‘उनी रुँदा मेरो मन दुख्छ’

lalit-gahaदुःख सोचे दुःख अनि सुख सोचे सुख हो जीवन । दैलेख खरीगैरामा जन्मिएका ललित गाहा र उनकी जीवनसाथी निर्मला शर्माको भनाइ हो यो । उनीहरू भन्छन्, ‘जीवनलाई हामीले जस्तो सोच्छौं त्यस्तै हुन्छ, दुःख सोचे दुःख हो जीवन सुख सोचे सुख हो जीवन ।’ हरेक मान्छेभित्र सुखी लुकेको हुन्छ हामीले त्यो सुखीलाई चिन्न सक्नुपर्छ । उनीहरू भन्छन्, ‘दुःख त केही दिनको पाहुना हो पाहुनालाई धेरै दिन पाल्नु हुँदैन, त्यसैले जीवन भनेको सुखी हो ।’
पिता हस्तबहादुर गाहा र माता बाटुली गाहाको कोखबाट २०३३ सालमा दैलेख खरीगैरामा जन्मिएका ललित गाहाको बाल्यकाल मध्यम परिवारमा रमाइलोसँग नै बित्यो । उनी बाल्यकालमा पढाइ सँगसँगै घरको काममा पनि सघाउने गर्थे । उनी बचपनदेखि नै मिलनसार थिए । सबै साथीहरूसँग मिल्ने तर, घरको कान्छो छोरा भएका कारण अलि झगडालु स्वभावका थिए । अलि बढी रिसाउँथे तर, पनि बाहिर साथीहरूसँग भने मिलनसार नै थिए ।
गाहाले कक्षा सातसम्म आफ्नै गाउँको विद्यालयमा पढे । तर, गाउँमा सातसम्म मात्र पढाइ हुने विद्यालय भएका कारण उनी कक्षा ८ देखि भने दुई घण्टा हिँडेर बजारको विद्यालयमा पढ्न जानुपथ्र्यो । कक्षा ९ देखि भने गाहा सुर्खेतमा पढ्न आए । उनका दाइ सुर्खेतमा नै पढ्ने भएकाले उनी पनि दाइसँगै बसेर सुर्खेतमा नै आफ्नो पढाइ पूरा गरे । उनी पढाइसँगैपछि जागिर पनि गर्न थाले । विभिन्न संघ–संस्थाहरूमा जागिर गर्दै गर्दा उनको मनमा अब मैले समाज सेवा गर्नुपर्छ भन्ने भावना पैदा भयो । त्यसपछि उनले समाज सेवाको क्षेत्र पत्रकारितालाई बनाए । २०५६ सालदेखि जागिर सुरु गरेका गाहापछि पत्रकारिता क्षेत्रमा प्रवेश गरे । हुन त उनको बाल्यकालको सपना पत्रकारिता पेसा थिएन तर, पनि उनलाई समय र परिस्थितिले पत्रकारिता क्षेत्रमा ल्यायो । उनको बाल्यकालको सपना सरकारी जागिर खाने थियो ।
बाल्यकालमा एउटा बालकले आफ्नो समाज र घरपरिवारमा जस्तो वातावरण देख्छ वा पाउँछ उसले आफ्ना भविष्य पनि त्यस्तै बनाउने उद्देश्यका साथ अगाडि बढेको हुन्छ । गाहा पनि आफ्नो समाज, परिवारको वातावरणअनुसार नै आफ्नो भविष्यको परिकल्पना गरे । उनको भविष्यमा एउटा सरकारी जागिरे बन्ने सपना थियो । यदि गाहा सहर बजारमा हुर्किएको भए र त्यस्तै खालको वातावरण पाएको भए डाक्टर वा इन्जिनियर बन्ने सपना बुन्ने थिए होलान् तर, उनी गाउँको वातावरणमा हुर्किएका कारण एउटा सरकारी जागिर खाने सपना बुन्दै भविष्यको परिकल्पना गरिरहेका थिए । उनले परिकल्पना गरेको क्षेत्रभन्दा पृथक क्षेत्रमा उनले आफ्नो बाँकी भविष्य जीवनलाई डो¥याउन पुगे । उनी अहिले सुनगाभा टेलिभिजन, सुर्खेतपहिचान दैनिक र सिद्धार्थ केवलमा आवद्ध छन् । त्यसैगरी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको कार्यसमिति सदस्य पनि हुन् ।
