बर्खा लाग्यो कि डुवानको त्रास

सुर्खेत उपत्यकाको पानी निकास हुने एक मात्र स्थान वीरेन्द्रनगर–९ को निकासखोला।

वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भू–भागमा वर्षेनी डुवानको त्रास हुन्छ । वर्षात्को समयमा उपत्यका र आसपासका साना खोलाहरूमा पानीको सतह बढेपछि निकास थुनिन्छ । साँघुरो निकासका कारण पानी सहज रूपमा बग्न नपाउँदा तल्लो तटीयक्षेत्र डुवानमा पर्छ । सुर्खेत उपत्यकाको एक मात्रै पानीको निकास वडा नं. ९ को निकासखोला हो ।

यस क्षेत्रमा वर्षायाममा मात्रै होइन हिउँदमा पर्ने पानीले समेत निकासखोला थुनिन्छ । निकास खोलादेखि माथितिरका बस्तीहरू जलमग्न हुन्छन् । ‘पानी प¥यो कि आँगनै जलमग्न हुन्छ । घरभित्रै भल पस्छ । आकाश खुलेको रात मात्रै चयनले सुतिन्छ । आकाशमा बादल मडारिएको रात निदाउन सकिन्न,’ वीरेन्द्रनगर–९ अलायचौरका खगेन्दप्रसाद रेग्मी भन्छन् ।

वि.सं. २०७१ साल साउनमा अविरल वर्षाका कारण बाढी आयो । बाढीका कारण उपत्यकाको निकासखोला थुनियो । राजमार्गदेखि दक्षिणपट्टीको भागमा ठूलो जनधनको क्षति भयो । पानी पर्दा यहाँका स्थानीय अहिले त्यही विपद्को दिन सम्झिएर त्रसित हुन्छन् । त्यसअघि र पछि पनि निकासखोला खोल्ने र बस्तीतर्फ तटबन्धन गर्नेबारे थुप्रै योजना बने । तर, कार्यान्वयन भएनन् । वर्षात्का समयमा मात्रै सम्बन्धित निकायले चासो र चिन्ता व्यक्त गरे पनि निकास खोल्ने काममा बेवास्ता हुँदै आएको छ । ‘आश्वासन मात्रै पाइन्छ,’ अलायचौरकै जगतकुमारी सिंहले भनिन्, ‘निकास व्यवस्थित नहुँदा पानी प¥यो कि डुवानको चिन्ताले सताउँछ ।’ उनले पानी परेपछि आफूहरू त्रसित हुने गरेको बताइन् । हरेक साल निकास खोल्ने हल्ला सुने पनि काम भने कहिल्यै नभएको उनले सुनाइन् ।

उपत्यकाको निकासबारे समयमै नसोचे भोलि ठूलो समस्या आउने स्थानीय बताउँछन् । उनीहरूमात्रै होइन प्रदेशको राजधानी समेत रहेको सुर्खेत उपत्यकाको निकास थुनिने त्रास उपत्यकावासी सबैलाई छ । वीरेन्द्रनगर ९ र १० लगायतका क्षेत्रमा अहिले पनि सामान्य वर्षा हुँदा डुवान हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाको गुरुयोजनामा निकास खोलालाई समेटेर व्यवस्थित निकासको तयारी गरिएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–९ का वडा अध्यक्ष सुरेश मानन्धरले निकास खोलामा तटबन्धको काम सुरु गरेको जानकारी दिए । ‘तटबन्धको लागि चार करोड रूपैयाँ आएको छ,’ उनले भने, ‘तर वर्षाको कारण काम भने रोकिएको छ ।’ ६ वर्षअघि इत्राम र खोर्केखोलामा आएको बाढीले घरबास बगाउँदा विस्थापित भएका सयौं परिवारको उचित व्यवस्थापन हुन सकेको छैन । उनीहरू अहिले पनि त्रिपालमुनी कष्टकर दैनिकी काटिरहेका छन् ।

देशकै पूरानो नगर, तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र हालको प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकामा ढल निकास व्यवस्थित नहँुदा वर्षेनी डुवानको डर हुने गरेको हो । सुर्खेत उपत्यकाको इतिहास र विकासक्रमका जानकार इन्जिनियर ओमदत्त रेग्मीका अनुसार यसअघि रत्नराजमार्गभन्दा माथिको भागलाई बस्तीका लागि र तल्लो भागलाई कृषि क्षेत्रका रूपमा विकास गर्ने गरी गुरुयोजना निर्माण गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको आवास क्षेत्र, नगरको ७ नं. सरकारी क्वाटर लगायत व्यवस्थित गुरुयोजना निर्माण गरिएको थियो । तर गुरुयोजना अनुरूप बस्ती व्यवस्थापन नगरिँदा वीरेन्द्रनगर अस्तव्यस्त बन्दै गएको हो । उनले अनुसार माथेमाले निर्माण गरेको गुरुयोजनामा खेल तथा खुल्ला मैदान, सार्वजनिक पार्क, सडक, ढल, बस्ती व्यवस्थापन, सरकारी कार्यालयको क्षेत्र, संस्थानहरूको क्षेत्र, कृषि क्षेत्र छुट्याइएको थियो ।

वीरेन्द्रनगरमा खोला किनारमा अतिक्रमण गर्ने र अव्यवस्थित बसोबासकै कारण वर्षेनी डुवान र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तीको सामना गर्नुपरेको उनले बताए । जनघनत्व बढ्दै गएकाले आगामी दिनमा झनै समस्या थपिँदै जाने उनले औंल्याए । राजमार्गभन्दा तल्लो क्षेत्रमा निजी क्षेत्रको योजनाअनुसार अव्यवस्थित बस्ती बढ्दै गएपछि वीरेन्द्रनगर कुरूप बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मितिः   ३० असार २०७७, मंगलवार ०६:०६