लासमाथिको ‘लाजनीति’

               भूपालसिंह ठकुरी

प्राणी जगतको सर्वश्रेष्ठ र बुद्धिमान प्राणी सायद मानव समुदायबाहेक अरु केही छैन । अझैं भन्ने हो भने २१ औं शताब्दीमा विज्ञान र प्रविधिमार्फत ब्रम्हाण्डको विजय हासिल गर्न सफल रहेको छ । तथापि समाजमा अझैं पनि विभिन्न कुसंस्कार र कुरीतिको सिकार मानव मानवबाटै हुँदै आएका घटनाहरू छन् । प्राचीनकालदेखि रहेका रुढीवादी परम्पराको जरो समाजमा यतिसम्म गढेको छ कि त्यो चाहेर पनि निमिट्यान्न पार्न सकिएको छैन । देशमा थुप्रै युद्ध, आन्दोलन भए तर ढुङ्गे युगदेखि चलिआएका गलत संस्कारहरू हट्न सकेनन् । नेपालमा राजनीतिक परिवर्तन भयो तर सांस्कृतिक रूपान्तरण हुन अझैं दशकौँ लाग्ने अवस्था छ ।

मानिसहरू प्राणीभन्दा किन भिन्दै र सर्वश्रेष्ठ छन् त भन्दा उसमा विभिन्न संवेगहरू हुन्छन् र ती संवेगहरूलाई नियन्त्रण गर्न सक्ने क्षमता, उच्चस्तरको चेतना, भातृत्व, मानवीयता, नैतिकता, सामाजिकता र सहयोग गुणहरू हुन्छन् । तर मानिसबाटै बेलाबखतमा अनैतिकता र अमानविताको उच्च पराकाष्ठको रूपमा विभिन्न घटनाहरू भइरहने गरेको पाइन्छ । त्यस्तै घटनाको एउटा ज्वलन्त उदाहरण हो, पश्चिम रूकुमको सोती घटना ।

घटनाका पछाडि जे–जस्ता कारणहरू भए तापनि त्यसरी एक मानवबाट अर्को मानवलाई अलिकति मानवीयता नदेखाएर नरसंहार गरिएको छ जसले एक्काइसौं शताब्दीमा मानवीय चेतनालाई गिज्याइरहेको छ । आधा दर्जन कलिला मुनाहरूको जसरी आमसंहार र विभत्स हत्या गरियो त्यसको जति भत्सर्ना गरे पनि कमै हुन्छ ।

गतहप्ता रूकुमको सोतीमा भएको घटनाको बारेमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा टिकाटिप्पणीहरू, विचारहरू, भावनाहरू आइरहेका छन् । ती विचार तथा प्रतिक्रियाहरूलाई अध्ययन गर्ने हो भने पुरै पीडित र पिडक पक्षहरूको आ–आफ्नै दाबीमा रहेका छन् । पीडित पक्षहरू पिडकहरूलाई कारबाहीको माग गरिरहेका छन् । पिडक भनाउँदाहरू पनि आफूहरूको दोष नभएको तर्क गरिरहेका छन् । घटनालाई राजनीतिकरण गरिँदैछ भन्ने विचारहरू पनि आइरहेका छन् भने कुनै अमुक पार्र्टीको नाममा मुर्दावाद र कुनै पार्टीको नाममा जिन्दावादका नाराहरू पनि नघन्किएका होइनन् । तथापि देशमा कानुन छ, कानुनी राज्यको सबैले पालना गर्नुपर्दछ, कानुनले न्याय दिनु पर्दछ । सरकारको तहबाट एक छानविन समिति बनाइ अध्ययन थालिएको छ त्यसैले सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाही गरियोस् हामी यही कामना गरौं ।

