लकडाउनमा ‘अनलाइन टिचिङ’को उपयोगिता

 

देश लकडाउन छ । विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु बन्द छन् । पठन–पाठन ठप्प छ ।

तीन सातादेखि जारी लकडाउन अझै कति समयसम्म जारी रहने हो, निश्चित छैन । लकडाउनको अवधी लम्बियो भने शैक्षिक गतिविधि अझै लामो समयसम्म अवरुद्ध हुनेछन् । त्यसैले यो चुनौतीपूर्ण अवस्थामा हाम्रा शैक्षिक गतिविधि अर्थात पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवाला सबै चिन्तित् छौं, जुन स्वभाविक पनि हो ।

यो विषम् परिस्थितिमा पठन–पाठन कार्यलाई सञ्चालन गर्न सकिने कुनै विकल्प छ त ? पक्कै पनि छ । प्रविधिको विकासले हामीलाई घरमै बसेर पनि विद्यालय तथा विश्वविद्यालयहरुले आफ्ना कक्षा नियमित सञ्चालन गर्नसक्ने विकल्प दिएको छ ।

डिजिटल प्रदेश र देशकै परिकल्पना गरिरहेको यो समयमा हामीले अनलाईनलाई माध्यम बनाएर पनि अध्ययन तथा अध्यापनलाई नियमित गर्न सक्छौँ । हामीसँग प्रविधि, स्रोत–साधन र चाहाना छ भने हामी यो चुनौतीको सामना सजिलै गर्न सक्छौँ । यस लेखमार्फत यसकै बारेमा प्रष्ट पार्ने प्रयास गरिएको छ । अर्थात अहिलेको यो लकडाउनमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुले कसरी अनलाईन माध्यमबाट पठन–पाठन सञ्चालन गर्न सक्दछन् भन्ने जानकारी दिनु यसको मुख्य उद्देश्य हो ।

के हो त अनलाइन टिचिङ र लर्निङ्ग ?

अनलाइन अर्थात ई–लर्निङ्ग एउटा यस्तो विधि हो, जहाँ इन्टरनेटको माध्यमबाट सम्पूर्ण शैक्षिक गतिविधिहरु सञ्चालन गरिन्छ । यसलाई हामी डिस्ट्यानस लर्निङ्ग पनि भन्न सक्छौँ । यो परम्परागत तरिकाले एउटै कक्षाकोठामा नबसी संसारको जुनसुकै कुनाबाट प्रत्यक्ष क्लासमा सहभागी हुने र शिक्षकले आफ्नो घरबाटै पढाउने विधि हो । यो दुइ प्रकारकों हुन्छ, Synchronous जस्तै : जुम र Asynchronous जस्तै : टि.भी., अर्थात दोहोरो र एकोहोरो प्रणाली पनि भन्न सक्छौँ ।

यसको लागि के–के कुराको आवश्यकता पर्छ ?

होस्ट अर्थात विश्वविद्यालय, क्याम्पस, विद्यालयहरु वा पढाउने व्यक्तिले आवश्यक सेटअप गर्नु पर्ने हुन्छ । जस्तो : इन्टरनेट, उपयुक्त प्ल्याटफर्म अर्थात अनलाइन सफ्टवेयर, प्रविधीमैत्री दक्ष शिक्षक र IT Team आवश्यक हुन्छ भने विद्यार्थीलाई इन्टरनेट, ल्यापटप वा स्मार्टफोन र आधारभुत IT सम्बन्धी ज्ञान आवश्यक पर्छ ।

अनलाइन टिचिङ र लर्निङ्गका फाइदा के हुन् ?

यो विधिबाट पठन–पाठन गर्नुका धेरै फाईदाहरु छन् ।
–घरमै बसीबसी आफ्नो उपयुक्तता अनुसार पढ्न सक्छौँ ।
– सुशासन अनि सुधारात्मक सिकाई
–सक्रिय सहभागीता, लाज मान्ने र धेरै मान्छे अगाडि बोल्न अप्ठ्यारो मान्ने विद्यार्थीका लागि उपयुक्त
–शिक्षक र विद्यार्थी बीचको सहज संवाद
–नविनतम प्रविधिको माध्यमबाट सिकाई
–सुधारात्मक प्रशासन
–सस्तो र भरपर्दो
–कुनै भौतिक स्थानको ठुलो आवश्यकता नपर्ने
–संसारको विभिन्न स्थानका विद्यार्थीबीचको मित्रता तथा नेटवर्क स्थापना हुने

उल्लेखित बुदाहहरुका साथसाथै सबैभन्दा महत्वपूर्ण फाइदा भनेको अहिलेको जस्तो आपतकालिन अवस्थामा अत्यन्तै उपयोगी हुनु यसका राम्रा पक्ष रहेका छन् ।
हामीसँग अनलाइन माध्यमबाट पठन–पाठन सञ्चालन गर्न धेरै विकल्पहरु छन् । जस्तैः जुम, गुगल क्लासरुम, ग्रेडस्कोप, टर्नइटइन, गुगल मिट, माइक्रोसफ्ट टिम, विजक्यु, स्कईप आदि ।

कुनै पनि अनलाइन विधि प्रयोग गर्दा केही आधारभूत कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ, जसले गर्दा शिक्षकलाई विषयवस्तु प्रस्तुत गर्न, दोहोरो कुराकानी गर्न र विद्यार्थीको मुल्यांकन गर्न सहज हुन्छ । जस्तै : क्लासहरु सेड्युल गर्न मिल्ने, सूचना जारी गर्न मिल्ने, पाठ्यक्रम निर्माण र अनलाइन राख्न मिल्ने, विभिन्न मोड्युल पब्लिश गर्न मिल्ने, छलफल, मेसेज गर्न मिल्ने रियल टाईममा संवाद गर्न मिल्ने विभिन्न टेस्ट अनि ग्रेडिङ्ग गर्न मिल्ने आदि ।

माथि उल्लेख गरिएका विभिन्न विकल्पहरुमध्ये केही हामीले किन्नुपर्छ भने केही निःशुल्क प्रयोग गर्न सक्छौँ । जुन विधिमार्फत अनुकुल हुन्छ त्यसको उपयोग गर्न सकिन्छ ।

यो विधिको प्रयोगका बारेमा थप जानकारीका लागि तलको लिंकमा हेर्न सकिन्छ, जसमा ‘जुम’ र ‘गुगल क्लासरुम’ दुइटै प्रयोग गरेर कसरी सहज तरिकाले अनलाइन टिचिङ, लर्निङ्ग र मुल्यांकन गर्ने भन्ने बारेमा प्रष्ट पारिएको छ ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :