विपद्को बाछिटा
चीनबाट सुरु भयो । बेगसहित युरोप–अमेरिका पुग्यो । महामारीको रूप धारण गरेर विश्वभर फैलियो । १२ लाख बढी संक्रमित हुँदा ६९ हजारभन्दा बढीले ज्यान गुमाइसके । अझ पनि फैलिदो क्रममै छ । नियन्त्रण गर्ने उपाय आजको प्रविधियुक्त विज्ञानले भेटिसकेको छैन । यतिबेला सिङ्गो मानव जातिकै कहर बनेर कोरोना भाइरस (कोभिड–१९) ले आतङ्क मच्चाइरहेको छ ।
सबैभन्दा पहिले पत्ता लागेको उत्तरी छिमेक चीनमा कोरोनाको असर पछिल्ला दिनहरूमा घट्दो क्रममा छ । यता दक्षिणतर्फको छिमेक भारतमा भने फैलिँदो छ । एक महिनामै कोरोनाका कारण भारतमा एक सय भन्दा बढीको मृत्यु भइसक्यो । तीन हजार बढीमा संक्रमण देखिएको छ । मृतक र संक्रमितको संख्या दिनप्रति दिन उकालो चढ्दैछ । भारतमा संक्रमितको संख्या मात्रै उकालो चढेको छैन, त्यहाँबाट उक्लिएर नेपाल छिरिसकेको छ । शनिवार धनगढीमा तीन जना कोरोना संक्रमित भेटिए । उनीहरूमध्ये दुई जना भारतबाट हालै मात्र फर्किएका हुन् ।
त्यसो त नेपालमा भेटिएका पहिलो संक्रमित चीनबाट फर्किएका व्यक्ति हुन् । तर भारतबाट नेपालमा परेको संक्रमणको बाछिटा हाम्रा लागि अझ ठूलो ‘खतराको घण्टी’ हो ।
भारतसँग हाम्रो सबैथोक त होइन तर धेरै थोक जोडिएको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठूलो संख्यामा नागरिक रोजगारीका लागि भारत जान्छन् । उतैको कमाईले धेरैको घरमा चुल्हो बल्छ । कोरोना संक्रमण फैलिएसँगै भारतमा रहेका हजारौं नेपाली स्वदेश फिरेका छन् । कति फर्किए, एकिन तथ्याङ्क छैन । पछिल्लो समय कर्णालीमा मात्रै करिब दश हजारको हाराहारीमा भारतबाट प्रदेश फर्किएको सरकारी आँकलन छ । यसरी फर्किएकामध्ये थोरै (आठ सय दुई जना) मात्र सुरक्षा सतर्कतासहित क्वारेन्टाइनमा बसेका छन् भने अधिक हिस्सा गाउँघरमा छन् । उनीहरूको न स्वास्थ्य जाँच भएको छ न क्वारेन्टाइनमा राखिएको छ । खास जोखिम यसैको हो ।
भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएसँगै पश्चिम नेपाल थप भयवित बनेको छ । किनभने अहिले कर्णाली र सुदूरपश्चिमका हरेकजसो गाउँमा कोही न कोही भारतबाट फर्किएका छन् । उनीहरूबाट संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । धनगढीमा भारतबाट फर्किएका व्यक्तिमा संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसलाई नेपालमा कोरोना संक्रमणको ‘दोस्रो चरण’ भनेको छ । यसको मतलव संक्रमण फैलिनसक्ने चुनौती झन बढेको छ ।
भारतबाट फर्किने सबै कोरोना संक्रमित होइनन् । तर आएकामध्ये एक-दुई जनामा मात्रै संक्रमण भएको रहेछ भने पनि उनीहरूबाट अरुमा फैलिन्छ । यसैपनि यो छिटो फैलिने संक्रमण हो । जोखिम त्यसैको हो । चिन्ता, आगामी दिनमा निम्तिन सक्ने ठूलो खतराको हो । कर्णाली प्रदेश जोखिमका दृष्टिले अग्रपंक्तिमा छ ।
