नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

 

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाबाट जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका प्रश्न एवं जिज्ञाशाहरुको मंगलवार प्रदेश सभाको वैठकमा जवाफ दिदै मुख्यमन्त्री शाहीले नागरिकलाई रोग र भोकबाट जोगाउनु सरकारको दायित्व भएको बताए ।

मुख्यमन्त्री शाहीले कोरोना नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाईन व्यवस्थित गर्ने र संक्रमणलाई समुदायमा फैलन नदिएर नियन्त्रणमा राख्ने नीति लिईएको जनाए । संक्रमण रोकथामका लागि आरडीटी र पीसीआर परिक्षणको दायरा वृद्धि गर्ने र प्रदेशमा आरटी–पीसीआर प्रयोगशाला थपेर तीन स्थानबाट परिक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।

कोरोना महामारीसँगै उत्पन्न समस्यामध्ये कर्णालीमा भोकमरीको समस्या पनि प्रमुख समस्याका रुपमा रहेकोले भोकमरीबाट जोगाउन आगामी आवमा खाद्य सुरक्षा, खाद्य आपूर्ति र उत्पादन वृद्धिमा जोड दिईने शाहीले बताए । उनले चालु आर्थिक वर्षमै २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ, ३ हजार क्वीन्टल दाल खरिद गरी भण्डार गर्ने र खाद्य संकट हुने जिल्लामा पठाएर भोकमरी हुन नदिने निर्णय गरेको जानकारी दिए । खाद्यान्न, तरकारी, फलफुल रैथाने वस्तु उत्पादनलाई प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री शाहीले अन्नवाली, फलफुल, दुग्धजन्य र माशुजन्य उत्पादनको वृद्धि गरि कर्णालीलाई खाद्यान्नमा आत्मानिर्भर बनाउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

मुख्यमन्त्री शाहीले उत्पादनसँग रोजगारीलाई जोडेर आत्मनिर्भरता तर्फ अघि बढ्ने नीति ल्याएको बताउँदै स्थानीय तह र जनप्रतिनिधिहरुलाई सक्रिय रुपमा परिचालन गरि रोजगारमुलक कार्यक्रम संचालन गर्ने, त्यसवाट उत्पादन वृद्धि गर्ने, खाद्य संकट हुन नदिने र विकास निर्माणका काममा समेत मानवीय श्रमको प्रयोग गरि रोजगारि श्रृजना गरिने बताए । शाहीले कोरोना प्रभाव कायम रहेको अवस्थामा पठनपाठन प्रभावित हुनेतर्फ सरकारको ध्यान गएको भन्दै प्रविधिको प्रयोग मार्फत (भर्चुअल, अनलाईन, रेडियो, टीभी) पठन पाठन अघि बढाउने योजना सरकारले बताए जानकारी दिए । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन लक्ष्य प्राप्त गर्न तत्कालिन र दीर्घकालिन सवालहरुलाई सम्बोधन गर्न सरकारले ‘स्वास्थ्य, शिक्षा, उत्पादन र आपुर्ति–रोजगारी, आजिविका, पुर्वाधार र समृद्धि’ भन्ने मुल नारा बनाएको उनको भनाई छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार २०:३७