हेलचक्य्राइँ नगर

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको छ । लकडाउन गर्नुको अर्थ अत्यावश्यक काममाबाहेक कोही पनि घरबाहिर ननिस्कनु हो । अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिदका लागि भने निश्चित समय तोकेर पसलहरू सञ्चालन गर्न अनुमति दिइएको छ । जस्तो कि सुर्खेतमा हप्तामा तीन दिन बिहान दुई घण्टा खाद्य पसल सञ्चालन गर्न पाइन्छ । जसमा आवश्यक सतर्कतासहित व्यवसायीहरूले सामग्री बिक्री गर्ने र उपभोक्ताले पनि आवश्यक सतर्कतासहित नै खरिद गर्नुपर्दछ । तर वीरेन्द्रनगरमा भने यसको सही रूपमा पालना र कार्यान्वयन गरिएको छैन । बरु लकडाउनलाई नै बिर्साउने दृश्य बजारमा देखिन थालेका छन् । यसले थप जोखिम निम्त्याउने खतरा रहिआएको छ ।

वीरेन्द्रनगर बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसलमा हरेक सोमवार, बुधवार र शुक्रवार बिहान (७–९) दुई घण्टा सामान किनमेल गर्नेको भिड लाग्छ । खाद्य पसलहरूमा देखिने उपभोक्ताहरूको भिडले लकडाउनलाई गिज्याइरहेको भान हुन्छ । सम्भावित जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउन नै बिर्साउने यस्ता दृश्यले कोरोना प्रतिकार्यमा भइरहेको बेवास्ता र गैरजिम्मेवारीपन दर्शाउँछन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको समन्वयमा सातामा तीन दिन बिहान दुई घण्टा उपभोग्य पसल खुलाउन दिने निर्णय गरेको हो । साथमा पसल र उपभोक्तालाई सावधानी अपनाएर मात्रै खरिद–बिक्री गर्न भनिएको छ । तर, न बिक्री गर्ने व्यापारीले सावधानी अपनाएको देखिन्छ न त खरिद गर्ने उपभोक्ताले नै । क्रेता–बिक्रेता दुवैले मास्कको प्रयोग, एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरीलगायतका सावधानी अपनाउने गरेका छैनन् ।

दैनिक उपभोग्य वस्तुका पसल मात्रै होइन पछिल्लो समय हार्डवयर पसललाई पनि सञ्चालन गर्न दिइएको छ । बैंकहरू खुलेका छन् । जसले गर्दा बजार क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छैन । मानिसहरू सडकमा दिन प्रतिदिन बढ्दै गइरहेका छन् । लकडाउन कार्यान्वयनका लागि सडकमा खटाइएका सुरक्षाकर्मीहरूले पनि पछिल्लो दिनहरूमा पर्याप्त निगरानी गरेको देखिंदैन । सडकमा हिँड्नेदेखि पसलमा किनमेल गर्नेको त्यस्तै घुइँचो लाग्ने गरेको छ । असावधानी देखिन्छ । कसैले पनि सतर्कता र संवेदनशीलता अपनाएको पाइँदैन । तर पनि जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघले बजार व्यवस्थापनमा वास्ता गरेका छैनन् ।

अहिलेको लकडाउन वा बन्दाबन्दी अन्य कारणले गरिएको बन्द वा हड्ताल होइन । यो त सिङ्गो विश्व नै जुधिरहेको कोरोना भाइरसको महामारीविरुद्ध जुध्नका लागि गरिएको पूर्व तयारी र सतर्कता हो । यसको पालना गर्नु अनिवार्य छ र सबैको कर्तव्य पनि हो । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको छ । संक्रमित नभेटिएको एक मात्र प्रदेश कर्णालीमा पनि कोरोना भित्रिसकेको अवस्था छ । यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तु बिक्री पसल होस् या हार्डवयर र बैंकहरू, जहाँ मानिसहरूको भिडभाड हुने गर्दछन् त्यस्ता क्षेत्रमा उच्च सतर्कता र संवेदनशीलता अपनाउन अपरिहार्य छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७७, बुधबार ०८:०४