मन्थन

कर्णतन्त्र कि गणतन्त्र !

   ध्रुवकुमार अधिकारी

विषय प्रवेश

जनताले चुनेका प्रतिनिधि राष्ट्रप्रमुख हुने व्यवस्था गणतन्त्र हो । यस्तो शासन व्यवस्थामा उत्तराधिकारीद्वारा चल्दैन । सैनिक शासन पनि हुँदैन । शासन व्यवस्थामा कुनै सामन्त हुँदैन । न त नाइके वा ठालु नै । न त पादरी न त पोप नै । जनताले चुनेका व्यक्ति नै देशको सर्वोच्च पदमा पुगेका हुन्छन् । त्यो प्रत्यक्ष पनि हुन सक्छ । अप्रत्यक्ष पनि हुन सक्छ ।

अप्रत्यक्ष भन्नाले जनताले चुनेका जनप्रतिनिधिले संसद्बाट छान्ने विधि हो । यो वंशको शासन व्यवस्था पनि होइन जुन राजतन्त्रमा हुन्थ्यो । संविधानलाई मूल कानुन मानिएको हुन्छ । संविधानभन्दा माथि कुनै पनि कानुन रहेको हुँदैन । कोही पनि व्यक्ति
रहेको हुँदैन । पारदर्शीता र उत्तरदायित्वलाई मूल सिद्धान्त मानिन्छ । शासन व्यवस्थाका सञ्चालकहरू शासक नभएर सेवकको रूपमा रहनुपर्ने मान्यता राखिन्छ । नेपालमा पनि लामो समयसम्म चलेको राजतन्त्रात्मक र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्थापछि वि.सं. २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरियो । हालसम्म यस शासन व्यवस्थाको पनि एक दशक बढी अभ्यास भइसकेको छ ।

कर्णतन्त्र जस्तै गणतन्त्र

कर्ण महाभारतको एक पात्र हुन् । तन्त्र भनेको शासन हो । महाभारतका पात्र कर्ण कुन्तीका जेठा छोरा मानिन्छन् । उनी महाभारतको कुरुक्षेत्रमा कौरवको लागि लडे । सानोमा उनकी आमा कुन्तीले नदी किनारमा फाल्दा वा बगाउँदा धेरै दुःख पाएका थिए । हाम्रा नेताहरूले पनि कर्णले जस्तै धेरै दुःख पाएको कुरालाई अस्वीकार गर्न मिल्दैन । जेल बसेको कुरा । भूमिगत जीवनमा संघर्ष गरेको कुरा । विभिन्न परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको कुरा ।

वयस्क हुँदै जाँदा कर्ण योद्धा हुन खोजे । तर परिपक्वता र निस्वार्थीपना थिएन । आज हाम्रा कुनै प्रकारका शासकमा पनि त्यति इमान्दारिता देखिदैंन । जसरी महाभारतमा कर्णले गुरु परशुरामलाई ढाँटेर स्वार्थ लिन खोजेका थिए त्यसरी नै आज गणतन्त्रका शासकहरू पनि गुरु वा जनतालाई नै सबैभन्दा बढी नैराष्यता प्रदान गरिरहेको जनताले महसुस गरेका छन् । परशुरामलाई आफू क्षेत्रीय नभएको वा भए पनि थाहा नभएको भनी ढाँटेका थिए । आज हाम्रा शासकहरू पनि जसरी पनि धनदौलन जोड्नु पर्ने छ । जनताकोमा सत्य पुग्दैन ।

कर्णले पछि गुरुलाई ढाँटेर त्याहाँबाट भागेर गाईलाई वाण हानेर मारे । ब्राह्मणले सराप दिए । आज हामीकहाँ पनि त्यस्तै अवस्था रहेको छ । कहिले गाई कहाँको भिरबाट लडाइएका आरोप आउँछन् कहिले गाईको चर्चा संसद्को उप–सभामुखसम्मको चर्चाको विषय बन्छ । दुर्योधन अर्जुनविरुद्ध लागे जस्तै आफ्नै पार्टीभित्र कलह देखिरहेको छ । त्यो पनि मन्त्री नपाउनेबेलासम्म । मन्त्री पाएपछि चुप्प । सबै ठीक ।

