कथा

कहर जिन्दगीको

 भवानी पौडेल

आकाशमा बादलका काला ढिक्काहरू नाँच्दै थिए । मन्द–मन्द हावाको झोक्काले शरीर चुम्दै थियो । समयले त्यतिबेला मानव सभ्यताको प्रतिकूलतामा हतियार चलाइरहेको थियो । समयको शासन निरङ्कुश र कठोर थियो, जसले सभ्यता र विकासका अनगिन्ती पदचापहरूलाई टक्क रोकिदिएको थियो ।

मनुष्य जीवनका स्वतन्त्रताका पङ्खहरू काटिएका थिए समयको तरवारले । मानिसको मुटुभित्र आतङ्कको समीर चलिरहेको समय थियो, त्यो समय । समयले यत्रतत्र सर्वत्र मृत्युको आगो ओकलिरहेको थियो ।

समयले वर्षाएको त्यो कठोर कोर्राको पिडा धेरै जिन्दगीले भोगे । त्यो पिडा सबैभन्दा धेरै भोगी मङ्गलीले र मङ्गलीजस्ता मानिसहरूले । साँच्चै विधाताको लीला अचम्म लाग्दो छ ‘प्रकृतिले कसैलाई भेदभाव गर्दैन र प्राकृतिक न्याय सबैका लागि समान हुन्छ’ भन्ने भनाइमा नै शङ्काको बादल लाग्छ । होइन भने सुख र सम्पन्नतामा सबैभन्दा पछाडि परेकी र पारिएकी मङ्गलीलाई नै समस्याको यो पहाडले किन थिच्नु परेको ? किन मङ्गलीजस्ताको शिरमा नै खस्दछन् निर्दयी काला पहाडहरू ? किन उसैलाई नै डस्छन् विषालु गोमन साँपहरूले ?

अस्ति भर्खर त कतारमा भएको आफ्नो छोरासँग फोन गर्र्दै थिई उसले । छोराले भन्दै थियो ‘साहूले कामबाट निकालिदियो । अब काम दिन सक्दैन भन्छ । नेपाल आउने कुनै उपाय छैन । अलिअलि बचाएको पैसा पनि सिद्धिनै लागिसक्यो ।’

छोराले सुनाएको पिडाले उसलाई रातभरि निदाउन दिएको छैन । के खायो होला, कसरी र कहिले आउने होला भन्ने प्रश्नले उसलाई बारम्बार डसिरहेको छ । साँच्चै कसलाई पो थाहा छ र आमाको छातीभित्र बनेको ममताको पहाड कति अग्लो हुन्छ र कुन रसायनले बनेको हुन्छ मातृत्वको त्यो कोमल छाती ।

ऊ भक्कानो छोडेर रोई । आफ्नो खसमको छातीमाथि टाँसिएर । पतिको मायालु स्पर्ष र शान्त्वनाका शब्दहरूले उसको जलनलाई थोरै भए पनि समन गरिदिएको थियो । उफ् ! अब त उसका आँसुहरू पुछ्ने तिनै हातहरू पनि गुमाई उसले । उसले मनमनै आफ्ना जन्मदातासँग प्रश्न गरी ‘यति धेरै पिडाका बोझहरू उठाउनका लागि मलाई किन जीवन दियौ ?’

यता बुहारी सुत्केरी छ । तीन दिनदेखि राम्रोसँग पेटभरि खान पाएकी छैन । कनिकाको खोले खाएर बच्चालाई दूध कसरी आउँथ्यो र ? रातभरि बच्चा रुन्छ । दिनभरि अभाव रुन्छ । ठूला मान्छेको रुवाइभन्दा बच्चाको भोकको रुवाइ निकै कहालीलाग्दो हुन्छ । वातावरणलाई नै स्तब्ध बनाइदिन्छ ।

जता हेरे पनि अँध्यारो नै अँध्यारो छ मंगलीको परिवारमा । उसको सम्झनामा बग्रेल्ती आउँछन् आफ्नो पतिका यादहरू । कमसेकम उनी थिए । उनीसँग अथाह प्रेम थियो । प्रेमको न्यानो अङ्गालोमा सङ्कटका आँसुहरू पनि बाफ बनेर उड्थे । तर, आज मैमाथि दैव किन यति धेरै निष्ठुर भयो ? मंगलीले प्रश्नहरूको वर्षात् गरी ।

आफ्नो पतिसँगको घनिभूत यादहरूलाई मस्तिष्कको मान्द्रोभरि फिँजाई र ती यादहरूले उसलाई अझ बढी लखेटिरहे अन्धकारको यात्रामा । ऊ स्मृतिको त्यो कुनामा पुगी जहाँ मंगली र मंगलीका पति बलराम सँगसँगै काम गर्थे इट्टाभट्टामा ।

हरेक दिन हजारौँ इट्टाहरू बनाउँथे साँचोमा राखेर । बलराम हाँसो मजाक गर्ने स्वभावका थिए । सायद त्यही स्वाभावले तान्यो मंगलीलाई । प्रेमको साँचोमा कतिबेला कैदी भइ मंगलीले पत्तै पाइन । बलरामको प्रस्तावमा उसले पनि सजिलै मन्जुरी दिई । जीवनको करिब एक दशक त्यही इट्टाभट्टामा बित्यो । हजारौँ इट्टाहरू बनाए ती दुईजोर हातहरूले । लाखौँ इट्टाहरू पोलिए तर न कहिल्यै आफ्नो घरको दिवारमा इट्टा छाम्न पाई मंगलीले, न त आफ्नो गरिबीलाई इट्टाभट्टीमा पोल्न नै सकी ।

जीवनमा धेरै कुराहरू फेरिएको देखि उसले । राज्य व्यवस्था फेरियो, कानुन फेरियो, सत्तामा बस्ने मान्छे फेरिए तर उसको जीवनको रङ्ग भने कहिल्यै फेरिएन । उसले आपैmंसँग प्रश्न गरी, हाम्रो जिन्दगी फटाएर बगाएको त्यति धेरै पसिना आखिर कहाँ गयो होला ? कसले खायो होला ? खान नै नपाएर भएको उसको पतिको मृत्युले उसलाई एकदम आत्मग्लानी भयो । उसको हृदय रोयो । उसलाई के थाहा बलरामसँगको त्यही रात नै अन्तिम रात हुनेछ भन्ने कुरा । उसलाई के थाहा त्यही संवाद नै अन्तिम संवाद हुनेछ भन्ने कुरा ।

मंगलीको परिवार एक हप्तादेखि भोको थियो । बलरामले कसैबाट राहत मिल्दैछ भन्ने सुनेको थियो र थोरै आशाको किरण बोकेर एक दिन सुनाएको पनि थियो मंगलीलाई । त्यतिबेला मंगलीले पनि ओठमा थोरै भए पनि खुसी भरेकी थिई । तर, त्यो खबर थाहा पाएको पनि १४ दिन भइसक्यो न राहत आयो, न त उनीहरूलाई कहाँ पाइन्छ राहत भन्ने नै थाहा भयो । हो, त्यही रात जुन रात बलरामको लागि अन्तिम रात थियो, उसले भन्दै थियो ‘हामीलाई अब राहत कसैले दिँदैन मंगली । हामी खान नपाएरै मर्ने भयौँ । विधातालाई यही कुरा मञ्जुर छ भने हाम्रो के लाग्छ ?’

बलरामले माथि हेरेर हात जोड्दै पुकारे ‘हे भगवान भर्खरै जन्मेको यो अनाथ शिशुको के दोष थियो र भोकै मार्न लायौ । उसलाई पूरा जीवन बाँच्न देऊ ।’

बलरामको स्वर काँपिरहेको थियो र अनुहार उदास थियो । उसको त्यो आकृतिभित्र विवशताका हजारौँ हजार पहाडहरू थिए, अभाव र गरिबीको आर्तनाद चित्कार थियो, राज्यको कमजोर संरचनाले जन्माएका लाखौं भोका अनुहारहरू थिए । बलराम एकदम कमजोर भइसकेको थियो र गलिसकेको थियो । उसको स्वरमा मात्र कम्पन थिएन, सम्पूर्ण शरीर कमजोरीले काँपिरहेको थियो ।

बलराम बिहान जेनतेन उठ्यो । उठ्दा उसको शरीर पुरै दुखेको थियो, त्यो भन्दा बढी दुखेको थियो उसको मुटु । उसले हात–मुख धोयो । मनमा एउटा विचार आयो । बलरामले मंगलीसँग फरुवा माग्यो । मकै माग्यो र लाग्यो बारीतिर । मंगलीले रोक्न खोजी तर सफल भइन । बलरामले यही सोच्यो कि थोरै भए पनि उम्रिन्छ र जुन एक दिन खानलायक बन्छ । उसलाई किन किन आपूmले रोप्न लागेको त्यो बिजको फल आपूmले खान्छुजस्तो लागेन । सायद उसको अन्तरमनले भन्दै थियो । जहाँ थोरै जमिन थियो । उसले १० मिनेटजति के खनेको थियो, उसको जिन्दगीको इन्जिन बिग्रियो र टक्क रोकियो । बलराम खेतमै ढल्यो । एक जना बलराम मात्र ढलेन खेतमा, सयौँ भोका बलरामहरू आफ्नै माटोमाथि गरिबी पिएर ढले, ऊसँगै उसको अजङ्गको विवशता ढल्यो । उसँगै उसका दुःखका हिमालहरू ढले तर फेरि पनि कैयौं बलरामहरू गरिबी र अभावको ग्रहुुङ्गो भारी बोकेर जीवनभर निस्सासिएर गुमनाम बाँचिरहे, बाँचिरहे ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७७, शनिबार ०६:५६