खासगरी सोती घटना के हो, यो कसरी घट्न पुग्यो, यो हुनु प्रमुख कारणहरू के–के हुन सक्दछन्, घटनाको दोषीहरू को हुन्, उनीहरूलाई कारबाही होला त ? आज यो परिणाम आउनको पछाडि को–को जिम्मेवार होलान् ? यस्तै प्रश्नको जवाफ समितिको अध्ययनपश्चात प्रष्ट होलान् । तथापि यहाँ उक्त परिणाम आउनुका अन्तरसम्बन्धित विषयहरू केलाउने प्रयत्न गरिएको छ :

अन्तरजातीय प्रेम सम्बन्ध

नेपाली समाजको सांस्कृतिक चरित्रलाई अध्ययन गर्ने हो भने अझैं पनि समाजमा उच्च जातीय अहंकार र तल्लो जातिमाथिको जातीय शोषण कायमै छ । देशका विभिन्न ठाउँहरूलाई जातीय छुवाछुतमुक्त घोषणा गरे पनि विद्यमान जातीय विभेद हट्न सकेको छैन । नेपालको जातीय विभेदको अन्तरवस्तु अध्ययन गर्दा मानिसहरूलाई तीन वर्ग अर्थात समूहमा बाँडेर विश्लेषण गर्न सकिन्छ :

पहिलो समूह वा वर्ग

पहिलो वर्गभित्र पछिल्लो पुस्ताका युवाहरू, केही शिक्षित व्यक्ति, केही राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरू पर्दछन् । मुख्यतया उनीहरू जातीयताको आधारमा विभाजित समुदायलाई सिधै नकार्छन्, जातीय भेदभावविरुद्धको अभियानमा निरन्तर लागिपरेका छन् ।

उच र निच, जातभात, छुइछिटोजस्ता कुराहरूलाई समाजविरोधी पश्चगामी सोच र मान्यताको रूपमा लिन्छन् । सँगै बस्ने, खाने, वैवाहिक लगायत हरेक सम्बन्ध सबै दलित, जनजाति, ब्राह्मण, क्षेत्री आदिसँग गाँसिएका छन् । यो समूहभित्र पर्ने मानिसहरूको संख्या तुलनात्मक रूपमा अरूभन्दा कमै छ ।

दोस्रो वर्ग वा समूह

यो समूहमा मुख्यगरी हिजोदेखि पण्डित्याइ गर्ने, केही शिक्षित भित्रका मध्यम वर्ग, राजनीतिक तथा सामाजिक कार्यकर्ता पनि पर्दछन् । उनीहरूको विचारमा कथित तल्लो जातसँग बस्ने खाने साथित्वको भावना राख्ने गर्दछन् तर पारिवारिक एवम् वैवाहिक सम्बन्धसम्म गर्न रूचाउँदैनन् । अरुले गरे राम्रो मान्ने, आदर्श छाँट्ने तर पर्दा पछाडि कुरा काट्ने, आफूले स्वीकार गर्न गाह्रो मान्ने प्रवृतिका हुन्छन् । नेपालमा यो बिचको समूहभित्र पर्ने मानिसहरूको जनसंख्या अत्याधिक छ । यो समूह सांस्कृतिक रूपान्तरणको लागि भयङ्कर खतरनाक हुन्छ ।

तेस्रो वर्ग तथा समूह

यो समूहभित्र पर्ने नेपाली समाजमा थुप्रै मान्छेहरू छन् । खासगरी उच्च ब्राह्मणवादी चिन्तन भएकाहरू, उमेर ढलिकसकेका वृद्धहरूको समूह र केही सामाजिक, आर्थिक, राजनीतिक रूपमा प्रतिष्ठित व्यक्तिहरू पनि पर्दछन् । उनीहरू दलित तथा अन्य जाति, चाहे त्यो दलितभित्रको पनि दलित किन नहोस्, कुनै पनि हालतमा स्वीकार्दैनन् ।

