विचार

कानुन पढौं

कानुन भनेको हाम्रो आचरण तथा नियम हो । कानुन हाम्रो बोली, वचन र बानी व्यवहारमा हुन्छ । प्राचीन मानव जातिको विकास र सभ्यताको सुरुवातसँगै कानुनको पनि अभ्यास गर्न थालिएको मानिन्छ । त्यतिबेला कानुन वैयक्तिक लक्ष्य र प्रतिबद्धताको स्वरूपमा थियो । व्यक्तिले जे बोल्यो त्यही नै कानुन हुन्थ्यो । कुन किसिमका समस्या आइपर्दा कसरी सामना गर्ने भन्ने विषय व्यक्तिमा निहित थियो । त्यस कारण पनि प्राचीन समयमा कानुन सभ्यताभन्दा आक्रामक प्रतिकार अर्थात घटनास्थलमा चालिने वैयक्तिक कदममा सीमित थियो भन्न सकिन्छ ।

मानवीय सभ्यताको विकासमा आएको परिवर्तनका कारण लेखन सीपको विकास भयो । विस्तारै आएको चेतनात्मक परिवर्तनले मनपरी मौखिक शासन पद्दतिको अन्त हुन पुग्यो । फलस्वरूपः कानुनले धेरै जसो समाजमा लिखित रूप धारण ग¥यो । महान दार्शनिक प्लेटो (४२७–३४७) ले इ.पू. ३८७ तिर स्थापना गरेको आफ्नो एकेडेमीमा कानुनको अध्यापन सुरु गरेका थिए । उनको पाठ्यक्रममा कानुन र तर्कशास्त्रको छुट्टाछुट्टै अध्ययन गराउनुपर्नेमा जोड दिइएको पाइन्छ । संयुक्त अधिराज्य बेलायतले मौखिक संविधानको सफल कार्यान्वयन गर्दै आएको छ । हाल विश्वका धेरै देशहरूमा सर्वोच्च निकायहरूले कानुन बनाइ जारी गर्ने र तोकिएका सबैले उक्त कानुनहरूको पालना गर्ने अभ्यास गरिरहेका छन् । ती मध्ये भारत, अमेरिका लगायतका केही मुलुकहरूको कानुनलाई कडा कानुन मानिन्छ भने भुटान, म्यान्मार आदि मुलुकहरूको संवैधानिक दस्तावेजलाई नरम कानुन मानिन्छ ।

जुन देशको कानुन आफू अनुकुल पालना गर्ने अवस्थामा हुन्छ त्यो नै नरम कानुन हो । त्यसैगरी कुनै कानुनले व्यक्तिको मौलिक हक समेत कुण्ठित गर्न सक्ने क्षमता राख्दछ भने त्यसलाई कडा कानुन भनिन्छ । नेपालको कानुनलाई नरम कानुनको रूपमा लिइन्छ । किन भने नेपालको संविधान २०७२ ले मृत्युदण्ड र देश निकाला गर्ने गरी कुनै कानुन बनाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ । नेपालको संवैधानिक कानुनी प्रावधान अनुसार व्यवस्थापिका संसद्ले कानुन बनाउने र जारी गर्ने कार्य गर्दछ । कानुन तर्जुमाको मामिलामा संघीय संसद्सभा नै सर्वोच्च निकाय हो । ऐनमा आधारित रही नियमावली र निर्देशिका जारी तथा संशोधन र खारेज गर्ने अधिकारहरू कार्यपालिकालाई प्रत्यायोजन गरिएका छन् । नेपालको सन्दर्भमा नेपालको संविधान २०७२ सबै भन्दा बलियो कानुन हो । नेपालको संविधान, २०७२ धारा १ उपधारा (१) मा लेखिएको छ,– ‘यो संविधान नेपालको मुल कानुन हो । यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ ।’ त्यसैगरी उपधारा (२) ले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनेको छ । यसर्थमा के गर्ने र के नगर्ने भन्ने कुरा थाहा नपाइकन कानुनको पूर्ण पालना गर्नु गराउनु दुवै असम्भव छन् । त्यसकारण पनि कानुन हाम्रो लागि महŒवपूर्ण छ । हामीले कानुनी व्यवस्था जान्न र तोकिएको नियम पालना गर्दै विश्वको एक असल छवि भएको नागरिक हुनको लागि कानुनको अध्ययन गर्नुपर्छ ।

