प्रेरक कथा

मेरो शिक्षिका

प्रेरक कथा


दिपबहादुर बडुवाल

एउटा प्राथमिक विद्यालयमा अञ्जली नामकी शिक्षिका थिइन् । उनी कक्षा पाँचकी ‘क्लास टीचर’ हुन् ।

उनको एउटा बानी थियो, कक्षामा आउने बित्तिकै सधैं विद्यार्थीहरूलाई ‘लभ यू अल’ भनेर सम्बोधन गर्थिन् ।

तर उनलाई थाहा थियो कि उनले सत्य बोलेकी छैनन् ।

उनको कक्षामा एक जना बच्चा थियो, राजु । जो अञ्जलीलाई पटक्कै मन पर्दैनथ्यो । राजु सधैं फोहोर कपडाहरू लगाएर विद्यालय आउँथ्यो । कपाल बिग्रिएको हुन्थ्यो, जुत्ताहरू फाटेका हुन्थे । पढाइरहेको बेला पनि उसको ध्यान अन्यत्रै कतै हुन्थ्यो ।

पढाइमा ध्यान केन्द्र्रित नगरेको देखेपछि अञ्जली उसलाई हप्काउँथिन् । ऊ झस्कन्थ्यो । एकोहोरो शिक्षकलाई हेथ्र्यो । तर उसको खाली–खाली आँखाहरूबाट प्रष्ट भइ हाल्थ्यो कि राजु शारीरिक रूपमा कक्षामा उपस्थित भए पनि मानसिक रूपमा हुँदैनथ्यो ।

अञ्जलीले पनि उसको भित्री पीडा बुझ्ने प्रयास गरिनन् । बरु राजुको व्यवहार देखेर ऊप्रति उनलाई घृणा जाग्न थाल्यो । राजुको व्यवहार भने उस्तै थियो । कक्षामा प्रवेश गर्ने बित्तिकै ऊ शिक्षकको आलोचनाको शिकार हुनुपथ्र्यो । अन्य विद्यार्थीहरूले पनि राजुलाई जिस्काउने र गिज्याउने गर्दथे ।

अञ्जली उसलाई अपमानित गरेर सन्तुष्टि प्राप्त गर्थिन् । तर राजुले कहिले पनि कुनै जवाफ दिएन । उनलाई राजु आत्मा नभएको निर्जीव ढुङ्गा जस्तो लाग्थ्योे । प्रत्येक निन्दा, व्यंग्य र सजायको जवाफमा, ऊ आफ्नो भावनाको खाली आँखाले उनलाई हेर्ने अनि टाउको निहुँराएर चुप्प लागेर बस्ने गथ्र्यो  ।

पहिलो सेमेस्टर सिध्दियो र प्रगति रिपोर्टको चरण आयो । अञ्जलीले सबै नराम्रा कुराहरू राजुको प्रगति रिपोर्टमा लेखिन् । प्रगति रिपोर्ट अभिभावकलाई देखाउनु अघि हेडमास्टर कहाँ जाने गथ्र्यो । हेडमास्टरले राजुको प्रगति रिपोर्ट पढे र शिक्षिकालाई बोलाएर भने, ‘म्याडम, प्रोग्रेस रिपोर्टमा केही त राजुको प्रगतिको बारेमा लेखिएको हुनुपथ्र्यो । तपाईंले जे पनि लेख्नुभएको छ, त्यसले त राजुको बुबालाई निराश बनाउनेछ ।’

शिक्षिकाले भनिन्, ‘म माफी चाहन्छु सर, तर राजु एकदम असभ्य र बेकार बच्चा हो । मलाई लाग्दैन कि म उसको प्रगतिको बारेमा केही लेख्न सक्छु ।’ यति भन्दै उनी स्कूलबाट बाहिरिन् ।

भोलिपल्ट हेडमास्टरले चपरासीलाई राजुको अघिल्लो वर्षको प्रगति रिपोर्ट उनै शिक्षिकाको डेस्कमा राख्न लगाए । शिक्षिकाले कक्षाकोठामा प्रवेश गर्दैमा आफ्नो डेस्कमा रिपोर्ट देखिन् । पछाडि हेरेपछि थाहा पाइन् कि यो त राजुको रिपोर्ट हो । शिक्षिकाले सोचिन् कि राजुले पहिलेको कक्षाहरूमा पनि उही ‘गुल खिलाएको’ हुनुपर्छ । उनले कक्षा तीन को रिपोर्ट खोलिन् । रिपोर्टमा टिप्पणी पढेर उनी छक्क परिन् जब उनले देखिन् कि उक्त रिपोर्टमा त राजुको धेरै प्रशंसा गर्दै लेखिएको थियो ‘मैले आजसम्म राजु जस्तो बुद्धिमानी बच्चालाई देखेको छैन, उ धेरै संवेदनशील छ र उसले आफ्ना साथीहरू र शिक्षकहरूलाई धेरै मन पराउँछ ।’ अगाडि लेखिएको थियो, ‘अन्तिम सेमेस्टरमा पनि राजु पहिलो स्थानमा छ ।’

अञ्जलीले अनिश्चित स्थितिमा कक्षा ४ को रिपोर्ट पनि खोलिन् । यसमा लेखिएको थियो ‘राजुको पढाइमा आफ्नी आमाको बिमारीबाट धेरै असर परेको छ । उसको ध्यान अध्ययनबाट फर्किएको छ । राजुकी आमालाई अन्तिम चरणको क्यान्सर छ । ऊसँग घरमा हेरचाह गर्ने कोही छैन, जसले उसको अध्ययनमा गहिरो प्रभाव पारेको छ ।’ त्यसको तल हेडमास्टरले लेखेका थिए, ‘राजूकी आमा मरिसकेकी छिन् र यसको साथमा राजुको जीवनको चमक पनि । उसलाई बचाउनु पर्छ… ढिलो हुनु भन्दा पहिले ।’

यो पढेर शिक्षिकाको दिमागमा एउटा डरलाग्दो भार प¥यो । थरथर काँपिरहेको हातले उनले प्रगति रिपोर्ट बन्द गरिन् । उनका आँसु झर्न थाले, साडीले आफ्ना आँसु पुछिन् । अर्को दिन कक्षामा प्रवेश गर्ने बित्तिकै आफ्नो बानी अनुसार उनले आफ्नो परम्परागत वाक्यांश ‘लभ यू अल’लाई दोहो¥याइन् । तर उनलाई थाहा थियो कि उनले आज पनि झूट बोली रहेकी छिन् । किनभने त्यसै कक्षामा बसी रहेको कपाल बिग्रिएको बच्चा राजुका लागि आज जो माया उनी आफ्नो हृदयमा महसुस गरी रहेकी थिइन् त्यो कक्षामा बसी रहेका अरू कुनै पनि बच्चा भन्दा बढी थियो ।

अध्ययनको क्रममा उनले दैनिक दिनचर्याको जस्तै राजुलाई एउटा प्रश्न सोधिन् र राजुले पनि सधैं जस्तो आफ्नो टाउको झुकाई हाल्यो । केही समयको लागि जब शिक्षकबाट हप्काइएन र उसको कानमा सहपाठीहरूको हाँसोको आवाज पनि आएन, तब उसले छक्क पर्दै आफ्नो टाउको उठाई अञ्जलीतिर हे¥यो । उनी मुस्कुराई रहेकी थिइन् । उनले राजुलाई आफूकहाँ बोलाइन् र प्रश्नको उत्तर दिएर जबरजस्ती फेरि दोहो¥याउन लगाइन् । अन्ततः तीन–चार पटकको आग्रहपछि राजुलाई बोल्नै पर्‍यो । राजुले जवाफ दिँदा शिक्षिकाले खुशी भएर ताली बजाइन् र अरू बच्चाहरूलाई पनि बजाउन लगाइन् ।

अब त यो दिनचर्या बन्न गयो । शिक्षिका आफैले प्रत्येक प्रश्नको जवाफ दिने र राजुको धेरै प्रशंसा गर्ने गर्थिन् । प्रत्येक राम्रो उदाहरण कक्षामा राजुको कारणले नै दिइने गरिन्थ्यो । बिस्तारै, पहिलेको राजु मौनको चिहान च्यातेर बाहिर आउन थाल्यो । अब अञ्जलीलाई कुनै पनि प्रश्नको उत्तर दिन आवश्यक थिएन । अब त हरेक दिन राजुले कुनै त्रुटिविना प्रत्येक प्रश्नको उत्तर दिएर सबैलाई प्रभावित पार्ने र नयाँ–नयाँ प्रश्नहरू सोध्दै सबैलाई छक्क पार्ने गथ्र्याे ।

अब त्यसको कपाल केही हदसम्म सुधार भएको हुन्थ्यो, उसको लुगा पनि धेरै हदसम्म सफा गरिएको हुन्थ्यो, जुन उसले सायद आफैले धुने गथ्र्यो । हेर्दा हेर्दै वर्ष पनि बित्न गयो, राजुले दोस्रो स्थान प्राप्त गर्यो र कक्षा ५ उत्तीर्ण गरेर अब अर्को स्कूलमा भर्नाको लागि तयार थियो । कक्षा ५ को बिदाइ समारोहमा सबै बच्चाहरूले शिक्षिकाका लागि सुन्दर उपहारहरू ल्याएका थिए । टेबुल उपहारहरूले टन्न भरिएको थियो । यी सुन्दर ढङ्गले प्याक गरिएका उपहारहरूमध्ये एउटा पूरानो पत्रिकामा अव्यवस्थित ढङ्गले प्याक गरिएको उपहार पनि थियो । बच्चाहरू उसलाई देखेर हाँस्दै थिए । सबैले अनुमान गरी सकेका थिए कि यो उपहार राजुले नै ल्याएको हो भनेर ।

