लकडाउन पछिको अवस्था

कोरोना महामारीले गर्दा यतिबेला पूरा विश्व अस्वस्थ छ । डिप्रेशनको अवस्थामा छ । तर, लकडाउनपछि कोरोना जीवनको एक हिस्सा हुन गएको छ । सुरक्षा मापदण्ड, सामाजिक दूरी, नियमित सरसफाइ र मास्क लगाउनु जीवनको अंश बन्नेको छ । लकडाउनपछि व्यक्तिहरू साना–साना समूह बनाएर काम गर्नेछन् । व्यवसायमा भिन्नता आउनेछ । घरबाट काम गर्ने संस्कृति बढ्नेछ । एफएमसीजी र फार्माबाहेक सबै व्यवसाय र कम्पनीहरूलाई यतिबेला धेरै गाह्रो भइरहेको छ । घरजग्गा खरिद बिक्री र मनोरञ्जन उद्योगमा त झन् धेरै प्रभाव परेको छ । यात्रा, पर्यटन, एयरलाइन्स, लगानी, बैंकिङ्ग सबै क्षेत्रले आफ्नो व्यवसाय गुमाइरहेका छन् । रेष्टुरेण्टको व्यवसायमा झनै प्रभाव लामो रहनेछ । विश्वभरका १४ करोड मानिसको रोजगारी खतरामा छ । विश्वव्यापी अर्थव्यवस्थालाई यतिबेलासम्म निकै घाटा भइसकेको छ । अमेरिका, जर्मनी, इटाली, फ्रान्स, स्पेनजस्ता विकसित देशहरूको विकासदर माइनसमा जाँदैछ ।

हामीले के गर्ने ?

अब चाहियो के त ? अब चाहियो अनुकूलन योग्यता । तिनिहरूमात्रै बाँच्न सक्नेछन् जो अनुकूलित हुनेछन्, जुन आफै पुनः समायोजित हुनेछन् । जसले नयाँ व्यवसायको सही योजना बनाउन सक्नेछ र जसले फेरि तयारी गर्न सक्नेछ तिनीहरू मात्र अगाडि जान सक्नेछन् । पर्खौं र हेरौंको दृष्टिकोणले यतिबेला काम हुने छैन । यो समय भनेको प्रविधिलाई राम्रोसँग प्रयोग गर्ने समय हो । अहिले नयाँ रणनीतिका साथ काम गर्दै भविष्यका लागि नयाँ–नयाँ योजनाहरू डिजाइन गर्ने बेला हो । यतिबेला स्टक राख्ने समय छैन, छुट दिएर भए पनि सामान बेच्नुपर्ने आवश्यकता छ ।

संग्रह र प्राप्ति योग्यहरू छिटो फिर्ता लिनुहोस्, तपाईंको हातमा नगद छिटो आओस् भन्नेतर्फ लाग्नुहोस्, ठूला खर्चहरूबाट जोगिनु र बचत गर्नु धेरै महŒवपूर्ण छ अहिले । किनकी यस समयमा नगद सुक्दै गइरहेको छ । अहिलेको लथालिङ्ग वातावरणमा कोष जुटाउने सम्भावना छैन । कुनै नयाँ पैसा प्राप्त हुने छैन । त्यसैले केही समस्याहरू आगामी केही समयका लागि बढ्नेछन् । पहिला वृद्धि गरिरहेका कम्पनीहरूमा लगानी गरिने गरिन्थ्यो । तर अब अवस्था त्यस्तो छैन । अब वृद्धिमा होइन नाफामा फोकस गर्नुपर्ने अवस्था छ । ठूला–ठूला ब्राण्डहरूको मूल्यांकन परिवर्तित भइरहेको छ । कोष जुटाउने अवस्था धेरै गाह्रो छ । यतिबेला आ–आफ्नो कम्पनी अथवा व्यवसायको पुनर्संरचना गर्नुका साथै जति सक्दो खर्चबाट जोगिनु नितान्त आवश्यक छ । यदि तपाईंको कम्पनी, व्यापार अथवा व्यवसाय भाडामा छ भने घरभेटीसँग भाडा नलिने अथवा कमभन्दा कम लिने अनुरोध गर्नुहोस् । मिलाउने प्रयत्न गर्नुहोस् । नेगोसिएट गर्नुहोस् ।

आफूलाई मोटिभेट गरौं

पछिल्लो एक महिनायता लकडाउनको स्थितिले गर्दा जनताहरू घरमा कैद छन् । दैनिक आज यति जनामा संक्रमण देखियो, यतिको मृत्यु भयो भन्ने खालका समाचार सुनिरहनु परेको छ । तपाईं बाहिर आउन सक्नुहुन्न, सामाजिक दूरी कायम गरी राख्नु परेको छ । यस बीचमा ठूलो निराशा र उदासिनताको स्थिति बन्न पुगेको छ । यस्तोमा आफूलाई मोटिभेट गर्नको लागि आफूभित्र विश्वास बढाउने काम गर्नुहोस् । राम्रा–राम्रा भिडियोहरू हेर्ने, राम्रा लेख र पुस्तकहरू पढने, राम्रो संगीत सुन्ने गर्नुहोस् । कुनै न कुनै रचनात्मक कामतिर लाग्ने प्रयास गर्नुहोस् । आफ्नो मन पर्ने काम गर्नुहोस् । खाना बनाउने रहर छ भने आफै खाना बनाउने, चित्रकारिताको रहर छ भने चित्रहरू बनाउने, गाउने अथवा बजाउने रहर छ भने त्यो गर्नुहोस् । लेख्न मन पराउनुहुन्छ भने कुनै आर्टिकल लेख्नुहोस् । भन्न खोजेको आफूलाई सक्दो व्यस्त राख्ने प्रयास गर्नुहोस् । यसले तपाईंको विश्वासमा धेरै ठूलो काम गर्छ । आफ्नो बानी बदल्नेतिर लाग्नुहोस्, यतिबेला योग अभ्यास गर्नुहोस्, राती छिटो सुत्नुहोस् र बिहान चाँडै उठ्नुहोस् । यसले तपाईंलाई तरोताजा राख्न सहयोग पु¥याउनेछ । सामाजिक सञ्जालबाट सकेसम्म टाढा रहने कोशिस गर्नुहोस् । आज भोलि त्यतातिर बढीजसो नक्कली र नकारात्मक सामग्रीहरू मात्र भेटिन्छन् । त्यसै पनि सामाजिक सञ्जालको प्रयोग सधैं आफ्नो उद्देश्य र लक्ष्यको लागि चाहिने सामग्रीहरूको लागि मात्र गर्नुपर्छ ।

सरकारको जिम्मेवारी

कतिपय दाजुभाइ र दिदी–बहिनीहरू जो रोजगारीका लागि अझै पनि विदेशमा हुनुहुन्छ र कतिपय फर्की पनि सक्नु भएको छ । यतिबेला विश्वको अर्थव्यवस्था मन्दीको ओरालोतिर गइरहेको छ । धेरैको रोजगारी खतरामा छ । स्वदेश फर्किन चाहनेका लागि फर्किने अवस्था छैन । यतिबेला सबैलाई आफ्नो देशको माया लागिरहेको छ । हाम्रो सरकारले आफ्नो देश फर्किन चाहनेहरूलाई ल्याउने व्यवस्था मिलाउनुपर्छ । सानो देश छ । जनसंख्या कम छ । प्रकृतिले सुम्पेको अपार सम्पदाको खानी छ, हाम्रो देशमा । सबै देशवासीहरूलाई रोजगारीको व्यवस्था मिलाउन सकिन्छ । व्यवस्थापन राम्रोसँग गर्नुपर्ने मात्र न हो ।
आजको मितिसम्म हाम्रो देशमा कोरोना महामारीले गर्दा मृत्यु हुनेको संख्या शून्य छ । तर भोलि के स्थिति बन्ने हो भन्न सकिने अवस्था छैन । त्यसैले म सरकारसँग के अनुरोध गर्न चाहन्छु भने खतराको पहिलो लाइनमा काम गरीरहेका हाम्रा देशका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सम्पूर्ण पीपीई किट अनिवार्य रूपमा उपलब्ध गराउनुपर्छ । उनीहरूलाई कोरोना महामारी समाप्त नहुञ्जेलसम्म ‘महामारी भत्ता’ दिनुपर्छ । सरकारको तर्फबाट बिमा पनि हुनुपर्छ । पीपीई किट जस्ता सुरक्षा उपकरणहरू उपलब्ध गराइएन भने उनीहरू उच्च जोखिममा रहन्छन् ।

लकडाउनलाई पनि एकै चोटी नखोलेर चरणबद्ध रूपमा खुकुलो बनाउँदै लैजानु पर्छ । जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव धेरै छ त्यसलाई ‘रेड जोन’ घोषणा गरेर त्यहाँ अझै लकडाउन थप्नुपर्ने हुन्छ । जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव कम छ त्यसलाई ‘एलो जोन’ को रूपमा राख्नुपर्छ । अत्यावश्यक वस्तुहरूको लागि मात्र समयावधि तोकेर खुल्ने अनुमति दिने र जुन प्रदेश अथवा जिल्लामा कोरोनाको प्रभाव छैन त्यसलाई ‘ग्रीन जोन’ घोषणा गरेर त्यहाँ आवश्यक सावधानीका साथ लकडाउन खोल्नु पर्छ । अन्तर्राष्ट्रिय उडान कम्तीमा पनि दुई महिनाका लागि स्थगित गर्ने र सीमा नाकाबाट देशमा पस्ने एक–एक व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनुपर्छ ।

देशमा रहेका जति पनि गार्मेन्ट उद्योग, बुटिक र टेलरहरू छन् । ती सबैलाई अहिले अरु काम छोडेर अनिवार्य रूपमा मास्क, पञ्जा र पीपीई बनाउन लगाउनुपर्छ । फार्मा उद्योगहरूलाई सेनिटाइजर बनाउन लगाउने यसो गर्दा कमसेकम यी उद्योगमा रोजगारी पनि हुन्छ र देशलाई आवश्यक सामग्री पनि उत्पादन हुन्छ । हामीसँग अहिले यो गर्न बाहेकको अरु विकल्प छैन । कुनै देशले टेस्टिङ किट, मास्क र सेनिटाइजर पठाइदेला र हामी उपचारतर्फ लागौंला भनेर बस्ने समय यो होइन ।

प्रकाशित मितिः   १५ बैशाख २०७७, सोमबार १२:३६