हिंस्रक मनोविज्ञान

जातका आधारमा गरिने विभेद आजको समय सुहाउने कुरै होइन । झन विभेदले कसैको ज्यान लिनेजस्तो जघन्य घटनाको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । योभन्दा ठूलो र आततायी अपराध अरु हुन सक्दैन । तर नेपाली समाजमा यस्तै क्रुरताजन्य अपराध भइरहेका छन् । जातका आधारमा मानव–मानवबीचको विभेद केबल ‘पानी नचल्ने’ संस्कारमा मात्र सीमित छैन व्यक्तिको ज्यानै लिने अपराधसमेत हुने गरेको छ । यसका एक होइन अनेक उदाहरण हाम्रै समाजमा छन् ।

पछिल्लो पटक कर्णालीका दुई जिल्लामा यस्तै एक घटना भएको छ । दलित युवाले कथित माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै युवतीका आफन्तले आक्रमण गर्दा जाजरकोटका तीन जना युवाले ज्यान गुमाएका छन् । जिल्लाको भेरी नगरपालिका–४ का दलित युवा नवराज विक आफ्ना साथीहरू लिएर प्रेमिका लिन पश्चिम–रूकुम पुगेका थिए । ठकुरी थरकी युवतीका आफन्तले थाहा पाएर आक्रामण गर्दा नवराजसहित टिकाराम सुनार र गणेश बुढामगरको ज्यान गएको छ । अन्य तीन जना शनिवारदेखि नै वेपत्ता छन् ।

घटनाको सत्यता छानविनपछि आउला । तर यो घटनाले हाम्रो सामाजिक अवस्था र स्तरबारे सोच्न बाध्य बनाएको छ । किनभने यस्तो घटना मानव समाज र चेतनामाथिको कलङ्क हो । जुन कलङ्कले हाम्रो आजको समाज र हाम्रो चेतनाको स्तर झल्काउँछ । त्यसो त घटनाको कारण जातीय विभेद हो या होइन भन्ने विषयमा सार्वजनिक मत विभाजन भइरहेको छ । यद्यपि अन्तरजातीय प्रेम वा विवाहकाबीच जातीय विभेदकै तगारो बनेका अनेकौं घटना समाजमा हुँदै आएका छन् । कथित माथिल्लो जातका भनिएकाहरूबाट दलित समुदायमाथि आक्रमण गर्ने र कुटपिटदेखि हत्या गर्नेसम्मका घटना पनि अनेक छन् । त्यसमाथि युवती लिन गएका युवाहरूका भनाइ अनुसार जातीय विभेदयुक्त गालीगलौच गर्दै आक्रामण गरिएको थियो । गाली पनि कानुनी रूपमा बर्जित कार्य हो ।

अर्कोतर्फ कुटपिट, आक्रमण, हत्या वा ज्यान फाल्न बाध्य बनाउनु आफैमा अपराध हो । यसमा जातीय विभेदको कारण होस् या नहोस् । युवती लिन आएकाहरूलाई त्यसका लागि रोक्न वा प्रहरी प्रशासनको सहयोग लिएर कानुनी उपचार खोज्न सकिने अवस्था हुँदाहुँदै आक्रमण गरेर कुटपिट गर्नु र नदीमा हामफाल्न बाध्य बनाउने घटनालाई सामान्य दुर्घटनाका रूपमा हेर्न सकिन्न । घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ ।

जाजरकोट–रूकुम घटनाको सत्यतथ्य छानविनमा सम्बन्धित निकायले गम्भीरतापूर्वक हेरोस् । दोषी नउम्किउन् । पीडितले न्याय पाउने वातावरण सिर्जना होस् । कुनै पनि कारण वा वहाना बनाएर पिडक उम्काउने प्रयास भयो भने आगामी दिनमा समाजमा यस्ताखालका अपराधजन्य घटना दोहोरिरहने छन् । किनभने यो परिस्थितिजन्य घटना मात्र नभएर समाजको हिंस्रक मनोविज्ञानको उजागर पनि हो । यस्तो कार्य र घटनालाई कानुनी उपचारमार्फत निरुत्साहित र नियन्त्रण गर्नुपर्दछ । सामाजिक जकड र कलङ्कको टिका लगाएर आजको समाज कायम रहनु यो युगकै लज्जा हो ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७७, बुधबार ०७:११