विचार

संकटको बेला राज्य र नागरिकको दायित्व

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणले अहिले पूरै विश्व आक्रान्त बनेको छ । नेपाल पनि यसबाट अछुतो रहने कुरो पक्कै भएन । एक–एक गर्दै संक्रमितहरु यहाँ पनि देखिन थालेका छन् । अहिलेसम्म कसैको मृत्यु भने भइसकेको छैन । यो निक्कै सुखद् पक्ष हो । यद्यपी हामी सुरुवाती तयारी र सतर्कतामा चुकिसकेका छौँ । अत्यावश्यक स्वास्थ्य सामग्री खरिददेखि अन्य साना काममै भ्रष्टाचार भइरहेको समाचार आइरहेका छन् । अर्कोतर्फ सुरक्षा सतर्कताका लागि बनाइएका योजना कार्यान्वयनको पक्ष पनि फितलो देखिएको छ ।

केही कुरा देशबाहिरका । देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन केही दिनअघि सिंगापुरबाट सिल्क एयर आयो । जसमा धेरै नेपालीका साथसाथै कोरोना संक्रमित भइसकेका देशबाट पनि आएका थिए । उनीहरु सवार रहेको सूचनापछि विमानस्थलले अवतरणको अनुमति मागेको सिल्क एयरको जहाजलाई फर्किन भन्यो । कारण थियो, कोरोना भाइरसबाट प्रभावित देशका नागरिकहरु सँगै हुनु । इन्धन भरेर फेरि सिङ्गापुर फर्कने भन्दै सिल्क एयरले नेपालमा अवतरण ग¥यो । नेपाल अवतरण गरे लगत्तै फेरि सिङ्गापुर फर्कने सूचना पाएपछि जहाजभित्र रहेका केहीले यहाँ रहेका आफन्तलाई फोन गरे । केहीले जहाजभित्रै नाराबाजी गरे । भित्रको अवस्था देखाउँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे । पोस्ट गरिएसँगै सामाजिक सञ्जालमा एकखालको तरङ्ग उत्पन्न भयो ।

अहिले भारतको धार्चुलामा त्यस्तै बिजोग छ । भारत रहेका नेपाली नागरिक स्वदेश फर्किन नाकामा आइपुगेका छन् । तर नेपालले यता आउन नदिने, भारतले उनीहरुको पट्टि बस्न नदिने । उता के गरेर बस्ने ? झन असुरक्षा छ । केहीले जीवन जोखिममै राखेर भए पनि नदीमा पौडिएर वारी त आए तर उनीहरुलाई प्रहरीले समात्यो । फेरि ती महिला र बृद्व आमाबाबा र बच्चाबच्चिहरुको के हाल होला ? हिजोका दिन त्यही बाहिरको देशले एक छाक खान पुगेका ती गरिबीको आज यो रोगले खान नपाइ, आफ्ना परिवार नभेटी एक मुठि सास जाने पिरमा छन् । न त यताको सरकारले उद्दार गरेको छ न त उताको सरकारले कुनै व्यवस्थापन गरेको छ । अझै धेरै नेपालीहरु नाकामै आएर घर छिर्न नपाई रोइकराई गरिरहेका छन् ।

त्यस्तै, अन्य मुलुकमा पनि नेपालीहरु सरकारले उद्धार गर्छ कि भन्ने आशमा बसेका छन् । उनीहरुसँग पैसा छ । तर लकडाउनका कारण आउन सकेका छैनन् ।
अर्कोतिर उनीहरु नेपाल आए कोरोना सर्छ, भित्र ल्याउनै हुन्न भन्ने एकखाले जमात पनि छ । तर, हामीले आफूलाई त्यही ठाउँमा राखेर हेरौँ । तपाईंलाई अहिले घरभित्र परिवारसँग बस्दा त यत्रो सकस भइरहेको छ भने उनीहरुलाई झन् कस्तो भइरहेको होला ? जसका पत्नी, बालबालिका घरमा छन् उनीहरु घरको सँघारमै उभिएका छन्, भित्र छिर्न नपाएर । विपद्को बेला सबैलाई आफ्नै देश, आफ्नै परिवारसँग बस्न पाए हुन्थ्यो भन्ने हुन्छ नै ।

अहिले सिंगो संसारै त्रसित भएको समय हो । यहाँ हरबखत मानवहरु डराएको अवस्था छ । सिंगो मानव सभ्यता जोखिममा परेको छ । यस्तो समयमा हाम्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु स्वदेश फर्किन खोज्नु अस्वभाविक होइन । उनीहरु पनि ज्यानको सुरक्षाकै लागि फर्किन खोजिरहेका छन् । फर्किन लागेकाहरु कोरोना संक्रमित होइनन् । यदी उनीहरुमध्ये कसैमा संक्रमण भइसकेको रहेछ भने पनि उपचार गर्ने दायित्व राज्यको हुनुपर्दछ । आफ्ना नागरिकको सुरक्षा राज्यकै जिम्मेवारी हो । अप्ठ्यारोमा परेका नागरिकलाई झन अप्ठ्यारोमा पार्नु हुँदैन ।

यता नेपालमा रहेका विदेशीहरुको त उनीहरुका देशले खोजी खोजी उद्धार कार्य गरिरहेका छन् । तर नेपाल छिर्ने प्रतिक्षामा रहेका ती नेपालीलाई उद्दार गर्नु आवश्यकता अनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखेर उपचारको बाटो अपनाउनु पर्ने राज्यको जिम्मेवारी होइन र ? आफ्ना नागरिकलाई केही दिन पाल्न सक्दैन भने एउटा सार्वभौम देशको के औचित्य रह्यो ? देशमा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी, राजनीतिक दल, तिनका भातृ संगठन यी सबै के का लागि ?

