किसानलाई खेतीबालीकै चटारो

जुम्ला : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट नागरिकलाई जोगाउन सरकारले ‘लकडाउन’ गरेको छ । देश बन्दाबन्दी भएको १३ दिन पुग्यो । अझै एक साता थपिएको छ । यो अवधिमा सहर–बजार क्षेत्रका मानिस प्रायः घरभित्रै बसिरहेका छन् । तर ग्रामीणको जनजीवन भने चलायमान छ । विशेष गरी जो कृषि पेशामा आश्रित छन्, उनीहरुको दैनिकीमा भने लकडाउनले खासै असर पारेको देखिदैन ।

किसानहरु खेतबारीमा मकै, कोदो र आलु लगाउन व्यस्त छन् । गाईवस्तुको हेरचाह र खेतबारी खनजोतका लागि घर बाहिर निस्कनुको विकल्प उनीहरुसँग छैन । किसानलाई कामको चटारोले नछोडे पनि पहिलेको तुलनामा सचेत र सर्तक भने छन् । कोरोना संक्रमणको त्रास उनीहरुमा पनि छ । समूहमा हिँड्दैनन् । मास्क लगाउँछन् । भारत लगायतका अन्य मुलुकबाट फर्किएकासँग सम्पर्कमा जाँदैनन् ।

किसानले खेतबारीमा बाली लगाउने सिजन हो, यो । पातारासी गाउँपालिका वडा नं. ४ तिर्खुका रामबहादुर बोहोरा भन्छन्, ‘यो बेला किसानले मकै, कोदो छर्ने हो । बाध्यता छ, वस्तुभाउलाई भोकै मर्न दिनु पनि भएन ।’ ग्रामीण भेगमा घाँस–दाउरा काट्ने, गाईबाख्रा चराउन गोठालो जाने काम भइरहेको उनले बताए । यहाँका स्थानीयले सचेत भएरै खेतीबाली र घरव्यवहारका काम गरिरहेकै छन् । ‘सहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ । हामीलाई काम नगरी पुग्दैन,’ तातोपानी गाउँपालिका– ७ सर्मीका प्रेम कुँवरले भने, ‘स्थानीयका लागि एकान्त भेडीगोठ कोरोना संक्रमणबाट जोगिने सुरक्षित स्थल बनेका छन् ।’

कोरोना त्रासले सहर तथा विदेशमा बसेकाहरु गाउँ फर्केसँगै बाँँझा जमिनमा पनि अब खेती हुने बुढापाकाले विश्वास लिएका छन् । राष्ट्रिय कृषि गणना २०६८ अनुसार जुम्लामा १७ प्रतिशत कृषक परिवार १२ महिना खान नपुग्ने सूचिमा छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा ३९ हजार हेक्टर खेतीयोग्य जमिन छ तर २६ हजार हेक्टरमा मात्र खेती भइरहेको छ ।

लकडाउनका कारण विपन्न परिवारलाई भने छाक टार्न मुस्किल परेको छ । कोरोना संक्रमकणको रोेकथामका लागि सरकारले गरेको लकडाउनको प्रभाव बजारमा मात्रै देखिएको छ । गाउँका किसान तथा विपन्न समुदायलाई भने खेतीबाली लगाउने र खाद्यान्न जोहो गर्ने चटारो छ । सरकारले हिंउँदे बाली भित्राउने र बर्खे बाली लगाउने बेला भएकाले घरपरिवार मिलेर खेतीबाली लगाउन सकिने बताएको छ ।

प्रकाशित मितिः   २५ चैत्र २०७६, मंगलवार ११:०६