संक्रमितको उपचारमा लापरबाही

  संक्रमित व्यक्तिलाई राखिएको नारायण नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय

जेठ १ गते आठबिस नगरपालिका दैलेखका ३९ जना एकसाथ भारतबाट फर्किए । महेन्द्रनगरमा १४ दिन क्वारेन्टाइनमा बसेर आए पनि संक्रमित देशबाट आएकाले नगरपालिकाको सल्लाह बमोजिम उनीहरू स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसे ।

स्वास्थ्यमा कुनै समस्या वा लक्षण नदेखिए पनि परीक्षण गराएपछि आफूलगायत परिवार र समुदायलाई नै ढुक्क हुने भन्दै उनीहरूको पीसीआर विधिबाट कोरोना परीक्षण गरियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाबाट जेठ ३ गते गएको स्वास्थ्य टोलीले उनीहरूको स्वाब सङ्कलन गरी प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतमा ल्यायो । ३८ जनाको रिपोर्ट नेगेटिभ आयो । एक जनाको रिपोर्ट पोजेटिभ देखिए पनि त्यसलाई पुनःजाँचको लागि प्रदेश नं. ५ को बाँके पठाइयो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ आयो ।

रिपोर्ट आएको करिब ३८ घण्टा पछि डाक्टरसहित गएको टोलीले संक्रमित युवालाई उपचारको लागि भन्दै दैलेख सदरमुकामतर्फ लग्यो तर राखियो नारायण नगरपालिका–८ को सरस्वती माध्यमिक विद्यालय झुप्रेसालमा । उनी अहिले त्यही विद्यालयमा बनाइएको आइसोलेसनमा छन् । विद्यालयमा आइसोलेसन कक्ष तयार गरिएको छ । तर उक्त आइसोलेसन कोरोना संक्रमितको उपचार गर्ने मापदण्ड अनुसारको भने छैन ।

कोरोना संक्रमितको उपचारका लागि भनेर प्रदेशका तीन वटा अस्पताललाई तोकिएको छ । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमलाई कोरोना उपचार विशेष आइसोलेसन अस्पतालको रूपमा विकास गर्न प्रदेश सरकारले पनि ठूलै रकम खर्चिएको छ । प्रदेशकै पहिलो कोरोना संक्रमितलाई भने अस्पतालमा नभइ विद्यालयमा राखिएको छ । जुन न सुविधायुक्त छ न त विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मादपण्डअनुसार नै छ ।

नगरपालिकाकी उप–प्रमुख दीपा बोहोराले उपचारका लागि अस्पताल भर्ना गर्नुपर्ने भए पनि प्रदेश सरकारले विभेद गरेको बताइन् । उनका अनुसार सरस्वती माध्यामिक विद्यालय झुप्रेसालको एउटा भवनमा एक जना डाक्टर र दुई जना नर्स बस्दै आएको र कोरोना संक्रमित बिरामी एक्लै अर्को भवनमा बस्ने गरेका छन् । ‘कोरोना उपचार नगरी विद्यालयमै राख्ने भए यहीँ राखे हुन्थ्यो नि । किन लैजानु जङ्गलको विद्यालयमा ?’ उनले प्रश्न गरिन् ।

आफूले बारम्बार जिल्ला अस्पताल दैलेखका प्रमुखलाई फोन गरी बुझ्दा अहिले नै कोरोनाका लागि आइसोलेसन निर्माण गर्ने अवस्था नभएको जानकारी पाएको उनले बताइन् । दैलेख पुगेर प्रदेशका सामाजिक विकास मन्त्रीले डेढ करोडको ‘ललीपप’ देखाएर संक्रमित बिरामीलाई जङ्गलमा मनोबल गिर्ने गरी राख्न बाध्य बनाएको उनले आरोप लगाइन् । कोरोनाको कुनै उपचार नभएको भन्दै उप–प्रमुख बोहोराले भनिन्, ‘यो बेलामा बिरामीलाई प्रयोगशाला बनाउनुभन्दा हौसलाको जरुरी पर्छ । राज्यले समेत छि–छि, दूरदूर गर्दा उसको मनोबल घट्छ ।’

आफ्नो उपचारमा कुनै संवेदनशीलता नअपनाइएको भन्दै संक्रमित युवाले त्यहाँबाट उद्धार गर्न हारगुहार गरिरहेका छन् । आठबीस नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सर्वजीत विश्वकर्माले बिरामी युवाले टेलिफोन गरेर उद्धारको लागि माग गरेको बताए । बिहान–बेलुकी थर्मोमिटर लिएर नर्सहरूले ज्वरो नाप्ने गरे पनि अन्य उपचार भने केही नभएको उनले बताए । ‘कर्णाली प्रदेशमा एक जना मात्रै संक्रमित हुँदा सरकारले यस्तो हविगत देखायो’ उनले प्रश्न गरे ‘भोलि सोच्नुस् ठूलो संख्यामा कोरोना संक्रमित बढे भने के होला बिरामीको हालत ?’ उनले तातोपानी र कागतीको झोल खान दिएर मात्रै जङ्गलमा बिरामी बसाल्नुभन्दा आफ्नै वडामा बस्न दिनुपर्ने समेत बताए ।

यता जिल्ला अस्पताल दैलेखका डा. निरञ्जन पन्तले विद्यालयको भवनलाई अस्पतालको रूपमा दुई महिना अगाडिदेखि प्रयोग गरेको बताए । ‘अस्पतालको भवनमा सुत्केरीहरूलाई संक्रमण हुन सक्छ’ उनले भने ‘विद्यालयको पक्की भवनलाई अस्पतालको रूपमा प्रयोग गरिएको हो ।’ दुई जना नर्स र एक जना डाक्टरसहित अक्सिजन सेवा उक्त विद्यालय भवनबाट दिइरहेको उनले बताए ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७७, शुक्रबार ०८:२५