मादलवादनका पर्यायवाची

प्रेमदेव गिरी, जसको नाम नै काफी छ । नेपाली लोककला र सङ्गीतको कुरा गर्दा नछुट्ने नाम हो, प्रेमदेव गिरी । उनको जीवनी नियाल्दो यस्तो लाग्छ, गिरीको जन्म नै लोकसंस्कृतिका लागि भएको हो । होइन भने आफ्नो सिङ्गो जिन्दगी नै लोकसंस्कृति र सङ्गीतका लागि सुम्पिने थोरै मान्छे हुन्छन्, जसभित्र उनी निर्विवाद पर्दछन् ।
वि.सं. २०१० सालमा सुर्खेतको हिलेखालीमा जन्मिएका प्रेमदेव गिरी १४ वर्षको कलिलो उमेरदेखि नै निरन्तर रङ्गमञ्चमा लागिरहेका छन् । विशेष गरी मादलवादन, लोकगीत सङ्कलन एवम् नाट्यकर्मीको हैसियतमा राष्ट्रकै गहनाको रूपमा परिचित छन् उनी । कला क्षेत्रमा आधादर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित गिरी रसिया, भारत, हङकङ, संयुक्त अधिराज्य लगायत नेपालका प्रायः सबै जिल्ला पुगेका छन् । सानै उमेरदेखि कलायात्राको चिनारी गराउनु आफ्नो प्रमुख कर्तव्य ठान्ने गिरीले करिब एक सय ५० भन्दा बढी लोकगीतहरू रेकर्डिङ्ग गराइसकेका छन् । गिरी कला क्षेत्रमा समर्पित रही निरन्तर निःस्वार्थ कलाकारिता गर्दै आएका छन् । झण्डै २०३० को दशकदेखि २०५० को दशकसम्म मादलवादनमा राष्ट्रमै वर्चश्व कायम गरी ख्याती कमाएका मादलवादनका पर्यायवाचीका रूपमा परिचित छन् । 
गिरीकै कारण झ्याउरे, सिंगारु र ख्याली नृत्यका माध्यमबाट सुर्खेतको राष्ट्रिय पहिचान बनेको छ । आफ्नै लोक परिवेशका, मेला, पर्व, पूजाआजा पर्व विशेषका सांस्कृतिक पक्षका लोकसङ्गीतसँग सानै उमेरदेखि प्रभावित हुन्थे । उनलाई त्यसले छुन्थ्यो । कलाकारिता गिरीको सबैभन्दा ठूलो रुचि थियो । रङ्गमञ्चमा विधिवत रूपमा भने २०२४ सालदेखि प्रवेश गरेका हुन् । पहिलो पटक उनले अभिनय, नृत्य र वाद्यवादनको रूपमा मञ्च टेके । त्यसपछि उनको रङ्गमञ्चको यात्रा हालसम्म निरन्तर चलिरहेको छ । ७२ वर्षीय गिरी अहिले पनि उत्तिकै फूर्तिला छन् । रङ्गमञ्च भनेपछि हुरुक्कै हुन्छन् । प्रस्तुतीका लागि जहाँ पनि पुग्छन् । सुर्खेतमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रम उनी विना खल्लो हुने गर्दछ । यो यात्रामा उनले थुप्रै दुःख र सुखसँग साक्षात्कार गरेका छन् । ‘मैले मेरो भोगाइहरूलाई सम्झदा प्रत्येक ऋतु झै लाग्छ । यो यात्रामा हिँड्दाका दिन सम्झदा आफूलाई एउटा नदीले यात्रा गर्दा जसरी अविरल नदीको प्रवाह वर्षमा परिवर्तन भइरहन्छ मेरो दुःख–सुख पनि त्यस्तै छ ।’ उनले भने । उनले कलाकारिताकै क्रममा स्वरसम्राट नारायण गोपालसँग १२ वर्ष सहयात्रा गरे । तर उनीसँगै सहयात्रा गर्ने सुर्खेती कलाकारहरू सहकर्मीहरू झ्याउरे नृत्यकार टेकराज भारती, ख्याली नृत्यकार गोपाल बस्नेत, टप्पा नृत्यकार भरत शर्माहरू नहुनुको पीडा उनी पटक–पटक महसुस गर्छन् ।
गिरी कलाकारितालाई उन्नत समाजको सुन्दर पक्षको रूपमा परिभाषित गर्दछन् । ‘कला भन्नु मान्छेले बाचुञ्जेल भोग्ने गरेका तिता–मिठा अनुभवको अनुभूति पनि हो र स्वयम्मा रम्न र सुखी, खुशी रहने एउटा विधा पनि होे’ उनले भने । उनी कलाकारितालाई यति महŒव दिन्छन् कि कलासंस्कृतिविनाको देशको पहिचानपूर्ण नहुने उनको धारणा छ । ‘भाषा, भेष रहे देश रहन्छ, कला–संस्कृतिले हाम्रो पहिचान रहन्छ, त्यसैले भाषा, भेष, भेक, देश सुहाउँदो संस्कृति र कलाको विकास होस्, आफ्नो पहिचान नगुमोस् । भेषै रहेन, भाषा रहेन, भेकै रहने भने देश कहाँ, त्यसैले आफ्नो मौलिकतामा रम्न र यसको संरक्षण–सम्वद्र्धन गर्न सबैले पहल गरौं’ उनी भन्छन् ।
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०५:५१