जागिरकै शिलशिलामा उनको जीवनमा एउटा उल्लासको वातावरण सिर्जना भयो । २०५६ सालमा गाहा सहकर्मी समाजमा जागिरको लागि अन्तरवार्ता दिन कोहलपुर गएका थिए । निर्मला पनि त्यही जागिरकै लागि अन्तरवार्ता दिन आएकी थिइन् । त्यतिबेला अन्तर्वार्ता एक/एक जनासँग नगरेर सामूहिक रूपमा एउटा विषयवस्तु दिएर छलफल गर्ने र आफ्नो तर्क राख्ने थियो । गाहाको नजरमा आफ्नो गहकिला तर्क दिदैं गरेकी निर्मला पर्न गइन् । त्यतिबेला नै गाहाले निर्मलालाई मन पराइसकेका थिए ।
६४ जना मध्ये एक महिने तालिमको लागि २४ जना छानिए त्यसभित्र गाहा र निर्मला पनि परे । एक महिनाको तालिममा सबैसँगै बस्नुपर्ने थियो । खाना आफै पकाउनु पर्ने थियो । र दुई÷दुई जनाको गुप्र बनाइदिएको थियो संस्थाले । चिठ्ठामार्फत् साथी छान्ने क्रममा गाहा र निर्मला नै परे । संस्थाको नियमअनुसार एक हप्तामा साथी फरक गराउने थियो तर, जतिबेला पनि चिठ्ठामा गाहा र निर्मला नै साथी बने । त्यतिबेला नै दुवै जनाले एकअर्काेलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । सुरु–सुरुमा त निर्मलालाई गाहाको कुनै वास्ता लाग्थेन तर, पछिसँगै साथी नै भएपछि भने एकअर्काेको कुरामा वास्ता लाग्न थाल्यो । एक महिनाको तालिमपश्चात् फेरि संस्थाले १२ जनालाई मात्र छनोट ग¥यो । त्यसमा गाहा र निर्मला पनि परे । जागिरको शिलशिलामा विभिन्न जिल्ला, गाविसहरूमा पुग्नुपर्ने हुन्थ्यो । त्यस्तै क्रममा उनीहरू सुर्खेतको तरंगा गाविस, अछाम लगायतका विभिन्न जिल्लाहरूमा सँगसँगै जाने मौका मिल्यो ।
दुवैले एकअर्काेलाई मन पराउँथे तर, व्यक्त भने गर्न सकेनन् । एकअर्काेको भावनाको महसुस भने उनीहरूमा थियो । भनिन्छ नि, नजिक हुँदा वास्तै भएन माया टाढा हुँदा महशुस भो माया । निर्मलालाई र गाहालाई पनि यस्तै भयो । गाहाले जागिर छोडेर बाँके आएपछि निर्मला एक्लै भइन् । तबमात्र निर्मलालाई महशुस भयो गाहाको मायाको । अब दुवै एकअर्काे विना बाँच्न नसक्ने स्थितिमा पुगेपछि उनीहरूले भागी विवाह गर्ने सल्लाह गरे । उनीहरू भन्छन्, ‘हाम्रो अन्तरजातीय विवाह भएको हुँदा मागेर पक्कै दिदैंनन् भाग्नैपर्छ भन्ने सोच भएर भागी विवाह ग¥यौं ।’ निर्मला ब्राम्हण समुदायकी छोरी ललित मगरका छोरा भएका कारण मगरको छोरालाई बाहुनको छोरी माग्न जाँदा दिदैंनन् कि भन्ने सोचले उनीहरूले २०५९ साल मंसिर ४ गते भागी विवाह गरे ।

