क्वारेन्टाइनमा काउन्सिलिङ, आइसोलेसनमा योगा

 दैलेखको दुल्लूस्थित आइसोलेसनमा भएका कोरोना संक्रमितलाई योगा गराइँदै ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन जोखिममा रहेका व्यक्तिहरूलाई राख्न बनाइएका क्वारेन्टाइन व्यवस्थित छैनन् । जहाँ हजारौं मान्छे अत्यास लाग्दो दैनिकी काटिरहेका छन् । त्यहाँ बस्दा सुरक्षित भइन्छ भन्ने उनीहरूलाई लागेको छैन । क्वारेन्टाइन बस्दा आफू मात्रै होइन समाज नै सुरक्षित हुने उनीहरूलाई बुझाउन सकिएको छैन ।

मनोचिकित्सकहरूका अनुसार क्वारेन्टाइन बसेकाहरूमा कोरोना संक्रमणको त्रासले चिन्ता लाग्ने, भोक र निद्रा नलाग्ने, बेचैनी र उदासिनताजस्ता मनोसामाजिक समस्या देखिएका छन् । क्वारेन्टाइनबाट भाग्ने, आन्दोलित हुने र स्थानीय जनप्रतिनिधिमाथि हातपातमा उत्रिने घटनाहरू देखिन थालेका छन् ।

कर्णालीमा हाल भारत तथा देशभित्रकै अन्य स्थानबाट प्रदेश फर्किएका ३० हजार हाराहारीको संख्यामा नागरिकहरू क्वारेन्टाइनमा छन् । बिहीवारसम्म सात सय जना आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइन र आइसोलेसनको स्थानीय तहहरूले आफ्नो गक्षअनुसार व्यवस्थापन गरेका छन् । क्वारेन्टाइन मात्रै होइन आइसोलेसन समेत नाम मात्रका छन् । जहाँ सामान्य मापदण्ड पनि पूरा गरिएको छैन । क्वारेन्टाइनहरू मापदण्डअनुसार त परको कुरा सामान्य ओड्ने ओछ्याउने र दुई छाक खानेसम्मको व्यवस्थापन छैन ।

थुप्रै अभाव र अव्यवस्थाकाबीच क्वारेन्टाइनहरूमा केही स्थानीय तह र सामाजिक संघ–संस्थाले मनोविमर्श सेवा दिन थालेका छन् । कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका अधिकांश व्यक्तिको तनाव कम गर्न मनोसामाजिक परामर्श दिन थालिएको हो ।

परिवारको गर्जो टार्ने ध्याउन्नमा धन कमाउन भारत गएका कर्णालीका नागरिकले यो पटक खाली हात फर्कनु पर्यो‍ । बेरोजगारीले देश छाडेर परदेश गएकालाई कोरोना त्रासले लखटेर गाउँमै फर्काइदियो । कोरोना विपद्ले लखटिएका उनीहरूलाई घर फर्कन पनि ठूलै सास्ती खेप्नु पर्यो‍ । धन कमाउन गएकालाई आफ्नै ज्यान जोगाउन मुस्किल भइदियो । कर्णालीका झण्डै ६० प्रतिशत नागरिक भारतको मजदुरीको भरमा जीविकोपार्जन गर्छन् ।

यसपाली भारत पुग्न बित्तिकै कोरोना भाइरस संक्रमणको त्रास फैलियो । त्यहाँको सरकारले देश लकडाउन ग¥यो । सबै क्षेत्र बन्द भए । स्वदेश फर्के यातायात बन्द उतै बसौं के खानु, कहाँ बस्नु ? कामको खोजीमा परदेश गएकाहरूले कोरोनाले निम्त्याएको सकटसँगै शारीरिक र मानसिक दुबैखाले समस्यासँग जुध्नुप¥यो । भारत जाने गाडीभाडाका लागि गाउँमा ऋण काढेर गएका उनीहरू काम गर्नै नपाइ स्वदेश फर्कनुपर्ने बाध्यता आइलाग्यो ।

कैयैंन दिन भोको पेट र खुल्ला आकाशमा जसोतसो दिन/रात काटेका उनीहरू भारतले रेलसेवा सुचारु गरेपछि धमाधम स्वदेश फर्कन थाले । सीमा नाकासम्म आएका उनीहरूले देश पस्न ठूलै संघर्ष गरे । दुई हप्ता बढी सीमा नाकाका क्वारेन्टाइनमा कष्ट भोगेर बल्ल देश छिर्न पाए । मरे पनि आफ्नै भूमिका मरौला भनेर फर्किएका उनीहरूलाई विदेशभन्दा स्वदेशमा झनै कष्ट व्यहोर्नु पर्यो‍ ।

