मृत्युको कारण आत्महत्या कि कोरोना ?
भारतबाट फर्किएकी सिम्ता गाउँपालिका–८ सुर्खेतकी २५ वर्षीया महिलाले आत्महत्या गरिन् । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भयो । जेठ ३० गते घरबाट हराएकी उनी असार १ गते मृत भेटिएकी थिइन् । श्रीमानसँगै भारतबाट जेठ १२ गते आएकी उनी १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर गएकी थिइन् । आरडीटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको थियो । ती युवतीको शव पोष्टमाटम गर्न मेहेलकुना अस्पताल पु¥याइयो । क्वारेन्टाइनमा बसेर घर गएका कारण स्वास्थ्यकर्मीले उनको स्वाब परीक्षण गरे । रिपोर्ट पोजेटिभ आयो ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाले उनलाई पनि कोरोनाकै कारण मृत्यु हुनेको सूचीमा राख्यो । स्वास्थ्य सेवा महाशाखाका अनुसार ती युवतीसहित कर्णाली प्रदेशमा मंगलवारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तर, आत्महत्या गरेकाले कोरोनाकै कारण मृत्यु भएको भन्न नसकिने चिकित्सकहरुकै भनाइ छ । यद्यपि मृत्तकमा कोरोना संक्रमण भएकाले कोरोनाकै कारण मृत्यु भएको भनेर सरकारी तथ्याङ्कमा उल्लेख गरी सकिएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले आत्महत्या गरेको व्यक्तिको कोरोनाका कारण नै मृत्यु भयो भनेर भन्न नसकिने बताए ।
शव पोष्टमार्टम गर्ने बेलामा क्वारेन्टाइनमा बसेको थाहा पाएपछि सबैलाई सुरक्षित गराउनका लागि कोरोना परीक्षण गरिएको उनले बताए । डा. खड्काको तर्क छ, ‘घरायसी झगडा अथवा केही कारणले आत्महत्या गरेको पनि हुन सक्छ । पोष्टमार्टम गर्दा स्वास्थ्यकर्मीदेखि अन्य व्यक्ति पनि सुरक्षित हुनका लागि परीक्षण गर्ने हो । तर, यसरी कोरोनाकै कारण मृत्यु भएको भन्न नमिल्नुपर्ने हो ।’ उनले थपे, ‘कोरोना भएको थाहा पाएर आत्महत्या गरेको भए छु्ट्टै हुन्थ्यो तर आत्महत्या भएपछि कोरोना देखिएको छ ।’
प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जुनसुकै कारणले मृत्यु भए पनि कोरोना संक्रमण भएको पाइए कोरोनाबाटै मृत्यु भएको सूचीमा राखिने र त्यही अनुसार गणना गर्न मिल्ने बताए । ‘आत्महत्या गरेको भए पनि उनी संक्रमित भएकाले डब्लुएचओको गाइडलाइन अनुसार नै कोरोनाबाट मृत्यु हुनेको संख्यामा गणना गरेको हो,’ उनले भने ।
प्रकाशित मितिः १० असार २०७७, बुधबार १२:३५
साझा बिसौनी ।