‘अब भारत जान नपरे हुन्थ्यो’

दैलेखको महाबु गाउँपालिका–२ का बिरु रावत भारतबाट फर्किएको डेढ महिना पुग्यो । उनी रोजगारीका शिलशिलामा भारत रहेका बेला कोरोनाका कारण लकडाउनमा परे । त्यसलगत्तै नेपालमा पनि लकडाउन भयो । दुई महिनासम्म कामविहीन भएर भारतमै बसे । भएको कमाइ पनि सकियो । भारतले रेलसेवा सुरु गरेपछि उनी घर फर्किए ।

रावत पहिलो पटक भारत गएका भने होइनन् । गाउँमा रोजगारीका कुनै उपाय नभएपछि उनी निरन्तर पाँच वर्षदेखि भारत आउने–जाने गरिरहेका छन् । ‘आफ्नो बारीको खेतीले ६ महिना पनि खान पुग्दैन् । अहिलेसम्म भारतकै कमाइले पालिएका छौं,’ उनले भने, ‘अब पो कसरी पेट पाल्ने हो । यसैको चिन्तामा छ ।’

दैलेखकै ठाटीकाँध गाउँपालिका–२ का पूर्ण बुढाले गाउँ फर्किएसँगै रोजगारीको चिन्ता भएको बताए । उनी विगत १० वर्षदेखि भारतकै भरमा परिवारको छाक टार्दै आएका छन् । भारतमा मजदुरी गरेको कमाइले चार जनाको परिवार पाल्दै आएको थिए,’ उनी भन्छन्, ‘भारतकै कमाइको भर थियो । अब भारत जान पाइने टुङ्गो छैन ।’ उनले परिवारको गर्जो टार्ने कुनै मेसो नपाएको बताए । ‘सरकारले दिने अनुदान र रोजगारी पनि उहीँ टाँठाबाठा र पहुँचवालाले मात्रै पाउँछन्,’ उनले गुनासो गरे ।

यी कर्णालीका अधिकांश जिल्लाका युवाहरूले भोगिरहेका समस्याका प्रतिनिधि उदाहरण हुन् । कोरोना महामाहारीले रोजगारी गुमाएर भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्किएका कर्णालीका युवाहरू यतिबेला चिन्ता छ,– अब कसरी कमाउने ? के गरेर गुजारा चलाउने ? भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरूलाई अब कसरी घरखर्च चलाउने भन्ने चिन्ताले सताउन थालेको हो ।

कर्णालीका करिब ५० प्रतिशत युवा रोजगारीका लागि भारत जाने गर्छन् । यस पटक कोरोना त्रासका कारण झण्डै ३५ हजार युवा भारतबाट रोजगारी गुमाएर प्रदेश भित्रिएका छन् । भारत कर्णालीका लागि रोजगारीको पहिलो गन्तव्य हो । यहाँका युवाहरू मजदुरी गर्न भारतका विभिन्न सहर पुग्ने गरेका छन् । खुला सीमा भएकाले वार्षिक कति मान्छे भारत जान्छन् भन्ने सरकारसँग ठ्याक्कै डाटा छैन । तर, वर्षेनी हजारौं कर्णालीबासीले भारतकै कमाइले जीवन गुजार्दै आएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ललित विकले पनि आफूलाई रोजगारीकै चिन्ता भएको बताए । कोरोना संक्रमणबाट बचेर घर आउँदा खुशी भएका उनलाई अहिले अब के गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘भारत जान नपरे हुन्थ्यो जस्तो लाग्छ । के गर्नु नगइ गुजारा चल्दैन,’ उनले भने ।

कालीकोटको खाँडाचक्र नगरपालिका–३ का टक्क पाण्डेले अहिले खेतीको सिजन भएकाले खेतबारीकै काममा व्यस्त भएको बताए । आफ्नो ठाउँमा रोजगारी नहुुँदा भारत जानु परेको दुखेसो गर्दै उनले अब युवाहरूलाई यहीँ रोजगार दिने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

तीनवटै सरकारले आगामी आर्थिक वर्षको बजेट रोजगार केन्द्रित गरेर ल्याएको बताएका छन् । संघीय, स्थानीय र प्रदेश सरकारले रोजगार सिर्जना गर्ने गरी बजेट ल्याएको दाबी गरे पनि युवाहरूलाई भरोसा भने लागेको छैन । सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिकामा मात्रै करिब चार हजार युवाहरू भारतबाट फर्किएको बताए । आगामी बजेटमा कृषि उत्पादन र रोेजगारीलाई प्राथमिकता दिएको उल्लेख गर्दै अध्यक्ष शाहीले आर्थिक वर्ष सुरु भएलगत्तै बजेट कार्यान्वयनमा जाने दाबी गरे । उनले रोजगारीका लागि विशेष गरेर उद्यशीलतातर्फका कार्यक्रमलाई जोड दिइने बताए । गाउँकै जनशक्तिलाई दक्ष गराउने र विकास निर्माणका कामहरूमा लगाउने नीति गाउँपालिकाले लिएको उनको भनाइ छ ।

कर्णाली प्रदेशमा जेठयता मात्रै ४८ हजार नागरिक भारतबाट फर्किएका आएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि सीमा बन्द ग¥यो । जेठ लागेपछि नाका खुकुलो भएसँगै दैनिक हजारौं कर्णालीबासी प्रदेश भित्रिएका छन् । उनीहरूलाई अहिले रोजगारीको चिन्ताले सताउने गरेको छ । तीमध्ये धेरैको एउटै चाहना छ– अब भारत जानु नपरोस्, गाउँमै रोजगारी पाइयोस् । तर, कर्णालीको यथार्थ भने फरक छ । ५१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको प्रदेशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । तत्कालै रोजगारीका अवसरहरू सिर्जना गर्न कठिन छ । यद्यपि, कर्णाली प्रदेश सरकारले आगामी बजेटमा कृषि, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५४ करोड बजेट रोजगारमूलक क्षेत्रमा केन्द्रित गरेको छ ।

प्रकाशित मितिः   २० असार २०७७, शनिबार ०६:०५