सरकारले भारतबाट फर्कनेको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय नागरिक हप्तौं दिन पैदल हिँडेर गाउँ पुगे । कतिले यात्राको कष्टले बीचबाटोमै ज्यान गुमाए । भारतबाट दैनिक सैयौं नागरिक फर्किने क्रम अहिले पनि जारी । तीनका लागि सरकारले भरपर्दो यातायातको व्यवस्था र सुरक्षित घर फर्कन स्वास्थ्य जाँचको प्रबन्ध गर्न सकेको छैन । उनीहरू टिप्पर र ट्याक्टरमा कोचिएर घर फर्कन बाध्य छन् । यसरी यात्रा गर्दा सडक दुर्घटनामा परी कतिको मृत्यु समेत भएको छ । कालीकोटमा बुधवार टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना अझै बेपत्ता छन् । भारतबाट आएका मानिसलाई टिप्परमा हालेर क्वारेन्टाइन लगिँदै थियो ।

सरकारी तथ्याङ्क अनुसार लकडाउनयता भारतबाट मात्रै ३५ हजार बढी नागरिक कर्णाली भित्रिएका छन् । कर्णालीका ८० हजार नागरिक भारतमा रहेको प्रदेश सरकारको अनुमान छ । अहिले पनि दैनिक सैयौं नागरिक प्रदेश भित्रिने क्रम जारी नै छ ।

यतिबेला भारतबाट फर्किरहेका, क्वारेन्टाइन बसिरहेका, आइसोलेसनमा रहेर कोरोना संक्रमणसँग जुधिरहेका र निको भएर घर फर्किएका तथा संक्रमणको उच्च जोखिममा रहेकाहरू कोरोना त्राससँगै अन्य थुप्रै मानसिक तनाव झेलिरहेका छन् । भारतबाट फर्किएकाहरूलाई घर नजिक पुगेर पनि घर जान नपाउनुको पीडा एकातिर छ भने अर्कोतिर बसिरहेका क्वारेन्टाइन व्यवस्थित नहुँदा त्यहीं संक्रमण फैलने खतरा छ ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र बहुसांस्कृतिक मनोसामाजिक संस्था ‐टीपीओ) नेपालले क्वारेन्टाइन बसेकाहरूलाई पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोसामाजिक परामर्शकर्ताद्वारा कक्षा सञ्चालन गरेको छ । प्रतिष्ठानका मनोचिकित्सक डा. प्रविण गिरीको संयोजकत्वको टोलीले क्वारेन्टाइनमा मनोसामाजिक परामर्श दिन थालेको हो । बाहिरबाट आएका व्यक्तिहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्दा मानसिक समस्यामा भएका कारण उनीहरूलाई काउन्सिलिङ गर्न थालिएको टीपीओ नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए । उनका अनुसार चन्दननाथ नगरपालिका–१ देखि १० वडासम्म क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन सुरु गरिएको छ । चन्दननाथ–१ देखि १० मा निर्माण गरिएको क्वारेन्टाइनमा ८३ पुरुष र १५ महिला गरी ९८ व्यक्ति बसेका छन् । उनीहरू नेपालका विभिन्न सहर तथा भारतबाट आएका हुन् ।

यस्तै, सुर्खेतको सिम्ता गाउँपालिकाले पनि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई मनोविमर्श कक्षा सञ्चालन गरिसकेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले ४५ स्थानमा रहेका झण्डै दुई हजार चार सय जनालाई टिपियो नेपालको सहकार्यमा काउन्सिलिङ गरिएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूमा तनाव र आक्रोश देखिने गरेकाले मनोविमर्शका कक्षाहरू सञ्चालन गरिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमितहरूको उपचारका लागि तयार पारिएको आइसोलेसन कक्षमा रहेकाहरूलाई समेत निराशा हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले योगा तथा काउन्सिलिङका कक्षाहरू सञ्चालन गरिँदै आएको छ ।

दैलेखको दूल्लू नगरपालिकाले पनि आइसोलेसनमा उपचारत कोराना संक्रमितलाई योगा गराउने र काउन्सिलिङ गर्ने गरिहेको छ । नगरपालिका र आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्शसहितको योगा गराउने गरिएको हो । योगा र काउन्सिलिङले रोगसँग लड्ने क्षमता बढाउनुका साथै मानसिक तनावबाट मुक्त गराउने भएकाले क्वारेन्टाइन तथा आइसोलेसनमा रहेकाहरूलाई मनोविमर्श, आयुर्वेदिक औषधि र योगाको प्रयोग गर्न थालिएको नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७७, शुक्रबार ०६:०१