कानुन भनेको कार्य प्रक्रियाको लागि पूर्व निर्धारित शर्त हो । अर्थात् कानुन एक सजाय र उपचारको व्यवस्थित, दूरदर्शी तथा स्पष्ट योजना हो । अर्को शब्दमा हरेक गतिविधिको लागि सम्भावित सबै तत्वहरू समेटेर गरिएको चिन्तन कानुन हो । मान्नुपर्ने भनि किटान गरी स्वीकार गरिएको आधिकारिक निकायबाट जारी कुनै पनि दस्तावेज कानुन हो । कानुनको शब्दकोश अनुसार ‘संविधान, न्यायाधिशहरूको राय, सुझाव, मान्यता प्राप्त रितीरिवाज प्रदत्त नियम, सरकारी घोषणा, प्रशासकीय अधिकारीको आदेश, राज्यको कानुन निर्माण गर्ने निकायबाट निर्मित नियम, मानवीय व्यवहार र आचरणका नियमहरू वा तत् सम्बन्धी सिद्धान्त वा प्रणालीको समष्टी नै कानुन हो ।’ यसर्थमा कानुन एक व्यापक क्षेत्र ओगटेको विषय हो । यसको जानकारीविना कुनै पनि व्यक्ति र निकायहरू व्यवस्थित र सभ्य हुन सक्दैन । किनकि हाम्रो दैनिकीसँग गाँसिएका सबै कुरा कुनै न कुनै रूपमा कानुनी स्वरूपमा रहेका हुन्छन् । केही व्यवहारहरू हामीले स्वतः अभ्यास गर्दछौं भने केही सांस्कृतिक र सामाजिक कारणले गर्नुपर्ने हुन्छ । यसरी अभ्यास गर्दा अनुभवको भरमा सबै ठीक हुन सक्दैन र व्यक्ति नजानीकन कुप्रथा संरक्षण गर्ने र पीडित हुने गर्दछ । त्यसकारण आफ्नो व्यवहारलाई ठीकसँग सौदाबाजी गराउन तथा समाजका चलनहरूमध्ये सही कुराको मात्र अनुशरण गर्न कानुन जान्नुपर्छ । कानुन अध्ययन गर्नाले समाजका कुप्रथा हटाउन र अपराधहरूको संख्या नियन्त्रण गर्न सघाउ पुग्छ । आफूलाई परेको समस्याको कानुनी उपचार खोज्न पनि कानुनको अध्ययनले सहयोग पु¥याउँछ ।

उमेरमा आउने परिपक्वतासँगै हामी प्रशासनिक कानुनको अभ्यास गर्दछौँ । शिक्षकलाई भनेअनुसारको गृहकार्य गरी देखाउनु, विद्यालयले लागू गरेको नियम मान्नु आदि सुरुवाती प्रशासनिक कानुनी अभ्यासहरू हुन् । परिवारका सदस्यले भने बमोजिम नाता व्यवहार गर्नु, संस्कार पछ्याउनु आदि सामाजिक कानुनी अभ्यासहरू हुन् । यस किसिमका कानुनहरू हामीले आफूले जानेर पालना गर्न सकेमा समाज अझै सभ्य र व्यवस्थित हुन सक्छ । यद्यपि नेपालमा सरकारी र निजी क्षेत्रबाट कानुनी साक्षरता प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरू निकै कम मात्र गर्ने गरेको पाइन्छ ।

