अस्पताल नै सिल बाध्यता कि प्रवृत्ति ?

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएका बेला उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् । उपचारका लागि अस्पताल पुगेका अन्य बिरामीमा समेत कोरोना पुष्टि हुन थालेपछि अस्पतालहरू धमाधम सिल गर्न थालिएको छ । यतिबेला सबैभन्दा बढी सक्रिय हुनुपर्ने स्वास्थ्य संस्था नै सिल गर्ने प्रवृत्तिले अन्य रोगका बिरामी समेत चपेटामा परेका छन् ।

संक्रमण त्रासका कारण प्रदेशका ठूला अस्पतालहरू नै सिल गर्ने गरिएको हो । प्रदेश अस्पताल सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल प्रदेशकै ठूला मात्रै होइनन् कोरोना संक्रमितको उपचारका लागि तोकिएका ‘कोरोना विशेष’ अस्पताल पनि हुन् । जहाँ उपचारका लागि आएका व्यक्तिमा संक्रमण देखिन बित्तिकै अस्पताल प्रशासनले सेवा नै ठप्प पार्ने गरेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अस्पतालहरूको सेवा प्रवाहमा थप चुनौती देखिएको हो ।

गत जेठ २७ गते क्वारेन्टाइनबाट उपचारका लागि ल्याइएका बिरामीमा कोरोना संक्रमण देखिएपछि प्रदेश अस्पतालको इमरजेन्सी कक्ष सिल गरियो । एक दिनका लागि आकस्मिक बाहेकका सबै सेवा ठप्प भए ।

त्यसलगत्तै प्रदेश अस्पतालमै दैलेखबाट उपचार गराउन आएका तीन जनामा पनि कोरोना देखियो । दोस्रो पटक इमरजेन्सी सेवा बन्द गरियो । समुदायबाट अन्य रोगको उपचार गर्न आएका व्यक्तिमा कोरोना देखिएपछि उनीहरूको उपचारमा संलग्न ५० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरियो । अस्पतालका दुई जना चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखियो ।

बिहीवारदेखि प्रदेश अस्पतालले फेरि आपतकालीन सेवाबाहेक सबै सेवा बन्द गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना संक्रमण हुन नदिनका लागि उच्च सतर्कता अपनाउनुपर्ने भएकाले आपतकालीन सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको बताए । प्रदेश अस्पतालले योसँगै तीन पटकसम्म आपतकालीन बाहेक अन्य सेवा ठप्प गरिसकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बिहीवारदेखि आपतकालीन बाहेकका सेवा बन्द गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार समुदायबाटै आएका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा बन्द गर्नु परेको हो ।

‘ओपीडी सेवाका लागि दैैनिक दुई सय जना आउने गर्थे,’ उनले भने, ‘समुदायबाटै आएका बिरामीबाट स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । यस्तो अवस्थामा आगामी दिनमा कसरी सेवा दिन सकिन्छ भनेर वैकल्पिक उपायबारे छलफल सुरु गरेका छौं ।’ उनले अहिले सामान्य अवस्थामा अस्पताल नआउन आग्रह गरिएको बताए । डा. रावलका अनुसार शिक्षण अस्पतालले अझै तीन–चार दिनसम्म अन्य सेवा दिन नसक्ने बताए ।

जिल्ला अस्पताल सल्यानले पनि आपतकालीन बाहेक अन्य सेवा बन्द गरेको छ । डा. अर्जुन बुढाले एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार संक्रमण सरेको आशंकामा अस्पतालका स्वास्थ्यकर्मीसहित कर्मचारी गरेर ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । केही दिन पहिले जिल्ला अस्पताल दैलेखले पनि कोरोना संक्रमित बिरामी भेटिएपछि इमरजेन्सी कक्ष सिल गर्नुपरेको थियोे ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा हालसम्म तीन जना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत अन्य चार जना कर्मचारी पनि संक्रमित भएका छन् । प्रदेशमा शुक्रवारसम्म संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ । तीमध्ये सात सय २० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जेठ पहिलो सातादेखि कोरोना संक्रमण पुष्टि भएको कर्णालीमा संक्रमणको दर उच्च छ । संक्रमण समुदायस्तरमा फैलिएको छ । कर्णालीमा स्वास्थ्य पूर्वाधार र स्वास्थ्यकर्मी दुवैको कमी छ । त्यसमाथि पनि स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अस्पताल नै बन्द हुन थालेका हुन् । बारम्बार अस्पतालका सेवा बन्द हुँदा अन्य बिरामी समेत मर्कामा पर्ने गरेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले स्वास्थ्यकर्मीको अभाव भइरहेको बेला भएका स्वास्थ्यकर्मी समेत संंक्रमित हुँदा सेवा प्रवाहमा चुनौती थपिएकोे बताइन् ।

संक्रमित देखिन बित्तिकै पूरै अस्पतालको सेवामै असर पर्ने गरी अस्पताल सिल गर्नु उपयुक्त नभएको स्वास्थ्य क्षेत्रकै जानकारहरू बताउँछन् । योभन्दा पहिला संक्रमण फैलिने रोग लागेका बिरामीलाई छुट्टै राखेर उपचार गर्दै आएका अस्पतालहरूले कोरोनाका बिरामी देखिन बित्तिकै अस्पताल सिल गर्ने प्रवृत्ति राम्रो नभएको उनीहरूले औंल्याएका छन् । अस्पताल नै सिल गरिँदा स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेको सन्देश जाने र समुदायमा थप त्रास फैलने उनीहरूको तर्क छ ।

उता सामाजिक विकास मन्त्री दल रावलले कोरोना संक्रमित देखिदंैमा अस्पताल नै सिल गर्नेबारे कुनै कार्यविधि नबनाइएको र निर्देशन पनि नदिइएको बताए । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि संक्रमण अरुमा नफैलियोस् भनेर अरु सेवा पनि बन्द गरेको हुन सक्ने भन्दै उनले अस्पतालहरूको बचाउँ गरे ।

प्रकाशित मितिः   १३ असार २०७७, शनिबार ०६:०८