समुदायमा फैलियो कोरोना
डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, न त भारतबाट फर्किएका व्यक्तिहरूको सम्पर्कमा नै गएका थिए । केही दिनअघि मात्रै कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका दैलेखका तीन जनामा कोरोना संक्रमण देखियो । उनीहरू पनि भारतबाट फर्किएका नभइ समुदायमै बसिरहेकाहरू थिए ।
अन्य रोगको उपचार गर्न आएकालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उपचारमा खटिएका ५० जना स्वास्थ्यकर्मीको पनि स्वाब परीक्षण गरियो । संक्रमण सरेको हुनसक्ने आंशकामा परीक्षण गर्दा त्यसमध्ये पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आयो । उनीहरूमा पनि कोरोना संक्रमण पुष्टि भयो ।
गएको आइतवार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना संक्रमण देखियो । उनलाई पेट दुख्यो भनेर अस्पताल ल्याइएको हो । एपेन्डिसाइडको अप्रेसन भयो । उनका बुवा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बुवाआमाको पनि कोरोना परीक्षण ग¥यो । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले उनीहरू तीनै जनामा कोरोना संक्रमण देखिएको बताए । ‘बालकका बुवा १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर जानु भएको रहेछ । उहाँकै कारण आमा र छोरामा संक्रमण भएको पाइयो,’ उनले भने, ‘यसरी समुदायमा कोरोना संक्रमण फैलिँदै छ ।’
कर्णालीमा अधिकांश भारतबाट आएर क्वारेन्टाइन बसेका व्यक्तिहरूमा कोरोना संक्रमण देखिने गरे पनि समुदायस्तरमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा समुदायका २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छोडिएको छ । केही दिन पहिलेसम्म क्वारेन्टाइनमा मात्रै सीमित कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ । अव्यवस्थित क्वारेन्टाइन, पोजेटिभ रिपोर्ट देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणविनै घर पठाइनुजस्ता कारणले संक्रमण समुदायमा गएको चिकित्सकहरूले बताएका छन् ।
डा. पौडेलले अन्य बिरामीमा पनि कोरोना संक्रमण देखिन थालेपछि उपचारमा समेत समस्या आएको बताए । क्वारेन्टाइनबाट फैलिएको कोरोना भाइरस समुदायमा पनि गएकाले थप जोखिम निम्तिएको उनको भनाइ छ । ‘अहिले समुदायमा संक्रमण सुरुवाती चरणमा छ । कसैलाई पनि लक्षण देखिएको छैन,’ उनले भने, ‘पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।’
क्वारेन्टाइन व्यवस्थित नहुँदा भाइरस संक्रमणको जोखिम उच्च छ । क्वारेन्टाइनमा बसेकालाई रिपोर्ट नआउँदै घर पठाउन थालिएको छ । यसले गर्दा पनि समुदायमा संक्रमण फैलिने जोखिम बढेको हो । कर्णालीमा अहिलेसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । संक्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने देखिएको छ ।
पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका दैलेखको नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो । घर गएको ४–५ दिनपछि मात्रै उनीहरूमा संक्रमण पुष्टि भएको थियो । उनीहरूको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको भने परीक्षण गरिएन । बरु घरबाट फर्किएर आइसोलेसनमा बसिरहेका उनीहरूलाई परीक्षणविनै घर पठाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले केही दिन पहिले संकलन गरिएको विवरणमा क्वारेन्टाइनभन्दा बाहिरका १२ जना व्यक्तिमा कोरोना पुष्टि भएको जानकारी दिए । उनीहरूको सम्पर्कमा गएका व्यक्तिको स्वाब परीक्षण गर्ने हो भने संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार लक्षण नदेखिएको अवस्थामा समुदायमा बसेका व्यक्तिको कोरोना परीक्षण भने गर्ने गरिएको छैन ।
त्यस्तै, कर्णाली प्रदेशमा कार्यरत पाँच जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जुम्लामा चार र जाजरकोटमा एक जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो । प्रहरी स्रोतका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।
प्रदेशमा सोमवारसम्म एक हजार दुई सय ८२ जनालाई संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ भने पाँच सय ५१ जना संक्रमणमुक्त भएका छन् । झण्डै १५ हजारमा पीसीआर र ३० हजारको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक टे«सिङ’ गर्ने काम भइरहेको बताए । उनका अनुसार हालसम्म समुदायमा संक्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण छन् । कर्णालीमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा त्रास छाएको छ ।
प्रकाशित मितिः ९ असार २०७७, मंगलवार ०६:०५
साझा बिसौनी ।