दलित जातभित्रका यो समूहमा पर्ने मानिसहरू पनि आफै परम्परादेखि मानी आएको परम्परा हो, ठीकै छ । यो प्रथा मान्नुपर्छ, नत्र पाप लाग्छ भन्ने विश्वास गर्छन् । हिजोदेखि मानी आएको संस्कार छोड्न सकिँदैन बरु जे कारबाही गर्ने गर भन्नसम्म भ्याउने मानिसहरू पनि छन् । अति रुढीवादी सांस्कृतिक परम्पराबाट हुर्केको समाजलाई परिवर्तन गर्न निकै गाह्रो पर्ने हुन्छ । अर्को अर्थमा भन्दा यो समूहभित्र पर्ने मानिसहरूको समूहलाई सांस्कृतिक रूपमा पश्चगामी तŒवका रूपमा चित्रण गर्न सकिन्छ ।

सोती घटनालाई अध्ययन गर्दा उपरोक्तमध्ये पहिलो र दोस्रो भेदभाव र बुझाइले काम गरेको देखिन्छ । घटना भएको ठाउँ छुवाछुतमुक्त घोषणा भएको छ तापनि केटी पक्षका आफन्तहरूमध्येका केही र उनको बुवाआमाको अभिव्यक्तिलाई सुन्दा पनि दलितसँग बिहे नगरेको भए हुन्थ्यो भन्ने मनसाय बुझ्न सकिन्छ । खासगरी उनीहरू दोस्रो समूहभित्र पर्ने पात्र हुन् । उनका बाबुआमाजस्तै यो समूहभित्र पर्ने मानिसहरूको भावना पनि यस्तै हुन्छ । यो वर्गभित्र पर्ने मानिसहरू भन्दछन्, ‘जातै फाल्ने भए अलि राम्रो ठाउँमा फाल्नु नि ।’ यसको मतलव के हो भन्दा तल्लो जातको पनि वर्गीयरूपमा राम्रो र सम्पन्नशाली धनी मालिक भए स्वीकार गर्न सक्दछन् । तर यसको विपरित नवराज र सुष्मा पहिलो समूहभित्रका पात्रहरू हुन् जसले संसारका सबै मानिस बराबर र समान देख्छन् । उनीहरूको मानसिकतामा कुनै प्रकारको भेदभाव हँुदैन तर सधैँ यसको बाधक बनेर उक्त दास्रो समूह अगाडि देखापर्छ । तसर्थ उक्त घटना घट्नुको पछाडि जातीयता पनि एउटा कारण हुन सक्छ ।

उमेर/अवस्था

घटनासँग सम्बन्धित युवायुवतीहरू र मृतकहरू १५–१६ देखि १९–२० वर्ष उमेर समूहका छन् । अवस्थागत हिसाबमा भन्ने हो भने उनीहरू सबै किशोर अवस्थाका युवायुवतीहरू हन् । स्वभावैले यो संक्रमणकालीन अवस्था हो । यो पुस्ताका युवाहरू न त वयस्कजस्तो व्यवहार गर्न सक्छन् न त केटाकेटीजस्तो । उनीहरू अवास्तविकतामा बढी रमाउने हुँदा यो अवस्थाका केटाकेटीहरूलाई विशेषगरी अभिभावकले सकारात्मक रूपमा उपयुक्त बाटोमा लगाउन सक्नुपर्छ ।

उनीहरूलाई जति दबाब दियो उतिनै विस्फोट हुन्छन् । तसर्थ यो उमेरका मानिसहरूलाई आँधितुफानको उमेर भनी मनोवैज्ञानिकहरूले परिभाषित गरेका छन् । उक्त घटनाको प्रकृतिलाई हेर्ने हो भने दुवै पक्षका केटाकेटीलाई मानसिक तथा भौतिकरूपमा दबाब दिइयो, केटीलाई ललाइ–फकाइ घरमै थुनियो भने केटालाई मानसिक तथा भौतिकरूपमा दबाब दिइयो । त्यही निहुँमा प्रहरीको हिरासतमा समेत राखियो फलस्वरूप उनीहरू १८–१९ जनाको ग्याङ बनाएर बेहुली लिन भनी गए र झडपको वातावरण बन्न पुगेको अनुमान गर्न सकिन्छ ।

