डुवानको डर

दुई दिन लगातार वर्षात् हुँदा वीरेन्द्रनगरका इत्राम, खोर्के लगायतका खोलाहरूमा बाढी आउँछ । तर यसरी उर्लेर आउने बाढीको निकास भने एउटै छ । वीरेन्द्रनगरको दक्षिणतर्फ रहेको निकासखोला । सोही खोला प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाको एक मात्र निकास हो । तर उक्त निकास साँघुरो छ । जसले गर्दा ठूलो भेलसहितको बाढी आउँदा खोला थुनिन्छ । पानीको भार बढी हुँदा भेल बस्तीमा पस्छ । तल्लो तटीय क्षेत्र जलमग्न हुन्छ । बस्ती डुवानमा पर्छ । धनजनको क्षति हुन्छ । यस्तो घटना एक पटक होइन पटक–पटक हुँदै आएको छ । तर उचित निकासको प्रबन्ध गर्न भने सम्बन्धित निकायले ध्यान दिएको देखिदैन ।

लगातार वर्षात् हुँदा उपत्यका र आसपासका खोलाहरूमा पानीको सतह बढेपछि निकास थुनिन्छ । साँघुरो निकासका कारण पानी सहज रूपमा बग्न नपाउँदा तल्लो तटीयक्षेत्र डुवानमा पर्छ । जसका कारण वर्षात् सुरु भएसँगै उपत्यकाको दक्षिणी भू–भागमा वर्षेनी डुवानको त्रास हुन्छ । पछिल्लो पटक वि.सं. २०७१ साल साउनमा अविरल वर्षाका कारण बाढी आयो । बाढीका कारण उपत्यकाको निकासखोला थुनियो । राजमार्गदेखि दक्षिणपट्टिको भागमा ठूलो जनधनको क्षति भयो । पानी पर्दा यहाँका स्थानीय अहिले त्यही विपद्को दिन सम्झिएर त्रसित हुन्छन् । त्यसअघि र पछि पनि निकासखोला खोल्ने र बस्तीतर्फ तटबन्धन गर्नेबारे थुप्रै योजना बने । तर, कार्यान्वयन भएनन् । वर्षात्का समयमा मात्रै सम्बन्धित निकायले चासो र चिन्ता व्यक्त गरे पनि निकास खोल्ने काममा बेवास्ता हुँदै आएको छ ।

निकासखोला आसपासमा अहिले बस्ती पातलो छ । जसका कारण धेरै क्षति हुने गरेको छैन । तर पछिल्लो समय बस्ती दिनप्रति दिन बढ्दै छ । विगतमा जस्तै ठूलो बाढीले निकास थुनिएर पानी बस्ती परेमा क्षति पनि बढ्ने निश्चित छ । त्यसैले निकासलाई व्यवस्थित गर्नु अपरिहार्य भइसकेको छ । उपत्यकाको निकासबारे समयमै नसोचे भोलि ठूलो समस्या आउनेछ । अहिले मुलुकमा तीन तहका सरकार छन् । सबैभन्दा तल र नजिकको वीरेन्द्रनगर नगरपालिका छ । निकासको समाधान निकाल्ने पहिलो दायित्व नगरपालिकाकै हो । उसले आफ्नो साधन र स्रोतले नभ्याउने भएमा प्रदेश र संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्न सक्दछ । तर यसतर्फ नगरपालिकाका पदाधिकारीको ध्यान पुगेको छैन । न त प्रदेश सरकारले नै गम्भिरतापूर्वक लिएको छ । पूर्वयोजना बनाएर सतर्कता नअपनाउने र क्षति भइसकेपछि पछुताउने प्रवृत्तिले ठूलो नोक्सान हुने गरेका अनेक उदाहरण छन् । निकासकै कारण वीरेन्द्रनगरले पनि अनपेक्षित दुर्घटना भोग्नुपर्ने दिन नआउला भन्न सकिँदैन । हुन त वीरेन्द्रनगरलाई व्यवस्थित गराउन गुरुयोजना बनाइएको छ । उक्त गुरुयोजनामा पनि निकास खोलालाई समेटेर व्यवस्थित निकासको योजना समेटिएको छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । प्रदेश राजधानीको ढल निकास व्यवस्थित नहँुदा वर्षेनी डुवानको डर हुने गरेको छ ।

प्रकाशित मितिः   ३१ असार २०७७, बुधबार ०६:००