहरू निदाएका छन् । उनीहरू ब्यूँझन चाहेका छैनन् भन्ने आरोप लागिरहेको बेला हामी भने निरन्तर क्रियाशील छौँ । २०७७ साल असार ५ गतेबाट दैनिक २० जनाका दरले सामाजिक दुरी कायम राख्दै र स्वास्थ्य सुरक्षा सतर्कतालाई ध्यान दिँदै सम्पर्क कक्षा सञ्चालन गरिरहेका छौँ । कक्षा १० को भर्चूअल कक्षामा विद्यार्थीको अपेक्षाअनुसार नेपाली र अंग्रेजी विषयका कक्षाहरूसँगै क्रमशः गणित, विज्ञान, सामाजिक र स्वाजवा विषयका कक्षाहरू सञ्चालन भइरहेका छन् ।

पहिले दैनिक रूपमा नेपाली र अंग्रेजी विषयका कक्षाहरू भएकोमा हाल आएर बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक २ घण्टाका दरले साप्ताहिक समय तालिका बनाइ कक्षा सहजीकरण गरिरहेका छौँ । एक जनाले शिक्षण गर्दा अर्को शिक्षकले होस्ट गर्ने सहयोगात्मक तरिकाबाट अघि बढीरहेका छौँ । छुट्टाछुट्टै आइडीको प्रयोगबाट उब्जेको असहजतालाई कम गर्नका लागि एउटा कक्षाका लागि एउटा आइडीको व्यवस्था गरेका छौँ ।

जुममा ४० मिनेटको समयावधि मात्र रहेको आइडीको प्रयोग गर्दा कक्षा सहजीकरण गर्दै गर्दा छुट्टिनु पर्ने र पुनः जोडिदाँ समय लाग्ने समस्या हामीले भोगिरहेका छौँ । साथै बत्ती र इन्टरनेट नियमित हुन नसक्दा थप समस्या भोग्नु परेको छ । समस्या नभएको कार्यमा नयाँपन आउन सक्दैन भन्ने कुरालाई मनन गर्दै समस्यासँग बाँझिदै काम गरिरहेका छौँ । हाम्रो विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थीहरू पनि अध्ययन गर्ने भएकोले सम्पूर्ण विद्यार्थीसँग सम्पर्क नहुनु हाम्रा लागि ठूलो चुनौती बनेको छ । यस्ता समस्याहरू हुँदाहुँदै पनि विद्यार्थीहरू सिकाइका लागि उत्सुक भएकोले समस्या देखाएर पन्छिने अवस्था आउँदैन ।

विद्यालयका केही शिक्षकहरू आइसीटीमा पोख्त नभएकोले उहाँहरूलाई विद्यालयको एउटा कोठाबाट पढाउने व्यवस्था गरिएको छ । उहाँहरूले सहजै रूपमा विद्यार्थीहरूसँग कुराकानी, अन्तरक्रिया र ह्वाइटबोर्डको प्रयोगबाट सहजीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । अहिले शिक्षकहरू स्वप्रयत्नबाट आइसिटीका विभिन्न सीपहरू सिक्ने क्रममा हुनुहन्छ । विद्यालयले पनि १५ दिने आइसीटी तालिम सञ्चालन गर्ने योजना बनाएको छ । विद्यालयले कक्षा दशका विद्यार्थीहरूका लागि सञ्चालन गरेको भर्चूअल कक्षाको एक महिना पूरा भएको छ । उक्त कक्षाको अनुभवका आधारमा अन्य कक्षाहरू सञ्चालन गर्ने योजना बनाइएको छ । साथै अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूलाई वैकल्पिक सिकाइ सहजीकरण समितिले बनाएको योजनाअनुसार काम गरिनेछ ।

२०७७ असार २५ गतेबाट कक्षा ९ को भर्चूअल कक्षा सञ्चालन भइरहेको छ । बिहान १० बजेदेखि दैनिक ३ विषयका दरले कक्षा सञ्चालन भइरहेको छ । कक्षा आठको तयारी अन्तिम चरणमा छ । विस्तारै सबै कक्षाका कक्षाहरू सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । सीटीईभीटी अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग र जियोमेटिक्स इन्जिनियरिङ्गका विद्यार्थीहरूसँग सम्पर्क भइरहेको छ ।

अन्तमा

भर्चूअल कक्षा भनेजति सहज र सोचेजति असहज पनि छैन । अन्य कक्षामा जस्तो कक्षाकोठामा गएर किताब हेरेर शिक्षण गरेजस्तो सहजता भर्चूअल कक्षामा हुँदैन । विषयवस्तुको ज्ञान भएता पनि त्यसको तयारी आवश्यक पर्दछ । सामग्री निर्माण यसको महत्वपूर्ण पाटो हो । यसका लागि शिक्षक आइसीटीमा दक्ष हुनुपर्ने देखिन्छ । विषयवस्तुअनुसारको सामग्री निर्माण गरेपछि सहजीकरण अर्को महत्वपूर्ण पाटो हुन्छ । एकोहोरो तरिकाले विषयवस्तु प्रस्तुत गर्दा विद्यार्थीको सिकाइ पूर्ण नहुने र नैराश्यता आउन सक्छ । भर्चूअलका लागि अर्को महत्वपूर्ण पक्ष भनेको सहजीकरणमा प्रयोग हुने एप्लिकेसनको ज्ञान हो । विद्यालयको जनशक्ति अब प्रविधिमैत्री हुन आवश्यक छ ।

वास्तविक कक्षामा जस्तै विद्यार्थी अनुशासनको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरू सिक्नका लागि तत्पर र उत्सुक भएनन् भने कक्षामा जोडिएर अन्य काममा लाग्ने सम्भावना हुन्छ । कक्षा छोड्ने, बोलाउँदा नबोल्ने हुन सक्छन् । उनीहरूको चाहना विपरीत भएमा हामी कुराकानी गर्न असमर्थ हुन्छौँ । यसका लागि विद्यार्थी सिकाइका लागि तत्पर हुनु आवश्यक छ । विद्यार्थी सिकाइका लागि तयार भएन भने सहजीकरण अबरोध सिर्जना हुन्छ । त्यसकारण विद्यार्थीलाई सिकाइका लागि तयार बनाउनका लागि अभिभावक पनि बालबालिकाको सिकाइप्रति जवाफदेही हुनु अति जरुरी हुन्छ ।

बत्ती र इन्टरनेटको नियमित व्यवस्था, शिक्षकहरूको प्रविधिमा दक्षता, शिक्षक विद्यार्थीको इन्टरनेटमा पहुँच हुन सकेमा अहिलेजस्तो परिस्थितिमा विद्यार्थीहरू सिकाइबाट वञ्चित हुनुपर्ने अवस्था आउने छैन । कोभिड–१९ को महामारी निरन्तर रहेमा भर्चूअल कक्षा उपयुक्त विकल्प हुन सक्छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको लगानी आवश्यक देखिन्छ । महामारीको अन्त भएर पहिलेको जस्तै कक्षा सञ्चालन हुन सक्ने अवस्था आउन सक्यो भने विद्यार्थीलाई सिकाइप्रति प्रेरित गर्न गाह्रो हुनेछ । विद्यार्थीहरू सिकाइबाट विमुख हुने अवस्था आउन सक्छ । तसर्थ कुनै न कुनै माध्यमबाट विद्यार्थीलाई विद्यालयको सम्पर्कमा राखी सिकाइलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

(लेखक अमरज्योति माध्यमिक विद्यालय नेवारेको सहायक प्रधानाध्यापक हुन् ।)

प्रकाशित मितिः   ३ श्रावण २०७७, शनिबार ०६:०७