विधा विमर्श

‘साइनो’ के र किन ?

       विष्णु पादुका

नेपाली आकाशमा बिहानपख एउटा तारा उदाएको छ । गणितीय विज्ञान, खगोल र ज्योतिषका दृष्टिकोणबाट पनि उच्च अर्थ राख्ने ७,८,९ः२४ को अर्थ बोध हुने साहित्यको नयाँ विधा जन्मियो । साहित्यको एउटा विद्यार्थी कोही हो र ऊ लेखनको चौराहामा उभिएको छ भने कुनै न कुनै बेला ‘साइनो’को सरल सरस बाटोमा अलिक पर त पुग्छ पुग्छ । मानवीय स्वभाव हो सुन्दरताको पछि लाग्ने ।

साहित्यका यावत् विधाको बीचमा एउटा प्रष्टता र विशिष्टता बोकेको एउटा विधा ‘साइनो’, जसको एउटा ट्रयाक खोल्ने काम सकिसकेको प्रतित हुन्छ । प्राध्यापक छायादत्त न्यौपाने ‘बगर’ले स्थापना गर्नु भएको साइनो विधा उच्चस्तरीय विधाको रूपमा हेरिएको छ ।

भाव, शिल्पीचेत, शुद्धता र नेपालीपन देखिने गरी रचनागर्भ निर्माणले क्षेत्रगत वृत्त फराकिलो पार्दै छ । साहित्य लेखन यस्तो चुल्हो हो जहाँ कुन दाउरा छिटो बल्छ थाहै हुँदैन ।

कुन खुर्सानी धेरै पिरो छ थाहै हुँदैन ।
खुकुरी र कर्दको उखान फेल खान्छ ।
गुरु चेलाको विरासतनै नामेट हुने खतरा हुन्छ ।
तर पनि यात्रामा साथ र सहयोग रही रहनु पर्छ ।
एक्लै कोही कहीँ पुगिरहन सक्दैन ।

समयको प्रवाहमा स्थापनाको जस र अपजस पाए÷नपाएको कुरालाई लिएर, क्षेत्र र विधानका विषयमा कुनै पनि विधालाई संकुचित पारिनु हुँदैन । किन र कसरी भन्ने प्रश्न भन्दा पनि त्यसको सुन्दरतालाई हेरिनु साहित्यप्रतिको न्याय हुनेछ । स्थापना हुँदा या सुरुमा लेखिँदाताकाको गति र रुचिले दिएको संख्यात्मक वृद्धि उत्साहजनक देखिन्छ ।

साहित्यमा उच–निचको मापदण्ड हुँदैन । एउटा रचना सरल या कडा हुनै सक्दैन । किन पनि भने लेख्ने र पढ्नेहरूको बीचमा हुने तालमेल नै ठूलो कुरा हो । कति साहित्यका रचना नबुझेर पनि मिठो मानेर सुन्ने, हेर्ने र बुझ्ने कोशिश गरिन्छ । कम्तीमा छर्लङ्ग देखिन एउटा स्वरूपमा आउनै पर्छ ।

दिनानुदिन लेखनको रुचि थपिनु स्वभाविक छ । कुनै विधासँग प्रतिस्पर्धा गर्न नभइ आफ्नो विशिष्ट शैली र एउटा दह्रो आधार अक्षर पद संख्या हो । सात, आठ र नौ को हुने योगफल चौबीस नै अक्षर गणना पहिलो शर्त हो भने क्षेत्र निर्धारणको दायरा फराकिलो देखिन्छ ।

साहित्यका यावत् विधाको बीचमा एउटा प्रष्टता र विशिष्टता बोकेको एउटा विधा ‘साइनो’, जसको एउटा ट्रयाक खोल्ने काम सकिसकेको प्रतित हुन्छ । भाव व्यंग्य र विम्बको प्रचूरता हुने यस विधामा एउटा साइनो धेरै कोणबाट परिभाषित हुन सक्ने यसको सुगन्ध हो । लेखकीय क्षेत्र त विस्तारित हुन्छ नै । चौबीस अनुच्छेदमा बयान गर्न सकिने कुरालाई चौबीस अक्षरमा समेट्न सक्नु यो विधाको बलियो पक्ष हो ।

भाव व्यङ्ग्य र विम्बको प्रचूरता हुने यस विधामा एउटा साइनो धेरै कोणबाट परिभाषित हुन सक्ने यसको सुगन्ध हो । लेखकीय क्षेत्र त विस्तारित हुन्छ नै । चौबीस अनुच्छेदमा बयान गर्न सकिने कुरालाई चौबीस अक्षरमा समेट्न सक्नु यो विधाको बलियो पक्ष हो ।

साहित्यकार छायाँदत्त न्यौपाने ‘बगर’द्वारा लेखन सुरुवात र अन्य विद्वत वर्गवृत्तबाट रुचि देखिएपछि एक, दुई, तीन गर्दै साइनो लेखन दिनानुदिन बढ्यो । कुनै छापा माध्यममा नभइ सामाजिक सञ्जाल फेसबुक (अनुहार पुस्तिका) मार्फत सुरुवात भएको हो । तर फेसबुक साहित्यलाई साह्रै सस्तो रूपमा लिने केही स्थापित साहित्यकारहरू छन् । उसो त यसको प्रयोग सर्वव्यापी छ । सबैले व्यक्तिगत धारणा राख्ने नै भए । जे होस् एउटा सञ्जालको भित्तामा साइनो जन्मेको हो भन्दैमा साइनोको इज्जत सकिने होइन । हिँडिरहेको बाटो सजिलो भरपर्दो कागजी पुस्तक हुनाले यसैलाई प्रामाणिक मानियो । प्रविधिको प्रयोग गरी वेबसाइटमा राखिएका पुस्तकको आयु कुनै पुस्तकालयको भन्दा हजारौं गुणा बढी हुन्छ । यसको नियमन प्रयोग र नियन्त्रणको चुनौतीले त्यो मान्यता हामी माझ स्थापित हुन सकेको छैन ।

