जहाँ घर त्यहीँ पहिरोको डर
बिहीवार राति जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गयो । पहिरोले वडा नं. ४ को सार्कीगाउँमा दुई र वडा नं. ६ को धुमगाउँमा एक घर पु¥यो । घरमा सुतिरहेका नौ जनाको मृत्यु भयो भने पाँच जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरियो ।
सोही दिन बारेकोट–४ मै पहिरोले अर्को एक घर पुरिँयो । एक जना घाइते भए । यी प्राकृतिक विपद्मा परेकाहरूको झण्डै ३६ घण्टापछि मात्रै उद्धार हुन सक्यो । स्थानीयले रातिदेखि नै उद्धार गर्न सुरु गरे पनि उद्धार सामग्री र जनशक्ति अभावका कारण ढिलाइ भएको हो ।
विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी नहुँदा घटना भइहाले पनि तत्काल उद्धार र उपचार तथा राहतमा ढिलाइ हुने गरेको छ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढे पनि कर्णालीमा पूर्वतयारी तथा सतर्कताका उपाय अपनाइएको छैन । भौगोलिक विकटताका कारण उद्धारमा समेत कठिनाइ हुने गरेको छ । प्रदेश सरकारले जाजरकोटमा संघीय सरकारको समन्वयमा शनिवार मात्रै आवश्यक राहत सामग्री पठाएको छ ।
बिहीवार राति नै रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–३ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशका सबै जिल्ला बाढी र पहिरोको जोखिममा रहेका छन् । जोखिमयुक्त स्थानको पहिचान गरी विपद् प्रतिकार्य लागि कस्तो योजना बनाउने भनेबारे पूर्व तयारी नहँुदा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।
तत्कालीन कर्णाली विकास आयोगले २०७५ मा कर्णालीका जुम्ला, कालिकोट, मुगु र हुम्लामा सुरक्षित बस्ती कति छन् भनेर अध्ययन गरेको थियो । उक्त अध्ययनले कर्णाली प्रदेश बाढी र पहिरोको जोखिममा छ भन्ने देखिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाय बताउँछन् । कर्णाली भिरालो जमिन र नदी कटानका कारण जोखिममा रहेको उनको भनाइ छ । उनले प्रदेशका चार जिल्लामा एक हजार २५ बस्तीमध्ये तीन सय १८ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको बताए । कर्णालीमा प्राकृतिक प्रकोपको क्षतिबाट बच्नका लागि एकीकृत बस्ती विकास आवश्यक देखिएको उनले औंल्याए ।
कर्णाली प्रदेश सरकारसँग विपद् व्यवस्थापनको कुनै ठोस योजना छैन । एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरेर बसोबास व्यवस्थित गर्ने भने पनि कार्यान्वयन भने हुन सकेको छैन । यसका लागि प्रदेशले कति बस्तीलाई एकीकृत बस्ती विकासमा समावेश गर्नुपर्छ भनेर अध्ययन समेत गरेको छैन । कानुनी जटिलता र प्रशासनिक संरचना तयार नहुँदा यसले गति नपाएको सरकारी अधिकारीहरूको भनाइ छ ।
प्रदेश सरकारसँग प्रदेशका कति बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् भन्ने तथ्याङ्क समेत छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णबहादुर रोकायले मन्त्रालयसँग प्राकृतिक प्रकोपबाट कति बस्ती तथा गाउँ जोखिम छन् भनेर एकिन तथ्याङ्क नभएको बताए । ‘हामीले जोखिम भएका ठाउँ र बस्तीको तथ्याङ्क संकलन गर्ने तयारी गरेका थियौं’ उनले भने, ‘तर लकडाउन भएपछि गर्न सकिएको छैन ।’
सरकारसँग भरपर्दो तथ्याङ्क नहुँदा ठोस योजना समेत बनेको छैन । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले मातहतका सरोकारवाला निकायलाई निर्देशन दिने बाहेकका थप काम भने केही गरेको छैन ।
कर्णालीको भौगोलिक अवस्था जटिल छ । अधिकांश भू–भागमा भिरालो जमिन छ । यहाँ भिरालो जमिनमा छरिएर रहेका बस्ती छन् । जाजरकोटमा मात्रै ९७ प्रतिशत भिरालो जमिन छ । बढी भिरालो भएका कारण पहिरोको सम्भावना अधिक रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले भेरी नगरपालिकाको सदरमुकाम बाहेक अन्य ठाउँ पहिरोेको उच्च जोखिममा रहेको जानकारी दिए ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको अधिकांश भाग बाढीको जोखिममा छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाको १६ वटा वडामध्ये आठ वटा वडा बाढीको उच्च जोखिममा छन् भने चार वटा वडा पहिरोको जोखिममा रहेका छन् । सुर्खेतकै भेरीगंगा नगरपालिकाका पाँच वटा वडा बाढीको उच्च जोखिममा छन् । दुई वटा वडा पहिरोको जोखिमा रहेका छन् ।
यस्तै पञ्चपुरी नगरपालिकाको तीन वटा वडा बाढी र तीन वटा वडा पहिरोको जोखिममा रहेको प्रशासन कार्यालयले जनाएको छ । लेकवेशी नगरपालिकाको सात वटा वडा बाढीको उच्च जोखिममा छन् भने पाँच वटा वडा पहिरोको जोखिममा छन् । चौकुने गाउँपालिका पनि बाढी र पहिरोको उच्च जोखिममा छ । चौकुनेका पाँच वटा वडा बाढीको उच्च जोखिममा छन् भने दुई वटा वडा पहिरोको जोखिमा छन् ।
सुर्खेतकै बराहताल, चिङ्गाड, सिम्तालगायतका पालिका पनि प्राकृतिक विपद्को उच्च जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद् प्रतिकार्य योजना बनाएर सम्बन्धित पालिका र सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको बताए । उनले कही घटना घटीहाले उद्धार र राहतका लागि टोली तयारी अवस्थामा रहेको जनाए । प्रशासनले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिदका लागि तयारी गरिरहेको उनले जानकारी दिए ।
यसैगरी, दैलेखमा पनि बाढी पहिरोको उत्तिकै जोखिम छ । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार विशेष गरेर राकम, लोहोेरेखोलाको आसपास र कर्णालीको तिरमा रहेका बस्तीहरू उच्च जोखिममा छन् । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले सुर्खेत–दैलेख सडक खण्ड र कर्णाली राजमार्गमा पहिरोको जोखिम बढीरहेको बताए ।
प्रकाशित मितिः २८ असार २०७७, आईतवार ०६:०६
मुना हमाल ।