लकडाउनले मर्कामा परेका ऋणीलाई ब्याज छुट

काठमाडौंः लकडाउनका कारण मर्कामा परेका ऋणीले दुई प्रतिशत ब्याज छुट पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी असारसम्मको ब्याज गणना गर्न निर्देशन दिएको हो । लघुवित्त वित्तीय संस्थाको हकमा चैतसम्मको ब्याजमा तीन प्रतिशत ब्याज घटाउनुपर्नेछ ।

कोरोनाका कारण प्रभावित होटल, रेस्टुरेन्ट, रिसोर्ट, ट्राभल, ट्रेकिङलगायत पर्यटन क्षेत्र तथा हवाई उड्डयन, व्यावसायिक प्रयोजनका सवारीसाधन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, कुखुरापालन व्यवसाय आदिले यस्तो छुट पाउनेछन् । उल्लिखित ऋणीले सहज रूपमा चालु पुँजी कर्जा पनि पाउनेछन् । यसमध्ये लकडाउनअघि नियमित साँवा ब्याज तिरिरहेका ऋणीको हकमा बैंक तथा वित्तीय संस्था विश्वस्त भए स्वीकृत सीमाको १० प्रतिशतसम्म थप चालु पुँजी कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर ब्याज छुटको सुविधा खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा व्यवसायसँग सम्बद्ध ऋणीले नपाउने राष्ट्र बैंकले प्रष्ट्याएको छ । लकडाउनका बेला पनि यी क्षेत्रले राम्रो आम्दानी गरेकाले तिनलाई ब्याज छुट नदिइएको हो ।

ऋणीले वैशाख र जेठ मसान्तमा भुक्तानी गर्नुपर्ने मासिक र त्रैमासिक किस्ता 0७७ असारसम्म हुने छुट पनि पाएका छन् । यसअघि चैतसम्म तिर्नुपर्ने कर्जालाई असारसम्म तिरे हुने सुविधा दिएको थियो । बढाइएको समयावधिमा किस्ता भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले अतिरिक्त शुल्क तथा हर्जाना लिन पाउने छैनन् । लकडाउन अवधिमा तिर्नुपर्ने सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याज भुक्तानी ६० दिनसम्म थप्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । यसअनुसार लकडाउन खुलेपछि पनि ती ऋणीले बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न थप २ महिना समय पाउनेछन् ।

प्रकाशित मितिः   १७ बैशाख २०७७, बुधबार २२:००