कर्णालीमा खतराको घण्टी

  थर्मल गनबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ज्वरो जाँच गरिँदै । फाइल फोटो

 

दैलेखका एक युवामा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड–१९)ले प्रवेश गरेको छ । भारतबाट फर्किएका दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवामा मंगलवार संक्रमण पुष्टि भएको हो । कर्णालीमा संक्रमित भेटिएको यो पहिलो घटना हो । तर यही एक जनामा देखिएको संक्रमण सिङ्गो प्रदेशकै लागि भने खतराको घण्टी हो । यसअघि अन्य ६ वटा प्रदेशमा धमाधम कोरोना संक्रमित भेटिँदासम्म पनि जोगिएको कर्णाली अब जोखिमरहित रहेन । बरु थप खतराको सङ्केत देखिएको छ ।

परीक्षण नै सुस्त

कोरोना संक्रमण परीक्षणका लागि दुई वटा विधि अपनाइएको छ । एउटा हो ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र दोस्रो थ्रोट स्वाब परीक्षण गर्ने पोलिमेरीज चेन रियाक्सन (पीसीआर) । कर्णाली प्रदेशमा दुवै विधिबाट परीक्षण भइरहेको छ । तर परीक्षणको गति भने सुस्त छ ।
सबैभन्दा कम संख्यामा आरडीटी परीक्षण गर्ने प्रदेशमा गण्डकी पछि दोस्रोमा कर्णाली छ । हालसम्म कर्णालीका सात हजार पाँच सय ९३ जनामा आरडीटी परीक्षण गरिएको छ । जबकी छिमेकी प्रदेश नं. ५ मा नौ हजार तीन सय ५३ र सुदूरपश्चिममा १८ हजार भन्दा बढीमा परीक्षण गरिसकिएको छ ।

आरडीटी परीक्षणमा मात्र होइन पीसीआर परीक्षणमा पनि कर्णाली सुस्त नै छ । अहिलेसम्म करिब तीन हजार जनामा पीसीआर परीक्षण भएको छ । आरडीटीलाई भन्दा पीसीआर परीक्षणलाई बढी प्रभावकारी मान्ने गरिएको छ । संक्रमणको पुष्टि गर्न पीसीआर परीक्षण गर्ने गरिन्छ । तर कर्णालीमा भने दुवै विधिबाट गरिने परीक्षण दू्रत र प्रभावकारी हुन सकिरहेको छैन ।

पूर्वसावधानी नहुँदा जोखिम

नेपालमा देखिएका कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरू हुन् । कर्णाली प्रदेशमा पनि ठूलो संख्यामा नागरिक भारतबाट भित्रिएका छन् । दैलेखमा संक्रमण देखिएका व्यक्ति पनि केही दिन पहिले भारतबाटै आएका थिए ।

पछिल्लो एक सातायता मात्रै भारतबाट तीन सय ३९ जना कर्णाली भित्रिएका छन् । यी त सरकारकै समन्वयमा उद्धार गरेर ल्याइएका हुन् । त्यसअघि लकडाउनकै अवधिमा झण्डै १० हजार नागरिक भारतबाट प्रदेशमा भित्रिए । उनीहरू सबै सिधै सम्बन्धित स्थानीय तहमा गएका थिए ।

यस्तै केही दिनभित्र भारतबाट मात्रै करिब २० हजार नागरिक प्रदेश फर्कने अनुमान गरिएको छ । प्रदेश सरकारले उनीहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा रहने गरी जिम्मा लगाएको छ । भारतबाट आएकाहरूलाई सुर्खेतको क्वारेन्टाइनमा नराखी सिधै गाउँ पठाउँदा जोखिम पनि बढेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना राख्न मिल्ने क्वारेन्टाइन खाली भए पनि प्रदेश सरकारले भारतबाट आएकाहरूलाई सिधै गाउँ पठाएको हो । प्रदेशले सञ्चालन गरेको वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा हाल नौ जना मात्रै बसिरहेका छन् ।

प्रदेश पन्छियो, स्थानीय तह त्रसित

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्रोत–साधन नै नभएका स्थानीय तहलाई बाहिरबाट आएका मान्छे जिम्मा लगाएर प्रदेश सरकार पन्छिए पछि स्थानीय तहहरूले आपत्ति जनाएका छन् । प्रदेश सरकारले भारतबाट आएकालाई स्थानीय तहकै भरमा सिधै गाउँ पठाएर लापरवाही गरेको हो । यसरी भित्रिनेलाई सीमा नाकामा क्वारेन्टाइन बनाएर राख्नु पर्नेमा सिधै गाउँ पठाएको भन्दै प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले प्रदेश सरकारले नै क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण पछि मात्रै पठाउनुपर्नेमा सिधै पठाउँदा गाउँमा संक्रमणको जोखिम देखिएको बताए । ‘हामीसँग स्वास्थ्यकर्मी छैनन् । स्रोत–साधन छैन,’ उनले भने ‘स्थानीय तहकै भरमा सयौं मान्छे गाउँ पठाइँदा अवस्था भयावह हुनसक्छ ।’ भारत गएकाहरू गाउँ फर्कन थालेपछि स्थानीय त्रसित भएको उनले जानकारी दिए ।

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पनि प्रदेश सरकारले सीमामा क्वारेन्टाइन बनाउनुपर्ने र पीसीआर परीक्षण पछि मात्र स्थानीय तहमा पठाउनु पर्ने बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले ठोस कार्ययोजना नबनाएको भन्दै यही अवस्था रहे थप सङ्कटको स्थिति आउन सक्ने उनको भनाइ छ ।

यता प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अहिले भारतबाट आएकाहरूलाई प्रदेश नं. ५ मा परीक्षण भएकाले यहाँ नगरेर सम्बन्धित स्थानीय तहमा पठाइएको दावी गरेकी छिन् । ‘हाल उहाँहरू सबैको रिपोर्ट नेगेटिभ आएकाले यहाँ परीक्षण नगरेरै सम्बन्धित तहमा पठाइएको हो,’ मन्त्री केसीले भनिन् । स्थानीय तहमा १४ दिनसम्म क्वारेन्टाइन राखेर परीक्षण पछि मात्रै घर पठाउने व्यवस्था गरिएको उनको दावी छ ।

व्यवस्थित छैनन् क्वारेन्टाइन

अन्य जिल्ला तथा विदेशबाट फर्किएकाहरूलाई राख्नका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार कर्णालीभित्र मंगलवारसम्म ६ सय ९९ जना क्वारेन्टाइनमा छन् । तर यहाँका क्वारेन्टाइनमा पनि आवश्यक सावधानी र सतर्कता नअपनाइएको पाइएको छ ।

केही समयअघि मात्रै जुम्लामा मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले अदालतमा मुद्दा दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायलाई मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन गर्न र सरोकारवाला निकायलाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको थियो । यद्यपि अहिले पनि प्रदेशभित्रका क्वारेन्टाइन कामचलाउ मात्रै भएको गुनासो आउने गरेको छ । क्वारेन्टाइनको एउटै कक्षमा धेरै जनालाई राख्ने गरिएको छ । यसले गर्दा कोरोना संक्रमणको थप जोखिम बढेको छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७७, बुधबार ०८:१७