यसैबीच उम्रेको ‘साइनो कविता’ विस्तारै लेखकीय उपविधा हुन गएको छ । सात, आठ, नौ संख्याको महत्वलाई आत्मसात् गर्ने यसको आधारभूत तत्वलाई हामीले बिर्सन सक्दैनौं । गणित जीवनमा समाहित छ । जीवनमा गणितको अपरिहार्यता छ । उसो त अक्षर संख्याको नियम र आधार अन्य विधाहरूमा पनि हुन्छ नै । तर यहाँनेर रोपेर उम्रन लागेको साइनोको समस्या र चुनौती केलाउने अनुमति चाहन्छु ।

चौबीस वर्णको वाक्य ७,८,९ अक्षरियको तीन पदमा बाँड्नु साइनो हुनै सक्दैन । सानो विधा भनेर निकै हलुका रूपमा लिन सकिँदैन । आलङ्कारिक र व्यञ्जना दिने नाममा क्लिस्ट शब्दको प्रयोग पनि फजूल खर्च हुन सक्छ । मलाई लाग्छ, हामी अझै पनि लेखकमुखी लेखनमा अलमलिएका छौं । पाठकमुखी लेखन कुनै विधा हुन सकेको देखिन्न । उसो त समस्या र चुनौती छिमलिँदै जाने कुरा हुन् । पाठकको रुचिलाई ख्याल गरेर शब्द चयन गरिनु पर्छ । समाजमा जे बोलिन्छ त्यसैमा भाव खोज्नु साहित्य हो । लेखकमुखी रचना अर्थपूर्ण त हुन्छन् तर लेखककै मुखबाट अथ्र्याइनु पर्ने हुनसक्छ । कवितामा ट्युसन पढ्न को चाहन्छ र ?

भात भान्सा, चोक चिया, भाँडा जुठेल्नाकै शब्दहरू हुन् लेख्ने । पाइला पाइलामा ठेस नलागी को सगरमाथामा पुग्छ र ? यहाँ सबै कुरा छ त्यसैले त,

प्रकाशले उज्यालोमा साइनो खोज्छ ।
प्रकृतिले वनस्पतिमा साइनो खोज्छ ।

मानिसले सम्पूर्णतामा साइनो खोज्छ । त्यसैले साइनोको प्रार्दूभाव भएको हो । यसको गहनता अत्यन्तै छ, जसलाई बुझाउन सकिएको छैन । यसको गम्भीरता र व्यापकता दिनदिनै बढ्नु स्वभाविक हो । थोरै शब्दमा धेरै कुरा बोल्ने विम्ब र प्रतिकले नै हो । अभिव्यक्तिमा मिठास दिने पनि शब्दको लालित्यले हो । देख्दा सरल देखिए पनि सात, आठ, नौ को क्षेत्रफल समेटेर देखिने साइनोले एउटा दृश्य छर्लङ्ग होस् । भावले भिजेको होस् । प्रेमले छोइएको होस् । व्यङ्ग्यचेत खुलेको होस् अनि बल्ल पाठकले दोस्रो पल्ट तेस्रो पल्ट खोजेर पढ्नेछन् । स्वतःस्फूर्त रूपमा लेखिदै गएर यसको श्रीवृद्धि हुनेछ ।

वेदव्यासका सुक्ति चाहने, भानु, लेखनाथ, देवकोटादेखि भूपिका उक्तिमा रमाउने, बहर र काफियाको माहोलमा झुम्ने पाठकमाझ स्थापित हुन सजिलो छैन । त्यसमाथि अंग्रेजी साहित्यको अध्ययनले खारिएका पाठक पनि जोडिने क्रम बढ्दै छ । यसरी सबै कुरामा ध्यान दिएर एक नजर साइनोतिर हेर्न बाध्य पार्न पनि साइनो सरल, सरस र मन छुने लेखिनु जरुरी छ । नेपाली भाषाबाट नै सिर्जना भएको विधा हुनाले उखान टुक्का जोडिनु, अनुप्रास मिल्नु, विम्ब प्रतिकात्मक देखिनु राम्रो पक्ष हो ।

साइनोको भावी दिनहरू उज्यालो पार्न लागिपरेका तमाम हातेमालो अर्थपूर्ण हुँदै जाओस् । वर्तमान पुस्ताको व्यस्ततामा लेखन र पठनका दृष्टिले समेत उत्तम मानिएको यस विधालाई दिनानुदिन रुचाइको स्तर बढ्दै गएको छ । यसै सेरोफेरोमा साइनोका केही उदाहरणहरू,

प्रयोगको प्रयास
पल गन्दैछ यो घडी
आलोक यापन जीवन ।

कुराको कम्पनीमा
चरम आनन्द लिन
कुर्सीमा संसद् शिविर ।

महत्व देखाउन
यी जुनकीरी झुल्किन्छन्
पग्लिन्छन् उज्यालोमा सदा ।

नेपाली व्याकरणको शब्दनिर्माण प्रक्रिया अनुसार अक्षर र वर्णको गन्तिमा फरक देखिनु या अल्मलिनु नपरोस् भन्ने ध्येयले फरक–फरक देखिने साइनोको उदाहरण पेश गरिएको हो ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७७, शनिबार ०६:५५