वैकल्पिक सिकाइ कर्णालीमा कति प्रभावकारी ?

सरकारले कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर वैकल्पिक माध्यमबाट पढाइ सुरु गरेको छ । झण्डै तीन महिनादेखि मुलुकभरका सबै शैक्षिक संस्था बन्द छन् । गत चैत ११ गदेखि मुलुकव्यापी लकडाउनका कारण पठनपाठन ठप्प छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय सञ्चालन नगरेर वैकल्पिक माध्यमबाट पढाइ सुरु गरेको हो ।

नियमित विद्यालय जान नसकेका विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउन नदिन गत सोमवारदेखि सुरु गरिएको वैकल्पिक सिकाइ प्रभावकारी भने नहुने देखिएको छ । तत्कालका लागि चार वटा तरिकाबाट विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी असार १५ गतेसम्मको तालिका समेत सार्वजनिक गरिएको छ ।

वैकल्पिक तरिकामध्ये कक्षा नौ र दशका विद्यार्थीलाई रेडियो नेपालबाट पढाउन थालिएको छ । यी विद्यार्थीको अनिवार्य ६ वटा विषय मात्र रेडियोबाट पढाइन्छ । त्यस्तै कक्षा १ देखि ८ सम्मका विद्यार्थीको पढाइ नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट सुरु गरिएको छ । कक्षा नौ र दशका विद्यार्थीलाई नेट टीभी तथा म्याक्स टीभीबाट पनि पढाइ हुन्छ ।

इन्टरनेट, रेडियो नेपाल, एनटीभी, डिस होमलगायतका माध्यमबाट पढाइ सुरु गरिए पनि यसले सबै विद्यार्थीलाई समेट्न सकेको छैन । इन्टरनेट, रेडियो र टेलिभिजनको पहुँचभन्दा बाहिर रहेका अधिकांश विद्यार्थीले वैकल्पिक सिकाइमा सहभागी हुन नपाएका हुन् । ग्रामीण भेकका विद्यार्थी रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँचमा छैनन् । सबै विद्यार्थीले पाठ्यपुस्तक समेत पाएका छैनन् । पाठ्यपुस्तकविना रेडियो र टेलिभिजनबाट समेत पढ्न कठिन छ ।

सुर्खेतको अमरज्योति नमुना माध्यमिक विद्यालयक प्रधानाध्यापक खगेन्द्र थापाले प्रदेश राजधानी वीरेन्द्रनगरकै विद्यार्थी पनि रेडियो र टेलिभिजनको पहुँच बाहिर रहेको बताए । उनले आफ्नो विद्यालयका २० प्रतिशत विद्यार्थीको घरमा टीभी र रेडियोको पहुँच नभएको भन्दै वैकल्पिक सिकाइ प्रभावकारी हुनेमा शंका व्यक्त गरे ।

कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशमा तीन हजार ३८ सामुदायिक विद्यालय र एक सय ४९ संस्थागत विद्यालय छन् । निर्देशनालयले दिएको जानकारी अनुसार कक्षा १ देखि ५ सम्म तीन लाख ११ हजार दुई सय ३१, कक्षा ६ देखि ८ सम्म एक लाख ४४ हजार तीन सय २१ र कक्षा नौदेखि १२ सम्म एक लाख २६ हजार ६ सय ६४ विद्यार्थी छन् । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यीमध्ये झण्डै ६० प्रतिशत विद्यार्थी सरकारले अपनाएको वैकल्पिक सिकाइ माध्यमको पहुँच बाहिर छन् ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई नेपाल टेलिभिजन र डीस होमबाट पढाउने भनिएको छ । बराहताल गाउँपालिका–२ की यामकुमारी नेपालीले टेलिभिजन घरमा नभएकाले छोराछोरीले पढ्न नपाएको सुनाइन् । उनका दुई छोरी कक्षा एक र चार अनि एक छोरा सातमा पढ्छन् । घरमा नेटको सुविधा समेत छैन । उनले बरु गाउँकै अरु विद्यार्थीसँग पुराना किताब मागेर छोराछोरीलाई पढाउने गरेको बताइन् । ‘गाउँमा कसै–कसैको घरमा मात्रै टीभी छ । कोरोनाको त्रासले अरुको घरमा जानु पनि छैन । आफ्नो घरमा टीभी छैन,’ उनले भनिन्, ‘सरकारले इन्टरनेट र टीभी भएका ठाउँमा मात्रै पढाउन थालेको होला ।’