अर्कोतिर आज सत्ताधारीका जुठो खान पाएका पात्रहरू पनि जसरी महाभारतमा कर्ण दुर्योधनको एक बफादार र साँचो मित्रको रूपमा चिनिन्छ त्यस्तै छन् । चश्माले रातोलाई रातो देख्दैन । कालो देख्छ । पहेँलो देख्छ । निर्दोषीलाई दोषी देख्छ । दोषीलाई निर्दोष देख्छ । दुर्योधनलाई खुशी पार्नु प्रमुख कुरा हो । दुर्योधनलाई खुशी पार्न पासाको कुख्यात खेलमा सहभागी थिए कर्ण । यस्तै नेतालाई खुशी पार्नुपर्ने अवस्था अहिले रहेको छ । मतपत्र च्यातेर भए पनि आफूले चाहेको कुरा प्राप्त गर्नुपर्ने । चुनाव जसरी पनि जित्नुपर्ने ।
कर्ण हस्तिनापुर दरबारको सदस्य भए झैँ कोही कहाँको छोटे राजा भएका छन् कोही कहाँको । कर्ण शासन व्यवस्थामा आएपछि कुन्ती र इन्द्रले फाइदा लिए जस्तै आज शासन व्यवस्थाको वरीपरी घुमिरहने विभिन्न काण्ड मच्चाएरै भए पनि कुन्ती–इन्द्र फाइदा लिइरहेका छन् । सल्लाहकार बनेर । ठेकेदार बनेर । उपभोक्ता समितिका पदाधिकारी बनेर । राजनीतिक दलभित्र पनि छल र कपटबाट पाण्डवलाई हराउनु पर्छ भन्ने तमाम शकुनी योजनाहरू बनिरहेका छन् । हिजो पनि बने । कसैले युद्धको बाटोलाई प्राथमिकतामा राखिराखे । युद्धमा रमाउनेलाई अहिले पनि ‘‘विप्लव” प्यारो छ ।

कर्णले द्रौपतीलाई वेश्याको आरोप लगाए । पाण्डवको निर्वासनमा कर्णले दुर्योधनलाई विश्व सम्राटको रूपमा स्थापित हुने कुरा भनेझैँ एउटै व्यक्तिलाई सम्राट मान्नु पर्ने । कानको झुम्का लगायतका कुरा माग्ने कुरामा इन्द्रको जाल बुझ भनेर सूर्यले भन्दा पनि कर्णले आफ्नो बुबा सूर्य भएको नै थाहा पाएका थिएनन् र मानेनन् । आफ्नै पक्षका भिष्मकोविरुद्ध कर्ण लागेझैँ अहिलेका नेपालका राजनीतिक दलको संस्कारमा सानो होस् वा ठूलो होस् विभिन्न गुट र झुण्ड बनाएर लागिरहने संस्कृतिको विकास भएको छ । सकारात्मक रूपमा हेर्ने हो भने कर्ण एक प्रतिभाशाली, धर्मी र बहादुर व्यक्तिको रूपमा पनि लिइन्छ । दुर्योधनप्रति अन्धो स्नेहले गर्दा पाण्डवहरूविरुद्ध उनको अनैतिक र अन्याय नै थियो भन्न सकिन्छ । आगामी दिनमा यस्ता अन्धभक्तभन्दा पनि आगामी दिनमा ‘‘सत्यमेय जयते कि सिंह मेय जयते ?” भनेर चुनौतीलाई व्यवहारमा बदलियोस् । नेतृत्व जसको भए पनि ।

गणतन्त्रको गुन

करिब सात दशकसम्म नेपाल राजनीतिक प्रयोगशाला नै बन्यो । तथापि वि.सं. २०७२ सालको भूकम्पको घाउसँगै नेपालको सातौँ संविधानको निर्माण भयो । उक्त संविधानमा शक्तिको स्रोत नेपाली सार्वभौम जनतालाई मानियो । सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा नै निहित हुनेछ भनेर संविधानमा नै लेखियो । स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरियो । आवधिक निर्वाचन, १३ वटा संवैधानिक निकायको व्यवस्थासहित लोकतान्त्रिक मान्यतालाई शासन व्यवस्थाको आधार किटान गरियो ।

उता छिमेकी भारत रिसायो । नाकाबन्दी लगायो । भारतीय नाकाबन्दीले नेपालमा आत्मनिर्भरताको चेतना जगायो । स्थिर शासन व्यवस्थाका लक्षणहरू देखा परे । गणतन्त्रपछि जनताका छोरा रामवरण यादव गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भए । जनताकी छोरी विद्यादेवी भण्डारी राष्ट्रपति भइन् । सामाजिक सुरक्षाका कार्यक्रमहरू बढ्दै गएको देखिन्छ । पूर्वाधार विकासको निर्माणमा नेपाल नै खन्ने काम भएको छ । वैदेशिक लगानीका सम्भावनाका आशाहरू जाग्दै गए । बेला–बेला राष्ट्रियताका मुद्दाहरू पनि उठिरहे । पछिल्लो समयमा केपी वली सरकारले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू–भागसहितको नक्सा जारी गर्दा भारत विस्तारवादी नीतिको अडानमा नै रहिरहेको छ । अन्तर्राष्ट्रिय जनमत नेपालकै पक्षमा रहेको छ । राष्ट्रिय स्वार्थमा सबैको एउटै मत हुनुपर्छ ।