पिता हरिप्रसाद शर्मा र माता गंगा शर्माको कोखबाट २०३५ सालमा बर्दियामा जन्मिएकी निर्मलाको बाल्यकाल सुखमयसँग नै बित्यो । उनी बाल्यकालमा शान्त, धेरै नबोल्ने स्वभावकी थिइन् । पढाइमा मात्र ध्यान दिनुपर्छ भन्ने निर्मला घरपरिवारकी आशाकी दियो थिइन् । घरकी जेठी छोरी र एक्ली छोरी भएकाले पनि सबैले उनलाई भरोशा पनि गर्थे । जब निर्मलाले अन्तरजातीय भागी विवाह गरिन् । सबैलाई अचम्म नै लाग्यो । यस्तो केटीले कसरी भागी विवाह गरी अझ अन्तरजातीय ? माइतीमा त्यही विषयमा निर्मलाका बाबुआमा नै बिरामी परे । त्यही पीरले यता निर्मला पनि बिरामी परिन् । यतिसम्म कि चिन्ताले उनलाई केही होस नै थिएन । गाहाले निर्मलालाई अब बचाउन सकिन्न भन्नेसम्म पुगेका थिए । गाहा भन्छन्, ‘उनी बिरामी हुँदा मैले त एक चोटी आश नै मारिसकेको थिएँ, उता माइती रिसाएका कारण खबर गर्न पनि सकिएन यता उनको स्वास्थ्यमा सुधार आएको थिएन ।’ घरकी एक्ली छोरी अन्तरजातीय विवाह गर्दा सुरु–सुरुमा सबै बाबुआमाको मन त दुख्नै नै भयो । तर, यहाँ निर्मलाको माइतीले त चार वर्षसम्म छोरीको मुख हेर्न पनि पाएनन् । विवाह भएको चार वर्षपछि बल्ल निर्मलाले आफै साहसका साथ माइतीमा फोन गरेर आउँछु भनेपछि आइज भन्ने उत्तर आयो । निर्मला भन्छिन्, ‘चार वर्षपछि मैले नै बुवालाई फोन गरेँ म आउँछु भनेपछि बुवाले बोलाउनु भयो अनि गयौं, तर अहिले भने सबैको माया ममता पाएका छौं गुनासो गर्नुहुन्न ।’
विवाहपछि सुखीका साथ जीवन बिताइरहेका यो जोडी भन्छन्, ‘जहाँ श्रीमान्–श्रीमतीबीच समानता छैन त्यहाँ झगडा हुँदैन् तर, श्रीमान्–श्रीमती बीचमा समानता छ भने सामान्य झगडा हुनु भनेको स्वभाविकै हो, जहाँ झगडा हुन्छ त्यहाँ माया पनि बढ्छ ।’ उनीहरू पनि एकआपसमा जुनसुकै काममा पनि बहस गरेर समझदारी अनुसार गर्ने गर्छन् । यो जोडी पनि कहिले काहीं सामान्य रूपमा भनाभन भए पनि एकै छिनमा त्यो झगडा सेलाइहाल्छ । यो जोडी समय मिलाएर रमणीय ठाउँहरूमा घुम्न जाने मात्र होइन जन्मदिन र उत्सवको बेला गिफ्ट आदानप्रदान पनि गर्ने गर्छन् । गाहालाई निर्मलाको कुनै पनि कुनै पनि कुरा वा विषयमा कारणसहित आफ्ना तर्क राख्ने बानी मनपर्ने गर्छ । कहिले काहीं निर्मला सानो कुरामा पनि रोइहाल्ने बानी भने गाहालाई अलि मन पर्दैन । निर्मलालाई पनि गाहाको सहयोगी बानी मनपर्ने गर्छ । निर्मलाको मन पनि गाहाको त्यही अरुलाई सहयोगी गर्ने बानीले जितेको थियो । गाहाको कामबाट साँझ घर फर्किदा अलि ढिलो गर्ने बानी भने निर्मलालाई मन पर्दैन । दुवैको जीवनमा निर्मला बिरामी हुँदाको क्षण नै अति दुःखदायी र बिर्सन नसकिने क्षण हो ।

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:२१