दलितहरूमाथिको विभेद हटिसक्यो ?

दलित मुद्दाबारे साथीहरूबीच अनौपचारिक रूपमा कुरा हुँदा प्रायः उठ्ने विषय हो, के अझै पनि दलित अधिकारकर्मीले भनेजस्तो विभेद कायम छ र ? सार्वजनिक रूपमा स्कुल क्याम्पस, होटल–रेस्टुरेण्ट र मन्दिरहरूमा छुवाछुत भएको त देखिंदैन । अझ दलित र गैरदलितहरूसँगै बसेर चियाखाजा खानु, पिकनिक जानु त सामान्यजस्तै भइसक्यो । तर पनि अझै किन उनीहरू विभेद छ भनिरहेछन् ?
यसरी कुरा गर्नेहरू भने सबै सहरमा बस्ने गैरदलित समुदायका नै हुन्छन् । अझ कहिलेकाहीँ निजामती सेवामा दलितलाई दिइने आरक्षणको बारेमा कुरा गर्दा आरक्षण जातीय आधारमा नभएर वर्गीय आधारमा दिइनुपर्दछ र जातीय आरक्षण बन्द गरिनुपर्दछ भन्ने तर्क पनि निकै जोडतोडका साथ उठ्छ । तर के माथि भनिएझैं हाम्रो समाजमा दलितहरूमाथि गरिने विभेदको अन्त्य भइसक्यो त ? त्यसो भए अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँ निकाला गरिएको, गाउँलेहरूले आक्रमण गरी हत्या गरेका, चुल्हो र धारो छोएको निहुँमा कुटेर मारिएका समाचारहरू किन आइरहेछन् त ?
नेपालको संविधानले जातीय विभेद र छुवाछुतलाई दण्डनीय भनेको छ । मुलुकी संहिता लगायत कानुनहहरूले पनि जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाएका छन् । कार्यान्वयनका सवालमा कमजोरी निश्चितै रूपमा होलान् तर यसरी प्रष्ट कानुनी व्यवस्थाले गर्दा केही हदसम्म देखिने गरी हुने छुवाछुत कम भएको छ । खासगरी सार्वजनिक रूपमा मन्दिर, धारा विद्यालयहरूमा प्रवेश गर्न नदिइने कुरामा कमी भएको देखिन्छ । तर निर्मूल भएको छैन ।
केही वर्ष अघिसम्म मात्र पनि आर्थिक रूपमा सम्पन्न केही दलितहरूको घरमा विवाह हुँदा गैरदलितहरूको लागि अलग्गै स्थानमा भोज गरिएको देखेको र सहभागी भएको आधारमा भन्दैछु, यो अवस्थामा कमी मात्रै आएको छैन, बाक्लो दलित बस्ती रहेको मेरो टोलमा यस्ता चलन हटीनै सक्यो । तर यसो भन्दैमा देशैभरी यस्तो अवस्था छ भन्न खोजेको होइन । नेपालमा धेरै यस्ता गाउँहरू पनि छन् जहाँ दलित र गैरदलितसँगै बसेर चिया खाने र एउटै कुवा वा धारो प्रयोग गर्ने भन्ने कल्पना मात्र पनि गर्न सकिंदैन । केही वर्षअघि साझा सवालको एउटा एपिसोडमा तराइको कुनै जिल्लामा अभिनेता राजेश हमालसमेतको उपस्थितिमा दलितले सार्वजनिक इनारबाट पानी झिक्न लाग्दा कथित उपल्लो जातका व्यक्तिले अवरोध गरेको कुरा धेरैले बिर्सेका छैनन् ।
यस्ता अनेक घटनाले पनि देखाउँछन् कि सहरी क्षेत्रहरूमा, अझ सार्वजनिक रूपमा देखिने गरी गरिने विभेदका घटनामा केही कमी आएको त होला तर त्यो देखाउँदै दलितहरूमाथिको विभेदको अन्त्य भइसक्यो भन्नु तर्कसङ्गत लाग्दैन । समतामूलक समाज निर्माणको लागि यति नै काफी छ त ? टोलको चियापसलमा दलित र गैरदलितले सँगै बसेर चिया खाजा खाँदैमा वा दलित र गैरदलित बच्चाहरू क्लासमा एउटै बेञ्चमा बसेर पढ्दैमा हाम्रो मनमा सदियौंदेखि गाढिएको जातपातको पर्खाल ढल्यो भन्न मिल्छ त ?
