स्थानीय बजारमा महङ्गी बढ्याे

दैलेखको गुराँस गाउँपालिका–६ तल्लो नयाँखर्कका महेन्द्र बुढाले एक सय ८० रूपैयाँमा किन्ने गरेको सूर्यमुखी तेलको एक लिटर बोतललाई २ सय ३० रुयैयाँ तिरे । उनले केही दिनको अन्तरमा स्थानीय बजारमा एक लिटर तेलको मूल्य ५० रूपैयाँ बढी तिर्नु परेको हो । लकडाउनपछि गाउँका खाद्य तथा खुद्रा पसलहरूमा महङ्गी बढेको छ । खरिद नै महङ्गो परेको भन्दै स्थानीय व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् ।

स्थानीय बजारमा दाल, चामल, तेल लगायतका अत्यावश्यक खाद्यान्नको मूल्य बढाइएको छ । बजार अनुगमन नहुँदा व्यापारीले आफूखुसी मूल्यमा खाद्य वस्तु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

गुराँस गाउँपालिका–४ की विमला शाहीले सामान नपाइने भएका कारण पनि व्यापारीले भनेकै मूल्य तिर्न बाध्य भएको बताइन् । ‘एक त गाउँमा सामान नै पाइँदैन,’ उनले भनिन्, ‘मुस्किलले पाइहाले पनि छोइनसक्नु मूल्य छ ।’ लकडाउनपछि हरेक सामानमा महङ्गी बढेको उनले सुनाइन् । स्थानीय सरकारले समेत बजार अनुगमनमा चासो नदिएका कारण आफूहरू महङ्गीको मारमा परेको शाहीले बताइन् ।

स्थानीय बजारमा यतिबेला खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभावसँगै महङ्गी बढेको छ । सामान पाउनै समस्या भएपछि ग्रामीण क्षेत्रका उपभोक्ता व्यापारीले भनेकै मूल्य तिर्न बाध्य हुने गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकले लकडाउनको समयमा ४० देखि ४५ प्रतिशतले महङ्गी बढेको बताए । उनले जिल्ला प्रशासनको मौनताका कारण व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी महङ्गी बढाएको जनाए । ‘बजारमा व्यापारीको मनपरी छ,’ उनले भने, ‘जिल्ला प्रशासन र स्थानीय तहहरूले बजार अनुगमन नगर्दा उपभोक्ता मर्कामा छन् ।’ नियमनकारी निकायले तत्काल बजार अनुगमन नगर्दा महङ्गी झनै बढ्ने उनले औंल्याए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले मन्त्रालय मातहतको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई अनुगमन गर्ने अधिकार भए पनि कारबाही गर्ने अधिकार नभएको बताए । ‘जिल्ला प्रशासनले जस्तो अनुगमनपछि कारबाही गर्ने अधिकार प्रदेश मातहतका कार्यालयलाई छैन,’ उनी भन्छन् ‘अनुगमन गरेर मात्रै पनि औचित्य छैन ।’ जिल्ला तहमै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अहिलेको परिस्थितिका कारण बजार अनुगमन गर्न नसकिएको बताए । उनले गत वैशाख १९ गते वीरेन्द्रनगरका केही खाद्य स्टोरहरूको अनुगमन गर्दा महङ्गीको अवस्था नभएको पाइएको जनाए । यतिबेला अनुगमनलाई निरन्तरता दिन सक्ने अवस्था नभए पनि आवश्यक देखिए जुनसुकै बेला बजारको अनुगमन गरिने उनले बताए ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार ०७:३२