माटोको सुगन्ध
रोपाइँ सम्झना
जब–जब असारको महिना सुरु हुन्छ । पानीका साना थोपाहरू झरीमा बदलिन्छन् । अनि झरी मुसलधारे वर्षामा । त्यसपछि सुरु हुन्छ, हामी सबैलाई मन पर्ने याम वर्षात्को याम ।
किन–किन यो यामसँगै म मा असारको चमक छाउन थाल्छ । असारको महिनाले मुहारमा छाउने आभाषको जस्तो चमक अरू कहाँ पाउन सकिला र खोइ ? वर्षौंअघि रोपाइँको दिनमा हुने त्यो लोभलाग्दो चहलपहल यी दिनहरूमा कहाँ पाइन्छन् र ? अझ मुसलधारे वर्षाको चक्र सुरु भएपछि त, यी दिनको रुमानी सम्झना थामी नसक्नु हुन्छ । अनि म आफूलाई जगजित सिंहको हिन्दु, उर्दू गजल ‘वह कागज की कश्ती वह वारिसका पानी’ तिर आफूलाई अभ्यस्त बनाउन थाल्छु ।
ओहो ! रातभरको त्यो घनघोर वर्षापछि सुरु हुने रोपाइँको त्यो चहलपहल । बाँझो खेत खनेर धान रोप्न ठीक्क पारिएका खेतका गह्राहरू । पर्म लाउने र तिर्नेको त्यो चर्का चर्की रोपार र बाउसेको चटारो । नारिएका दुई–चार हल गोरुहरू । रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीऊ उखेली सक्ने हतारमा रहेका ब्याडेहरूको खैलाबैला ।
बिहानै खेतालालाई चिया खाजाको व्यवस्थापनमा भान्सा कोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा । सारा खेतको जिम्मामा गोरु र हलोको पछि दौडिरहेका बाबा । कसलाई नै फुर्सद हुन्थ्यो र त्यति बेला ।
हामी केटाकेटीलाई त फुर्सद हुन्थ्यो । पानी पर्न सुरु गरेपछि असार १ देखि नै स्कुलको बर्खे बिदा सुरु हुन्थ्यो । अनि हामी पनि ठूलाको सिको गर्दै गह्राको वल्लो छेउबाटै रोपाइँ सुरु गथ्र्यौं । हाम्रा पनि आफ्नै रोपार बाउसे हुन्थे । धमिलो पानीमा भेल पसेर बौलाएको कुलोमा डुबुल्की मार्दाको मज्जा उफ् कहाँ बयान गर्न सकिन्छ र ती शब्दहरूमा । जब जब असारको महिना आउँछ म यसैगरी गाउँमा बितिएका असारे स्मृति चित्रहरूको भेलमा हेलिन पुग्छु ।
वर्षात्को पानीमा रूझ्दा, वर्षात्को पानीलाई अन्जुलीमा भरेर आफूले मागेको सारा कुरा आकाशसम्म पुग्छन् र सारा संसारले सुन्छ । भगवानले पनि सुन्छन् । अनि सारा इच्छा चाहना पूरा हुन्छन् भन्ने विश्वासका साथ आफ्ना सारा कुरा एकै सास भनिन्थ्यो र आकाशमा पुगेको अनि भगवानले सुनेकोमा गमक्क परिन्थ्यो ।
यो असारको महिना, यो झरी, यो वर्षात्ले फेरि तिनै दिनलाई आज ताजा बनाएर अगाडि ल्याएको छ । साँच्चै जब–जब विगतका सुन्दर दिनहरू फेरि एक पटक आफ्नो अगाडि आउँछन् त्यो पलहरूलाई बाँच्न मन लाग्ने रहेछ । यादहरूलाई फेरि समेट्न मन लाग्ने रहेछ अङ्गालो भरेर ।
मलाई अझै याद छ रोप्न नजान्ने म आमासँग रोपाइँ जानलाई कति जिद्दी गर्थें । आमा घरबाट निस्केपछि आमासँग लुक्दै लुक्दै उहाँको पछिपछि खेतसम्मै पुग्थे । त्यो हिलाम्मे खेतमा आकाशबाट वर्षेको झरी तलदेखि माथिसम्म वल्लो खेतदेखि पल्लो खेतसम्म हरियो बीउ छ्याप–छ्याप गर्दै हिँडिरहेका रोपारा–बाउसेहरू । यस्तो लाग्छ त्यहीँ दृश्य होला संसारको सुन्दर दृश्य जसलाई देख्न पाउँदा आँखाले पनि गर्वको गर्छन् ।
कृषिप्रधान देशमा जन्मिएका हामी माटोको सुगन्धले हामीलाई यसै यसै आफूतिर तान्छ । माटोसँग मन लागुञ्जेल खेल्न पाउँदा हामीमा खुशीको नौलो रूप देखिन्छ । रोपाराले गाउने त्यो मागलका भाका, देउडा गीतहरू आहा ! सुन्दा पनि कति आनन्द आउँथ्यो । मानो रोपेर मुरी भित्राउने सपना मान्छेका आँखाहरूमा सहजै नजर आउँछन् यो समयमा ।