बाहिरको देशले कुनै विपद् भइहाल्यो भने पनि उनीहरुले पहिला आफ्नो देशका नागरिक त्यहाँ छन् कि छैनन् भनेर पत्ता लगाउँछन् । तत्काल उद्धारको पहल गर्छन् । त्यस्तै अहिले नेपालमा बसेका विभिन्न मुलुकका नागरिकलाई उनीहरुको मुलुकले विशेष विमानमा उद्धार गरिरहेको छ । भूकम्पको बेला पनि लगभग यसरी नै उद्धार गरेका थिए ।

आफ्ना सन्तानप्रतिको माया हुनुपर्छ । र, नागरिकप्रतिको जिम्मेवारी पनि ।

मलाई अप्ठ्यारो परेको बेला सहयोग गर्न नसक्ने राज्यलाई कसरी आफ्नो ठान्नु ? वर्षभरी कति रेमिट्यान्स आयो भनेर हिसाब गरेर बस्ने, अनि अहिले त्यहीँ रेमिट्यान्स भित्र्याउने नागरिक अप्ठ्यारो पर्दा वास्तै नगर्ने ? कस्तो राज्य ?

हो, यतिबेला हामी सबैमा एक खालको त्रास छ । विदेशमा रहेकाहरु नेपाल आए भने उनीहरुसँगै कोरोना पनि भित्रिन्छ कि भन्ने मानसिकताले डर पैदान गरेको छ । तर कोराना भित्रिने डरमा निराकरणको लागि पो तयार हुने हो, तत्परता देखाउने हो । यहाँ त नागरिकलाई नै छिर्नै नदिने भइरहेको छ । फेरि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी रोक लगाइएको छ । ल त्यो पनि ठिक छ । यहाँ त कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र र आसपासको क्षेत्रमा एक वडाबाट अर्काे वडामा पनि जान नपाउनु कस्तो बिडम्बना ?

बाटो बन्द गरिएको छ । टोल–टोलका गल्ली छेकिएको छ । यो सतर्कता हो कि मुर्खता ? कोही कसैलाई अत्यावश्यक काम परेमा हिंडुल गर्नु पर्छ कि पर्दैन ? परिवारको सदस्य बिरामी परे भने एम्बुलेन्स बोलाउनु पर्छ कि पर्दैन ? देश–देश बीचको सीमानाका पो बन्द गरिएको हो, यहाँ त टोल–टोल बन्द गरिएको छ ।

कस्तोसम्म भइरहेको छ भने अहिले ज्वरो आएका र रुघाखोकी लागेका विरामीलाई निजी अस्पतालले भर्ना गर्न नमानेको खबरहरु पनि आइरहेका छन् । हिजो भर्खर मेरो छिमेकको बिरामी दाइलाई उपचार गर्ने क्रममा इमर्जेन्सीमा राख्न खोज्दा उनीहरुले गरेका व्यवहार निक्कै खराब थियो । कोरोना संक्रमण नै भएको बिरामीजसरी अपहेलित गरियो । भर्ना गर्नै अस्वीकार गरियो । अस्पतालले गरेको व्यवहारबारे समाचार सार्वजनिक गर्ने चेतावनी दिएपछि मात्र भर्ना गरियो । तर डक्टर भने विहान नौ बजे मात्र आउने रहेछन् । रातभर भने इन्जेक्सन दिएर मात्र राख्ने गरिएको रहेछ । यतिसम्मको लापरबाही भइरहेको छ । सम्बन्धित निकायले ध्यान दिएको देखिदैन ।

सरकार नै लाचार बनेको छ । अरुबेला महंगो शुल्क लिएर बिरामीको ‘ढाड सेक्ने’ निजी अस्पतालहरु यतिबेला जिम्मेवारीबाट पञ्छिएका छन् । संकटका बेला जिम्मेवारी निर्वाह नगर्नेहरुलाई राज्यले नै दण्डित गर्न जरुरी छ । यति मात्र होइन अहिले फैलिएको कोरोना महामारी नियन्त्रण नहुँदासम्म सरकारकै निगरानी र नियन्त्रणमा निजी अस्पतालहरु पनि सञ्चालन गर्न जरुरी छ । आवश्यक होइन र ?

सँगसँगै नागरिकका पनि आफ्नै कर्तव्य छन् । जुन नागरिकले पालना गर्नुपर्छ । नगरे यो देशको कानुनले गराउँछ । यो संकटको समयलाई सबै मिलेर सामना गर्नुको विकल्प छैन । राज्यले आफ्नो दायित्व बुझेर पूरा गर्नुपर्छ भने नागरिकले पनि आफ्नो कर्तव्य बिर्सनु हुँदैन ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन अध्ययनरत विद्यार्थी हुन् ।)

प्रकाशित मितिः   २५ चैत्र २०७६, मंगलवार १४:४३