उदासिन शासन व्यवस्थाको रूपमा गणतन्त्र

धेरै पहिलेदेखि नै नेपालीहरू सुनको तकियामा सुतेर पनि भिख माग्नुपर्ने अवस्थामा रहे । मतलब प्रशस्त साधन स्रोत भएर पनि नेपालीका दुःख ज्यूँका त्यूँ नै रहे । प्रशस्त जलस्रोत, प्रशस्त वन सम्पदा, उर्बर माटो सम्पदा तथा अन्य विभिन्न साधन र स्रोतहरू । शासन व्यवस्था फेरियो । पात्रहरूका चरित्र उस्तै रहे । जनता भ्रष्टचार, नातावाद, कृपावाद, ढिलासुस्तीको विरुद्ध राजनीतिक आन्दोलनमा लागेझैँ लाग्न सकेनन् ।

राजनीतिक र कर्मचारीतन्त्रका धेरै शासकहरूले सार्वजनिक सम्पत्ति निजी सम्पत्तिमा रूपान्तरण गर्दै आए । धनी भए । नेतामा नीति रहेन । सेवकहरू झनै शासक बने । पारदर्शिता र उत्तरदायित्वको सिद्धान्त गरीब, निमुखा र शिक्षकको लागि मात्र लागु भयो । कर्मचारीतन्त्र हावी भइ नै रह्यो ।

शिक्षा प्राथमिकताको विषय रहेन । शिक्षक दोस्रो दर्जाको राष्ट्रसेवकको रूपमा रही नै रह्यो । मानव संसाधन विकासमा शिक्षकको सम्बोधन दुई–चारवटा स्थानीय भुरेटाकुरे पालिका बाहेक अरुले चासोका साथ लिएनन् । शासन व्यवस्थाको दुरूपयोग गरी बेला–बेला काण्डहरू आइरहे । कहिले विमान काण्ड, कहिले सुन काण्ड, कहिले बाख्रा काण्ड, कहिले अडियो काण्ड, कहिले जग्गा काण्ड त कहिले बोली काण्ड ।
युवाहरूको लागि खासै ठोस कार्यक्रम त्यो पनि युवाले महसुस हुने गरी आउन सकेनन् । प्राकृतिक प्रकोप र महामारी पनि एकपछि अर्को गर्दै आइरह्यो । कहिले बाढी, कहिले भूकम्प त कहिले कोरोना । राज्यको तमाम साधन र स्रोत अनुत्पादक क्षेत्रमा लगानी भइरहयो । किसान परम्परागत नै रहे । शिक्षा डिग्री उत्पादन गर्नेमा सीमित रह्यो । स्वास्थ्य सबैको पहुँचमा अझै पुग्न सकेन । सञ्चार सस्तो, सुलभ र डिजिटल हुन सकेन । शिक्षण परम्परागतबाट माथि उठ्न सकेन । पूर्वाधारको विकासको अवस्था कमजोर नै रह्यो । सामाजिक विकासमा भेद्भाव र छुवाछुत प्रथा कायमै रह्यो । भर्खरै जाजरकोटको उदाहरण लिन सकिन्छ । गैरदलितले दलितलाई मृत्युमा पु¥याएको । देशमा कानुनहरू छन् । यिनको भरपूर उपयोग र कार्यान्वयनमा चुनौती नै रह्यो ।

उपसंहार

गणतन्त्र असफल हुँदै गएको आँकलन गर्न थालिएको छ । त्यसैले अब देशलाई खोक्रो पार्ने भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कार्यान्वयन हुनैपर्छ । बजेट र बजेट कार्यान्वयनको कुरामा हाम्रा कानुनी प्रक्रियाहरूमा सरलीकरण गर्नुपर्छ । हाम्रा कानुनहरू अझै पनि शासकमैत्री रहेका छन् तिनलाई जनमैत्री बनाउनुपर्छ । चुनावी प्रक्रियामा पनि सुधार गर्नुपर्छ । आगामी दिनमा यसतर्फ शासन व्यवस्थाका खेलाडीहरूको ध्यान जावस् । महाभारतको पात्र कर्णको जस्तो नकारात्मक भूमिकामा कोही नलागुन् । गणतन्त्र दिवसको यस सुखद अवसरमा सबैलाई हार्दिक शुभकामना ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७७, शनिबार ०६:५३