कानुनको सही पालना गर्नु अनुशासित हुनु पनि हो । हामी अनुशासित हुन कानुनी प्रावधान थाहा पाउन जरुरी हुन्छ । कानुनको अध्ययनले मानिसलाई अनुशासित मात्र होइन सभ्य र तार्किक पनि बनाउँछ । त्यसैले आजको विश्वमा आफूलाई सबैतिर चलायमान राख्न र बढी भन्दा बढी फाइदा लिनको लागि संवैधानिक (संविधान लगायत लिखित कानुन), सामाजिक (रितीरिवाज र परम्पराका नियमहरू), वैयक्तिक (व्यवहार गर्नुपर्ने व्यक्तिको बारे पूर्व जानकारी), प्रशासनिक नियम आदि कानुनहरू जान्नु अत्यावश्यक छ । समग्रमा कानुन जान्नका लागि भन्दा कानुनी उपचारमा सहयोग गर्न पढ्नु पर्छ । कानुनबारे जानकारी राख्ने व्यक्ति मुद्दा मामिलामा अब्बल हुनु स्वभाविकै हो । त्योभन्दा पनि उसलाई कानुनको ज्ञानले एक परिपक्व विश्लेषक र कठोर वस्तु निष्ट निर्णय गर्न सक्ने बनाउँछ ।

सामाजिक दृष्टिकोणबाट हेर्दा कानुनले सामाजिक गतिविधिको एक विस्तृत विविधतालाई नियमितता प्रदान गरिरहेको छ । अझ भनौं समाजका हरेक क्रियाहरूलाई कानुनले व्यवस्थित र सही दिशामा सञ्चालन हुन मद्दत गरेको छ । त्यसकारण समाज पहिलेभन्दा निकै ठूलो जनघनत्वको भए पनि मिलेर बस्न सम्भव भएको छ । चाहे लिखित होस् या अलिखित कानुन साधारण मान्यतादेखि सन्धीसम्म विकसित छ । मानिसको सामाजिक व्यवहारलाई व्यवस्थित गर्दै सामाजिक संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो । बढ्दो जनसंख्यालाई ख्याल गर्दै समाजलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको मुख्य चुनौती हो । सामाजिक व्यवहार कर्तव्य केन्द्रित बनाउन कानुनी सचेतना नभइ नहुने कुरा हो । समाजलाई कुप्रथा मुक्त बनाउन र आदर्श समाजको निर्माण गर्न सबैमा प्रभावकारी कानुनी साक्षरता हुनुपर्छ ।

आजको विश्वमा समेत कतिपय अपराध नजानीकन हुने गरेका छन् । साइबर अपराध, बौद्धिक चोरी आदि घटनाहरू समेत बढ्दो क्रममा देखिन्छन् । सामाजिक शिष्टाचार बिगार्ने गतिविधिहरू समेत शिक्षित भनिने व्यक्तिहरूबाट हुने गरेका छन् । भ्रष्टाचार यसको ज्वलन्त उदाहरण हो । निश्चित शैक्षिक उपाधि हासिल गरेकाहरूमा पनि कानुनको ज्ञानको अभाव प्रष्टै देखिन्छ । परिणामस्वरूपः प्रत्यक्ष संलग्नभन्दा अप्रत्यक्ष वा नजानीकन स्वार्थीको फन्दामा परेकाहरूको संख्या निकै धेरै पाइन्छ । उदाहरणका लागि गलत निर्देशन दिने भन्दा त्यस्ता आदेशको पालनकर्ता नै दोषी हुन्छ । कानुनको विशेषता प्रमाण नभेटी नसमात्ने र प्रमाण भेटिएको अवस्थामा नछोड्नु हो । हामीले कानुनी र गैरकानुनी कामबारे थाहा पाएनौँ भने कानुनको प्रमाणविना नसमात्ने र प्रमाण देखिएसम्म नछोड्ने बलियो विशेषता हाम्रो लागि ठूलो कमजोरी बन्दछ ।

