मल–बीऊ पुर्‍याऊ

कर्णाली प्रदेशका कृषकहरू यतिबेला धान रोपाइँको चटारोमा छन् । मध्यअसारसम्म आइपुग्दा कतै रोपाइँ भइसकेको छ भने कतै हुँदैछ । यहाँको भौगोलिक अवस्था, सिँचाइ सुविधा, मल तथा बीऊको उपलब्धता लगायतका कारण धान खेतीमा ढिलो–चाँडो हुने गरेको छ । प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै थालिने रोपाइँ साउन अन्तिमसम्म चल्छ । पहाडी जिल्लामा असार लागेपछि रोपाइँ सुरु गरिन्छ भने जुम्लालगायतका उच्च पहाडी क्षेत्रमा चैतदेखि नै धान रोप्न सुरु हुन्छ । यहाँ ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले छिटो रोपाइँ गर्ने चलन छ । त्यसैले प्रदेश सरकारले पनि अन्य नौ जिल्लामा असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिँदा जुम्लामा भने चैत्र १२ गते बिदा दिने निर्णय गरेको छ । सबै ठाउँमा सिँचाइ सुविधा छैन । जसले गर्दा बीऊ राख्नेदेखि रोप्नेबेलासम्म आकासे पानीको भर पर्नुपर्छ । कोरोनाको कहर र लकडाउनका कारण समयमै बीऊ र आवश्यक मल नपाएका कारण पनि ढिलाई हुने गरेको छ ।

अवस्था जे–जस्तो भए पनि किसानहरूलाई यतिबेला मानो रोपेर मुरी उब्जाउने चटारो छ । प्रदेशको ४९ हजार हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । प्रदेशका दस वटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ । यस पटक वर्षा चाँडो भएकोले रोपाइँको चटारो पनि चाँडै सुरु भएको किसानहरूले बताएका छन् । यो वर्ष छिटो रोपाइँ सकिने कृषि विज्ञहरूको भनाइ छ । यो वर्ष वर्षाले साथ दिएको छ । जसले गर्दा सिँचाइ सुविधा नभएका क्षेत्रमा पनि विगतमाजस्तो ढिला हुने छैन । किसानहरूले समयमै धानको बीऊ राख्न पाए । रोप्ने काम पनि बेलैमा सकिन्छ । यद्यपि कर्णालीका किसानले कृषि प्रविधि, मल, बीऊ, किटनाशक र सिँचाइको वर्षेनी समस्या झेल्दै आएका छन् । उनीहरूलाई खेती लगाउने सिजनमा सधैँको यही पिरलो हुन्छ । सिँचाइ र कृषि औजारको पर्याप्त सुविधा नहुँदा यहाँका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् ।

खेती गर्दा वर्षेनी झेल्दै आएका समस्या उस्तै छन् । आकासे पानीको भरमा खेती गर्नु पर्ने बाध्यताका कारण उत्पादनमा कमी आउने गरेकोे छ । कृषि प्रणाली आधुनिक बनाइ उत्पादन बढाउने र किसानका दुःख घटाउने सरकारी नीति कागजमा मात्रै सीमित छ । धान खेतीमा प्रविधिको प्रयोग बढे पनि सन्तोषजनक अवस्था छैन । सुगम ठाउँमा कृषि प्रविधि भित्रिएको छ । ग्रामीण भेकका किसानसम्म प्रविधिको पहुँच पुगेको छैन । वीरेन्द्रनगरलगायतका केही ठाउँमा कृषकले खेत जोत्न पावर टेलर, ट्याक्टर र पानी तान्ने पम्प, थ्रेसर, प्रयोग गर्ने गरेका छन् । तर, ग्रामीण भेकका किसानले भने अझै त्यस्ता कृषि औजार प्रयोग गर्न पाएका छैनन् । खेती गर्ने सिजनमा जहिले मल, बीऊ र सिँचाइको समस्या हुने गरेको छ । कृषकलाई आवश्यक मल–बीऊ उपलब्ध गराउन सम्बन्धित सरकारी निकायको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   १६ असार २०७७, मंगलवार ०६:००