हाम्रो समाजमा हामी जन्मदाँ एक्लै जन्मदैंनौँ । साथसाथै आफ्नो जात पनि लिएर आएका हुन्छौँ । र, जातसँगै लिएर आएका हुन्छौँ त्यसले दिने संरचनात्मक लाभांश । म क्षेत्रीको घरमा जन्मिनु वा मेरो कुनै साथी सार्कीको घरमा जन्मिनु अरु केही नभएर केवल एउटा संयोग हो । तर हाम्रो सामाजिक संरचनाले गर्दा त्यो संयोग मेरो लागि सुखद भइदिन्छ भने उसको लागि दुःखद् । दुवैको परिवारको उस्तैखाले आर्थिक अवस्था छ भने पनि समाजले घोषित अघोषित रूपमा उसका अगाडि यस्ता पर्खाल खडा गरिदिन्छ कि ‘तल्लो जात’मा जन्मिएको बच्चाले सानैदेखि एक किसिमको हिनभावना पालेर बस्छ । किशोर अवस्थामा कसैलाई मन पराउँदा पनि जात सोचेर हच्कनुपर्ने, आफ्नो जातको अरु कुनै व्यक्तिले बद्मासी गर्दा पनि ‘यी तल्लो जातका यस्तै हुन’ वा ‘फलानाले जात जनायो’ भनेर ‘रेसियल प्रोफाइलिङ’ गरेको सुन्नुपर्ने । यस्ता धेरै उदाहरणहरू छन् जसले हाम्रो समाजमा गहिरोसँग गाँढिएर रहेको जातीय विभेदको अवस्था देखाउँछन् ।
हामी सहभोजको नाममा दलितहरूसँग सँगै बसेर पिकनिक त खान्छौं र सामाजिक सञ्जालमा ‘परिवर्तित समाजको तस्बिर’ पोष्ट पनि गर्छौं तर घर आएर छोरीलाई बिहे त कुल खानदानमै गर्नुपर्छ भनेर ‘संस्कार’ सिकाउँछौं । जातपातमा विश्वास गर्दैनौं भनेर साथीहरूको सर्कलमा प्रगतिशील त देखिन खोज्छौं तर भित्रभित्रै आफू ‘क्षेत्री लडाकुहरूको सन्तान’ भएकोमा गर्व गर्छौं । सार्वजनिक रूपमा देखिने गरी मन्दिर वा चिया पसलहरूमा विभेद त गर्दैनौं तर आफूभित्र रहेको ‘जात’ को श्रेष्ठताको अंहकार छोड्न सक्दैनौं । हामी त्यसरी नै हुर्कियौँ । जातीवादी वर्णाश्रम व्यवस्था हाम्रो अवचेतन मनमा यसरी गढिसक्यो कि जति आधुनिक र शिक्षित भए पनि केही कसैलाई केही भन्न पर्दा हामी जातीय उँच–निच दर्शाउने गाली र उखानको प्रयोग सहजै गरिदिन्छौँ । कसैलाई असभ्य वा फोहरी भन्नुपर्यो भने कुनै जात विशेषजस्तो भनेर हामी आफूमा रहेको सिंगो समुदायप्रतिको हेयभाव सजिलै प्रकट गरिदिन्छौँ । हामीले जानी–नजानी विभेदलाई आफूभित्र यसरी संस्थागत ग¥यौं कि हामी यसैमा अभ्यस्त भइसक्यौं । रुकुम घटना यस्तै सोचको विष्फोट मात्र हो ।
धेरैजसो गैरदलितलाई समाजमा विभेद छ भन्ने नलाग्नुको पनि कारण छन् । हामीले कहिले पनि आफ्नो नाम पछाडि झुण्डिएको थरले हिनताबोधको महशुस गराएन । कोठा भाडा खोज्न जाँदा वा कुनै सरकारी कार्यालयमा जाँदा आफ्नो थरको कारणले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेन । कतिपय अवस्थामा त हाम्रो थरले हामीलाई उल्टै सहज अवस्था पनि ल्याएको हुनुपर्छ । टोलको कुनै किशोरले फेसबुकमा आफ्नो थर वास्तविक थर विश्वकर्मा नलेखेर गौतम किन लेख्यो होला भनेर हामीले कहिल्यै सोच्यौं ? बरु ठूलो पल्टिन जात चाहिँ हाम्रो लेख्ने तर फेरि उनैलाई आरक्षण चाहिने भनेर उनीहरूको खिसिट्यूरी गर्र्यौं ।
सार्की, कामी, विश्वकर्मा जस्ता थरलाई ‘स्टिग्माटाइज’ गर्ने र दलित किशोर–किशोरीहरूलाई उनीहरूको जात थर सानो हो भनेर बारम्बार महसुस गराएको हामीले होइन ? अनि हामीलाई लाग्छ मैले ब्राम्हण, क्षेत्री वा ठकुरी भएर के लाभ लिएको छु र दलितहरूलाई आरक्षण चाहियो ? हाम्रो सामाजिक संरचनाको कारणले गर्दा हाम्रो जातले दिएको त्यो ‘प्रिभिलेज’ नै हामीले पाएको लाभ हो । हामीलाई कहिल्यै आफ्नो जात लुकाउन सिकाइएन बरु जात र ‘पूर्खाको विरासत’माथि गर्व गर्न सिकाइयो, त्यो हामीले पाएको लाभ हो । अरु कुराले रोके छेके पनि जातकै आधारमा नवराज विकले जसरी भेरीमा डुब्नु पर्दैन भन्ने हामीलाई थाहा छ । त्यो नै हामीले पाएको लाभ हो । सदियौंदेखि जन्मको आधारमा विभेद हामीले भोगेका होइनौं त्यसकारण विभेद सकिएको छैन भन्ने हामीले मसशुस गर्ने उपयुक्त पात्र पनि हामी होइनौं ।
प्रकाशित मितिः १५ जेष्ठ २०७७, बिहीबार ०७:०१
साझा बिसौनी ।