अधिकांश विद्यार्थी र अभिभावकलाई पढाइको तालिकाको बारेमा समेत थाहा छैन । बिहान सात बजेदेखि बेलुका सात बजेसम्म पढाइ हुने गरी तालिका निर्धारण गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफैले पनि शैक्षिक सामग्री तयार गरेर आफ्नो वेभसाइट तथा यूट्युब च्यानलमा पनि अपलोड गरेको छ । यो सामग्रीको प्रयोग गरेर पढ्न चाहने विद्यार्थीलाई तेस्रो विकल्प प्रयोगकर्ताको रूपमा वर्गीकरण गरिएको छ । यी तीन वटै माध्यमको पहुँच बाहिर रहेका विद्यार्थीलाई केन्द्रले तयार पारेको शैक्षिक सामग्री छापेर सम्बन्धित विद्यालयले वितरण गर्ने भनिएको छ । यसबाहेक स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोसँग सहकार्य गरेर सिकाइ क्रियाकलापलाई अघि बढाइने सरकारको तयारी छ ।

भेरी मावि रानीघाटका प्रधानाध्यापक रत्न बुढाले रेडियो र टेलिभिजनको पहुँच नभएकाले पढाउन नसकिएको गुनासोे अभिभावकबाट आउन थालेको बताए । सरकारले वैकल्पिक माध्यमलाई प्रभावकारी गराउन विद्यार्थीहरूको नियमित अनुगमनका लागि शिक्षक तथा स्वयंसेवक परिचालन गर्नुपर्ने औल्याए ।

भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद लम्सालले रेडियो र टेलिभिजनको पहुँचमा विद्यार्थी नभएकाले खासै प्रभावकारी हुन नसकेको बताए । ‘भेरीगंगाका बढीमा १५ प्रतिशत विद्यार्थी मात्रै इन्टरनेट, रेडियो र टेलिभिजनको पहुँचमा रहेको उनले जानकारी दिए । ‘कर्णाली प्रदेशको प्रायः सबै विद्यार्थीको अवस्था यस्तै हो,’ उनले भने, ‘भद्रगोल समय तालिकाले पनि विद्यार्थी अलमलमा छन् ।’ उनले रेडियो टेलिभिजन अथवा इन्टरनेटबाट विद्यार्थीहरूले पढेकी पढेनन् भनेर अनुगमन तथा सहजीकरण गर्न आवश्यक रहेको उल्लेख गरे ।

भेरीगंगामा स्थानीय एफएम रेडियोबाट पढाउने गरी तयारी थालिएको उनले जानकारी दिए । शिक्षा विकास समन्वय इकाई सुर्खेतका प्रमुख नारायण पौडेलले पहिलो अभ्यास भएकाले पनि प्रभावकारी भएनन् भनेर नकारात्मक टिप्पणी गर्न नमिल्ने बताए । उनले रेडियो टेलिभिजनबाट पढाउँदा सानो कक्षाका विद्यार्थीहरूमा समस्या आएको उल्लेख गरे । ठूलो कक्षाका विद्यार्थीहरूको ध्यान केन्द्रित हुने भएकोले रेडियो टीभीबाट पढाइ गर्दा पनि केही राहत हुने बताए । पौडेल भन्छन्, ‘यो अभ्यास पहिलो पटक भएकाले र सबैको पहुँचमा नहुँदा समस्या आउनु स्वभाविक हो ।’ वैकल्पिक सिकाइ तत्कालको एउटा समाधान भएको र यसको पहुँच र प्रभावबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   ५ असार २०७७, शुक्रबार ०६:०६