केही टाठा व्यक्तिहरू कानुनलाई नै छलेर स्वार्थ पूर्ति गर्न केही हदसम्म सक्षम छन् । समाजका व्यक्तिमा कानुनी प्रावधान सम्बन्धी जानकारीको अभावमा पर्याप्त विश्वसनीय सूचनाहरू प्राप्तीमा कठिनाइ उत्पन्न भएको छ । तसर्थ यी सबै समस्याको एक मात्र समाधानको साँचो भनेको कानुनी साक्षरता हो । कानुनको अध्ययन हो । कानुनको अध्ययले त्यस समाजका मानिसहरूलाई उपचारको मात्र ज्ञान दिँदैन सुक्ष्म अपराध पनि चिन्न र त्यसको रोकथाम गर्न पनि सहयोग पु¥याउँछ । कानुन समृद्ध समाजको सुव्यवस्थित आधारशीला हो । त्यसैले जनताहरू कानुनी रूपमा शिक्षित तुल्याइनु पर्छ । जहाँ कानुन जान्नेहरूको जमात धेरै हुन्छ त्यहाँ उत्तरदायित्व निर्वाहको मात्रा धेरै हुन्छ । त्यसैले हामी समाजलाई निरन्तर शक्तिशाली बनाउन कानुन अध्ययन गर्नुपर्छ ।

कानुन परिवार, समाज, राष्ट्र र विश्व सञ्चालनको निम्ति नभइ नहुने महŒवपूर्ण कडी हो । विगतभन्दा यो केही व्यवस्थित र राम्रो बनाइए पनि प्रचार–प्रसारमा खासै जोड दिइएको पाइँदैन । राष्ट्रिय कानुन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार नेपाल सरकारले जारी गरेका करिब साढे तीन सयको संख्या ऐनहरू छन् । त्यत्तिकै संख्यामा नियम र विनियमहरू पनि रहेका छन् । तर तिनीहरूको पहुँच सीमित जनशक्तिमा मात्र पुगेको देखिन्छ । हाल नेपालमा कानुन पढ्नेहरूमध्ये छात्रवृत्ति प्राप्त विद्यार्थीहरू राजनैतिक तथा सामाजिक मुद्दाबाट अभिप्रेरित भएकाहरू छन् । यतिसम्म कि राजनैतिक दलहरूले आफ्नो विधानहरू पहुँचयोग्य स्वरूपमा आम कार्यकर्तालाई दिन सकेका छैनन् । यसले कानुनको शक्तिको लाभ केही व्यक्तिले मात्र लिन खोजेको देखिन्छ । कानुन बनाउँदा सामान्यतया ‘कानुन सबैले जानेको मानिने छ’ भन्ने सिद्धान्तका आधारमा निर्माण गरी लागु गरिन्छ ।

तसर्थ आफूबाट सम्भावित अपराध हुन नदिन र कानुनको सही कार्यान्वयन गर्न देशका प्रत्येक नागरिक सचेत र सजग हुनुपर्छ । कानुनी साक्षरताका लागि शब्दको कानुनी प्रयोजन जान्नु अनिवार्य हुन्छ । त्यसैले पनि सबैको लागि कानुन एक महत्वपूर्ण विषय हो । कानुनलाई व्यवहारमालाको रूपमा लिदै आफू र आफ्नो समाजका सबैलाई सही बाटो हिँडाउन कानुनको अध्ययन गर्नु अत्यावश्यक छ । साथै अधिकारको समुचित उपभोग गर्न, मनपरीतन्त्रको अन्त्य गर्न र आफ्नो अधिकार र कर्तव्यमा सन्तुलन राख्न पनि कानुनी प्रावधान जान्न नितान्तः जरुरी छ । त्यसैले सबैले खोजी–खोजी कानुन पढ्ने बानी लगाउनु पर्छ ।
                                                                                       

                                                            –लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्नातकोत्तर प्रथम वर्षका विद्यार्थी हुन् ।

प्रकाशित मितिः   २६ बैशाख २०७७, शुक्रबार १२:२४