खाद्यान्न जोहो
कर्णाली खाद्यान्नमा आत्मनिर्भर छैन । प्रदेशभित्र पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । वर्षेनी ठूलो परिमाणमा खाद्यान्न आपूर्ति हुने गरेको छ । खाद्यान्न मात्रै होइन तरकारी र फलफूल पनि आयात हुन्छ । त्यसो त कर्णालीका आम नागरिक अधिकतर कृषिमै निर्भर छन् । तर यहाँको कृषि निर्वाहमुखी छ । वर्षमा दुई बाली लगाउँदा पनि वर्षभरी पुग्ने उत्पादन हुँदैन । जसले गर्दा आपूर्ति अनिवार्य छ ।
उत्पादन नहुँदा खाद्यान्न अभाव भइरहन्छ । रोजगारीका पर्याप्त अवसर छैनन् । गरिबीदर उच्च छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्यांकमा कर्णाली सबैभन्दा गरीब प्रदेशका रूपमा देखिएको छ । यहाँका आधाभन्दा धेरै अर्थात् ५१ प्रतिशत मानिस गरीब भेटिएका छन् । मुलुकको कूल गरिबी दरभन्दा दोब्बरकै हाराहारीमा कर्णालीको गरिबी रहेको छ । नेपालको कूल गरिबीदर २८.६ प्रतिशत छ । भौगोलिक विकटता, परनिर्भरता, अशिक्षा, इन्धन, विद्युत अभाव, जनचेतनाको कमी, बालमृत्युदर, कुपोषण र खानेपानी तथा सरसफाइको अभाव यो प्रदेश सबैभन्दा गरीब हुनुका प्रमुख कारण हुन् । पोषण र उपचारको अभावमा अकालमा बालबालिकाले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य सेवाको अवस्था अत्यन्त नाजुक छ । यी अनेक समस्याका बाबजुद सबैभन्दा ठूलो समस्या खाद्यान्नकै हो । खाद्य असुरक्षा हरेकजसो जिल्लामा छ । स्थानीय उत्पादनले नधानेर आपूर्ति गर्नुपर्ने अवस्थाले गाँजेको छ ।
कर्णाली भौगोलिक रूपमा विकट मानिने विविधतायुक्त क्षेत्र हो । हावापानीमा विविधता छ । यसको अर्थ यहाँ विभिन्न किसिमका वस्तुहरूको खेती र उत्पादन गर्न सकिन्छ । तर यो सम्भावनाको सदुपयोग हुन सकिरहेको छैन । स्याउ, सुन्तला, सीमी, आलु लगायत केही सीमित फलफूल र तरकारीबाहेक अन्य उत्पादनमा ध्यान दिइएको छैन । यहींकै माटो वा हावापानी सुहाउँदो उत्पादनमा जोड दिने कार्यक्रम र योजना न सरकारले ल्याएको छ नागरिकले आफै अवलम्बन गर्न सकेका छन् । त्यसैले खाद्यान्नमा परनिर्भर हुनु परेको छ । बाह्य जिल्लाबाट आउने चामल र दालमा भर पर्नु परेको छ । यो पक्कै सुखद पक्ष होइन । प्रदेशलाई नै आत्मनिर्भर बनाउन सकिने सम्भावना नभएको पनि होइन । तर सोही अनुसारको योजना नभएको भने पक्का हो ।
अहिले कोरोनाको महामारी छ । देश लकडाउनमा छ । यसले धेरै क्षेत्र प्रभावित भएको छ । व्यापार व्यवसाय मात्र नभएर कृषि क्षेत्र पनि कुनै न कुनै रूपमा प्रभावित हुन पुगेको छ । जसले गर्दा विगतमा हुँदै आएको उत्पादनमा पनि कमी आउने निश्चित छ । यसले भविष्यमा खाद्यान्न संकटको जोखिम अझ भयावह हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । त्यसैले अहिलेदेखि नै यसतर्फ सचेत भएर पूर्वतयारी गरिएन भने कोरोना महामारीको त्रासकैबीच प्रदेशले भोकमरीको अर्को विपद् खेप्नुपर्ने अवस्था नआउला भन्न सकिन्छ । यसकारण पनि प्रदेश तथा स्थानीय सरकारले समयमै आवश्यक खाद्यान्न जोहो गर्न योजनामा केन्द्रित हुन अपरिहार्य छ ।
प्रकाशित मितिः २२ जेष्ठ २०७७, बिहीबार ०६:३०
साझा बिसौनी ।