गायनदेखि नाटकसम्म
वि.सं. २०४८ सालदेखि रङ्गमञ्चमा प्रवेश गरेकी डम्मर आचार्य पेसाले रेडियोकर्मी हुन् । उनी बाल्यकालदेखि नै गीत गाउनमा रुचि राख्थिन् । गीत गाउने क्रममा नै उनको रङ्गमञ्चको यात्रा सुरु भएको थियो । उनले भनिन्, ‘नाटक के हो र कस्तो हुन्छ, अरुको मुखको शब्दमा कल्पना गर्ने गर्थें तर सुर्खेत शिक्षा क्याम्पसबाट बालकृष्ण समको नाटकमा अभिनय गरेपछि नाटकको प्रत्यक्ष अनुभूति भयो ।’ पहिलो नाटकले नै उनलाई नाटक खेल्न सक्छु भन्ने आत्मबल बढायो र उनी रङ्गमञ्चमा रमाउन थालिन् ।
उनको पहिलो नाटकमा उनले आधुनिक पाराकी छोरीको भूमिका निर्वाह गरेकी थिइन् । उनले नाटक खेल्ने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढिन् । उनले थपिन्, ‘म सानैदेखि गीत गाउने भएकाले पनि समय समयमा बाहिर गइरहन्थें, घरपरिवारबाट मलाई बुबाले सहयोग गर्नुहुन्थ्यो । दाइलाई भने म बाहिर गएको मन पर्थेन । तर, पनि मैले आफ्नो कला देखाउनै पर्छ भनेर आफ्नो क्षमता र कलालाई लुकाइनँ ।’ विवाह भन्दा पहिलानै कलाकारिता क्षेत्रमा लागेकी आचार्य विवाहपछि पनि आफ्नो कला प्रस्तुत गर्न पछि हटिनन् । उनी जे निर्णय पनि आफ्नो मनबाट लिने भएकाले श्रीमान्लाई नसोधेरै नाटकमा अभिनय गर्ने गर्थिन् । उनले भनिन्, ‘म विवाहपछि पनि धेरै नाटकहरू खेलँे यसमा श्रीमान्लाई सोध्नै पर्छ भन्ने पनि छैन, पहिलेदेखि नै कलाकारिता क्षेत्रमा लागेको हुँदा मैले यो पेसा छोड्न सकिन ।’ नाटक देखाउन हिँड्दा उनले थुप्रै कष्ट पनि बेहोरेकी छिन् । ‘गाइनेवादी आए’ भन्दै होच्याइन्थ्यो । ‘त्यतिबेला हाम्रो समाजमा कलाकारलाई राम्रो दृष्टिकोणले हेरिदैनथ्यो तर, पनि हामी आफ्नो कामप्रति कहिल्यै विचलित भएनौं’ उनले भनिन् ।
उनी बाल्यकालदेखि नै जिद्दी स्वभावकी थिइन् । त्यसैले पनि उनलाई दाइको रोकावटले खासै असर परेन । उनी भन्छिन्, ‘बुवाको सहयोगले गर्दा पनि मलाई कलाकारिता क्षेत्रमा लाग्न सहज भयो ।’ उनले सडक नाटक, रेडियो नाटक र टेलिफिल्म गरी थुप्रै नाटकहरूमा अभिनय गरिसकेकी छिन् । उनले नाटकमा कहिले छोरी, कहिले आमा त कहिले सासु अनि बुहारी र श्रीमतीको भूमिका निर्वाह गरिन् । उनी रेडियो नेपालमा नाटक, गीत रेकर्ड गर्न गइरहँदा उनले २०५१ सालमा रेडियो नेपालमा नै जागिर पाइन् । हालसम्म रेडियो नेपालमा नै कार्यरत छिन् । उनले चारवटा स्जेट नाटक, १० वटा रेडियो नाटक र दुई वटा टेलिफिल्ममा अभिनय गरिसकेकी छिन् । स्टेजमा नाटक देखाउँदा र टेलिफिल्ममा नाटक गर्दा हाउभाउँसहित अभिनय गर्नुपर्ने र रेडियोमा नाटकले दिन खोजेको सन्देशलाई आवाजका माध्यमबाट कसरी राम्रो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्ने फरक रहेको उनको भनाइ थियो । उनले डाक्टरसिंह गुरुङ्गको निर्देशन र दिपक आलोकको टेलिफिल्म ‘सनइ रोइरहेछ’ टेलिफिल्ममा अभिनय गरिन् । त्यसमा उनले ७० वर्षको सासुको भूमिका निर्वाह गरिन् । जहाँ समाजमा सासुले बुहारीलाई दुःख दिने भूमिका उनको थियो । त्यस्तै ‘बस्ती मलाई खोजीरहेछ’ टेलिफिल्ममा उनले अभिनय गरिन् । रेडियो नाटकमा भने उनी प्रायः मुख्य पात्रका रूपमा अभिनय गर्ने गर्थिन् । उनी भन्छिन्, ‘म रेडियो नाटकमा धेरैजसो मुख्य भूमिकामा खेल्ने गर्थें ।’
‘फूल नफुल्दै ओइलाउँछ’, ‘गर्भभित्रको पीडा’ गरी १० वटा रेडियो नाटकमा अभिनय गरिसकेको उनको भनाइ छ । यतिमात्र होइन उनी सुर्खेतबाट नै हेटौडा महोत्सवमा स्टेज नाटक ‘दागबत्ती’ देखाउन गइन् । जुन नाटकलाई दर्शनले धेरै मन पराएका थिए । उनी एउटा रङ्गमञ्चकर्मी भएका कारण उनी नाटकलाई एउटा समाजको ऐना भन्ने गर्छिन् । समाजमा भए गरेका घटनालाई नाटकमार्फत् आफू त्यसको एउटा पात्रको रूपमा प्रस्तुत हुन पाउँदा उनलाई साह्रै खुशी लाग्ने गर्छ । उनी भन्छिन्, ‘कलाकारलाई सबैले सम्मान गर्नुपर्छ, कलाकार भनेका देशका गहना हुन् त्यसैले कलाकारलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण बदल्नु जरुरी साथै नाटक दिवसको सबैलाई शुभकामना ।’
प्रकाशित मितिः १४ चैत्र २०७२, आईतवार ०५:५१
साझा बिसौनी संवाददाता ।