शिक्षिकाले उपहारको यो सानो पहाडबाट उफ्रेर राजुको उपहार लिइन् । खोलेर हेर्दा त्यसको भित्र महिलाहरूले प्रयोग गर्ने एउटा आधा प्रयोग गरिएको अत्तरको सीसी थियो र एउटा हातमा लगाउने ठूलो बाला थियो, जसको धेरै जसो मोतिहरू झरीसकेका थिए । शिक्षिकाले चुपचाप अत्तर आफूमाथि छर्किन् र त्यो बाला हातमा पहिरिन् । बच्चाहरू यो दृश्य देखेर सबै छक्क परे, र राजु आफै पनि । आखिर, राजुले एक्लै बस्न सकेन र शिक्षकको नजिकै गएर उभियो । केही समयपछि उसले भक्भकाउँदै शिक्षिकालाई भन्यो, ‘आज तपार्इंबाट मेरी आमा जस्तो सुगन्ध आइरहेको छ ।’ सुनेर अञ्जलीको आँखाबाट आँसु झर्न थाले । उनले राजुलाई अंगालिन् ।

कक्षा पाँच उत्तीर्ण भएपछि राजुले अब अर्कै ठाउँमा स्कूलमा प्रवेश गरिसकेको थियो, समय बित्दै गयो । दिन, हप्ता, महिना र महिनाबाट वर्ष पुग्न कति समय लाग्छ र ? तर हरेक वर्षको अन्त्यमा, अञ्जलीले राजुको नियमित रूपमा एउटा चिठी पाउने गर्थिन् कि ‘यस वर्ष मैले धेरै नयाँ शिक्षक भेटें, तर मेडम तपाईं जस्तो कोही थिएन ।’ त्यसपछि राजुको अध्ययन समाप्त भयो र पत्रहरूको प्रक्रिया पनि समाप्त भयो । धेरै वर्ष बित्यो र अञ्जलीले पनि अवकाश लिइन् ।

एकदिन अचानक उनलार्ई राजुको ई–मेल आयो, जसमा लेखिएको थियोः ‘यस महिनाको अन्त्यमा मेरो विवाह छ, र म तपाईंविना विवाहको बारेमा सोच्न सक्दिन, र एउटा कुरा, मैले जीवनमा धेरै मानिसलाई भेटेको छु … तपार्इं जस्तो कोही पनि छैन …. तपाईंको राजु ।’

ई–मेलसँगै, विमानबाट आउने र जाने टिकट पनि पठाइएको थियो । अञ्जलीले आफूलाई रोक्न सकिनन् । उनी राजुको सहर गइन् । विवाहको दिन जब उनी विवाहको ठाउँमा पुगिन्, अलि ढिलो भइसकेको थियो । उनलाई लाग्यो कि समारोह त समाप्त भइसक्यो होला, तर यो देखेर उनको आश्चर्यको सीमा नै रहेन कि सहरका ठूला डाक्टर, व्यापारीहरू र त्यहाँ विवाह गराइरहेका पण्डित सबै थकित भइ सकेका थिए, यो सोचेर कि आखिर अब कसले आउन बाँकी छ ? तर राजु भने विवाहको मण्डपको सट्टा समारोहका लागि सजावट गरिएको गेटमा एकोहोरो (एकटक) हेरी रहेको थियो, कसैको पर्खाईमा थियो ! तब सबैले देखे कि एउटा वृद्ध महिला गेटबाट भित्र छिर्दा बित्तिकै राजु उनीतिर दौडेर गयो र उनको हात समात्यो जुन हातमा उनले अझै पनि उसले दिएको त्यो बाला (ब्रेसलेट) पहिरेर आएकी थिइन् । राजुले उनलाई सीधा स्टेजमा लग्यो । माइक आफ्नो हातमा लिएर भन्यो, ‘मित्रहरू, तपाईंहरू सबै जना जहिले पनि मेरो आमाको बारेमा सोध्नु हुन्थ्यो र मैले पनि तपाईंलाई बाचा गरेको थिएँ कि छिट्टै म उहाँसँग तपाईंहरूलाई भेटाउने छु । ध्यानपूर्वक हेर्नुहोस्, यिनी मेरी आमा हुन्, मेरी प्रिय आमा, संसारमा सबै भन्दा राम्री छन् मेरी आमा ।’

उपस्थित सबै व्यक्तिहरूले ताली बजाई रहेका थिए, अञ्जलीको आँखाबाट आँसुको झरना बगीरहेको थियो ।

प्रिय मित्रहरू,
शिक्षक र विद्यार्थीको सम्बन्धको कारणले मात्र यो सुन्दर कथालाई न हेर्नुहोला । तपाईंको वरीपरी हेर्नुहोस्, राजु जस्ता धेरै फूलहरू ओइलाइरहेका छन् जसलाई तपाईंको थोरै ध्यान, प्रेम र मायाले नयाँ जीवन दिन सक्छ ।

प्रकाशित मितिः   १३ असार २०७७, शनिबार ०६:०२