सल्लाह/परामर्श

माथि नै उल्लेख गरिएको छ कि किशोर अवस्था एक समस्याग्रस्त उमेर हो । यो अवस्थामा बालबालिकाहरूलाई सही बाटोमा हिँडाउन निरन्तर सल्लाह र परामर्शको खाँचो पर्दछ तर घटनासँग सम्बन्धित युवायुवतीहरूले कुनै प्रकारको सल्लाह र परामर्श प्राप्त गर्न सकेनन् । अभिभावकबाट उनीहरूले त्यो प्रकारको परामर्श प्राप्त गर्न सक्ने अवस्था रहेन भने सामाजिक क्षेत्रमा काम गर्ने अगुवा र अन्य आफन्तहरूबाट पनि प्राप्त गर्न सकेनन् । स्थानीय प्रतिनिधिहरू नै घटनामा प्रत्यक्ष संलग्न भएको हुँदा उनीहरूबाट पनि त्यसको आशा गरिएन । उल्टो जनप्रतिनिधि, सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरूबाटै पक्षीय रूपमा उनीहरूलाई दबाब दिने हिनताबोध गराउने काम भयो ।

अमानवीयता

घटनाको प्रकृति हेर्दा एउटा मानवता हराएको क्रूर, विभत्स र निन्दनीय छ । अपराधिक मानसिकता बोकेको जुनसुकै अपराधी भए पनि यस्तो जघन्य अपराध माफी हुन सक्दैन । मानव इतिहासकै कहालीलाग्दो, पत्याउन नै गाह्रो लाग्ने तर सत्य सावित उक्त घटनाका विचरा ती कलिला मुनाहरूका सपना भेरी नदीमा बगेका छन् । जसरी बाघले मृग झम्टेझैं झम्टँदा र भेरीमा बगाउँदा कुनै मानवियता र दया पलाएन होला तर यसले के पुष्टि गर्ला त भन्दा मानवमा मानवता हराएकै हो त ? कोही कुटिएर बगिरहे, कोही पौडी खेल्न नजान्दा बगिरहे, कोही बाँधिएर बगिरहे तर मानवता हराएका क्रूर जीवित मान्छेहरूले पनि आफ्नो मानवता भेरीमै बगाइदिए ।

मान्छे एक सर्वश्रेष्ठ प्राणीले चाहे जस्तोसुकै गल्ती गरेको भए पनि कानुन त छ नि, कानुनी राज्यको धज्जी उडाएर गरिएको विभत्स हत्याका कारण जे–जे भए पनि यो पछिल्लो रूकुम घटना मानवता हराएका, अमानवीय र आपराधिक मानसिकता बोकेका तत्वहरूबाट भएको हो ।
समग्रमा घटनाका जुनसुकै कारण भए पनि दुखद् र निन्दनीय छ । यसरी विभत्स र जघन्य अपराध कानुनी राज्यमा क्षम्य हुन सक्दैन । घटनाको दोषीहरू पक्राउ परी अनुसन्धानको दायरामा ल्याइसेको परिप्रेक्षमा राज्यलाई सहयोग गरी निष्पक्षरूपमा छानविनमा सहयोग गर्नुपर्दछ । कुनै पनि राजनीतिक दलले घटनालाई राजनीतिकीरण गरी लासमाथि ‘लाजनीति’ बन्द गर्नुपर्दछ । पूर्वाग्रह राखेर जिन्दावाद र मुर्दावादका नारा लगाउन बन्द गर्नुपर्छ । यो राजनीतिक कारणले घटेको घटना नभएर आपराधिक मानसिकताबाट भएको घटना हो । तसर्थ जुनसुकै पार्टीका मान्छेले गरे पनि कानुनी कठघरामा उभिनुपर्छ । कसैले अपराधीको पक्षमा वकालत गर्न जरूरी छैन । समाजमा हुने यस्ता विभत्स र अमानवीय घटनालाई ढाकछोप गरी अपराधीलाई प्रोत्साहन गर्नु हुँदैन । तसर्थ घटनाका दोषीहरूलाई तेरो वा मेरो नभनी कानुन अनुरूप कारबाही गर्नु पर्दछ ।