आज पनि झरीको सुगन्धले मलाई आफूतिर खिचिहाल्छ । झरी पर्दा मलाई मेरै खेततिर बोलाइरहेको भान हुन्छ । राजधानीको सानो कोठाको झ्यालबाट उडेर मेरो मन कैयौं पटक मेरो त्यो हिलाम्मे खेतमा पुगेको छ । हिलोमा लतपतिएर एक हातमा धानको बीउ राखेर र अर्को हातले धान रोपेको छ धान रोप्दै गर्दा वल्लो–पल्लो घरका काकीहरूले जिस्काएको अनि गाला रातो भएको अहिले जस्तै लाग्छ । अनि म अनायासै आफ्नै गाला छाम्न पुग्छु ।
राजधानी लकडाउनले थलिएको छ । उता गाउँका खेतहरू वर्षाको झरीले उत्पात खुशी भइरहेका होलान् । मान्छेका ओठहरूमा मुस्कान छाएको होला । दिनहरू साँच्चै साह्रै छिट्टै बित्छन् । आमासँग जिद्दी गरेको हिजो जस्तो लाग्छ । पानीको कुलोमा डुबुल्की मारेको हिजो जस्तो लाग्छ तर आज तिनै दिन सम्झेर म ती दिनलाई बाँच्न खोज्दै छु ।
घर छोडेसँगै धेरै धेरै कुरा छुट्दै जाने रहेछन् । अनि जिन्दगीले महसुस गराइदिने रहेछ । पाएको कुरा भन्दा कयौं महत्वपूर्ण हुन्छन् छुटेका कुरा ! जसलाई फेरि कहिल्यै चाहेर पनि पाउन सकिँदैन । अनि रहरहरू रहरमा नै सीमित भइजान्छन् भनेर । यादहरूको कस्तीमा आज पनि हिलाम्मे खेत उसै गरी मुस्कुराइ रहेको छ । रोपार र बाउसेहरूको उत्साह उस्तै छ । उमङ्ग उस्तै छ । हिलोले रङ्गिएका गुन्यू चोली सुन्दर छन् । हरियो धानको बीऊले सजिएका हात जो बिछट्टै सुन्दर लाग्थे ती सब उस्तै छन् । हिलो खेल्ने साथी उस्तै छन् ।
कहिलेकाहीँ राजधानीले कति कुरा दियो भन्दा पनि कति कुरा लुट्यो त्यो हिसाब–किताब गर्न मन लाग्छ । कति सुन्दर यादलाई कुरूप बनाइ दियो त्यतातिर मन जान्छ । भन्छन् ‘बितेका कुरा धेरै याद ग¥यो भने यसले खुशी भन्दा बढी पीडा दिन्छ रे ।’ त्यसैले ती याददेखि मुख मोड्नै पर्छ र वर्तमानसँग सम्झौता गर्नैपर्छ । मान्छे बाँच्ने भनेकै वर्तमानमा त हो नि विगत र भविष्य त कहाँ मान्छेका हातमा छन् र ।
होला राजधानीले दिएको ठूला–ठूला कुरा तर ती यादमा बसेका दिनले यी ठूला कुराको यादले डेरा जमाएर राखेको छ । जुन चाहेर पनि बदल्न सकिँदैन । न बिर्सिन नै सकिन्छन् । यादहरू नै यस्ता कुरा हुन् जो सम्झना र बिर्सन दुवैका सुन्दर हिस्सेदार हुन्छन् । भन्ने हो भने मान्छेलाई उसका यादले जिउँदो राखेको हुन्छ । दुःखले बाँच्न सिकाएको हुन्छ ।
हिजोदेखि राजधानीको आकाश वर्षीरहेको छ । अनि मन आफैलाई पत्तो नदिई उकालिएको खेततिर भागिसकेको छ । त्यही उत्साहका साथ त्यही उमङ्गका साथ गुनगुनाउँदै,
छुपूँ र छुपूँ हिलोमा धान रोपेरै छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौंला
उही बालापान अनि मातृभूमिको वर्षे झरी सँगैका ती दिनहरू ताजा बनिदिन्छन् । एक पटक कल्पनामै भए पनि ती दिनतर्फ उन्मुख हुँदा लाग्छ । यो संसारमा सबैभन्दा खुशी त्यही पवित्र मातृभूमिमा छ । अनि मेहेनत र पसिनाको मूल्य त्यही माटोमा छ । मानो रोपेर मूरी आर्जने बेलामा त्यही यादहरू खिल बनिदिन्छ ।
प्रकाशित मितिः १३ असार २०७७, शनिबार ०६:०६
साझा बिसौनी ।