खुशीको कुरा के छ भने कर्णालीभित्र हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन । देखिएन भनेर अर्घेल्याइ गर्ने अवस्था पनि छैन । कोरोना संक्रमणको नमूना परीक्षण नै निकै न्यून संख्यामा गरिएको छ । विकट गाउँमा पुगिसकेकाहरू परीक्षणको पहुँचमै छैनन् । जबकी विदेशबाट फर्किएका सबैमा परीक्षण हुन जरुरी थियो । तर क्वारेन्टाइनमा समेत नबसी ठूलो संख्या गाउँघर पुसिकेको छ । ढिलै भए पनि स्थानीय सरकारको सक्रियतामा बाहिरबाट आएकाहरूको तथ्यांक संकलन गरेर निगरानीमा राख्ने कार्यको सुरुवात भने भएको छ । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु अपरिहार्य छ । यतिबेला नै सतर्कता अपनाइएन भने बलेसीको बाछिटा भेलमा परिणत भएको पत्तो हुने छैन ।
जोखिम छ । तर आत्तिहाल्नुपर्ने अवस्था छैन । जोखिमबाट बच्ने सतर्कता अपनाएर हो । संयमित भएर हो । सुरुवातमै सतर्कता अपनाउन ढिलाइ भयो । विदेशबाट फर्किएकाहरूको स्वास्थ्य जाँच गर्ने र कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने गरेको भए यो जोखिम यसै पनि कम हुन्थ्यो । सरकार ढिला तात्यो । जतिबेला तात्यो जोखिमको बादल आकाशमा मडारिसकेको थियो ।
सरकारी तयारी : कति प्रभावकारी ?
तीनै तहका सरकार कोरोना प्रतिकार्यमा सक्रिय छन् । देश लकडाउन गरिएको छ । प्रदेशका मन्त्रीहरू दैनिक दौडधुप गरिरहेका देखिन्छन् । स्थानीय सरकारका जनप्रतिनिधिहरू पनि खटिएकै छन् । गतविधि हेर्दा सक्रियता देखिएको छ । तर के उनीहरूको सक्रियता र तयारी प्रभावकारी भइरहेको छ ?
ढिलै सही केही काम भएका छन् । तर प्रभावकारी भइरहेका छैनन् । उदाहरणका लागि क्वारेन्टाइन निर्माणकै कामलाई हेरौं ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले भारतमा रहेका प्रदेशवासीलाई दश दिनभित्र स्वदेश फर्किन आग्रह ग¥यो । तर त्यतिबेलासम्म उताबाट फर्किनेहरूलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नै गरिएको थिएन । निर्णय भएको केही दिनपछिबाट मात्रै निर्माण थालिएको थियो । जबकी सरकारले आह्वान गर्नुअघिदेखि नै भारतबाट प्रदेश भित्रिने क्रम सुरु भइसकेको थियो । ठूलो संख्यामा मानिसहरू गाउँ पुगिसकेका थिए ।
अर्कोतर्फ, प्रदेशले यस्तो निर्णय गरेको दुई दिनपछि नै संघीय सरकारले लकडाउनको घोषणा ग¥यो । भारतबाट फर्किदै गरेकाहरू बाटोमै रोकिए । नाकासम्म आएर अलपत्र परे । यसरी आधा बाटोमा अलपत्र परेकाहरूलाई समयमै उद्धार गरेर क्वारेन्टाइनमा राख्नुपर्ने थियो । न प्रदेशले यसतर्फ ध्यान दियो न संघीय सरकारले नै ख्याल ग¥यो । बरु पहुँच भएकाहरूलाई गाडी नै लगेर ल्याइयो । पहुँच नहुनेहरू अहिले पनि सीमामा अलपत्र परेका छन् । आफ्ना नागरिकलाई समयमै उद्धार गर्ने र सतर्कतासहित सुरक्षित राख्ने दायित्व वहन गर्न सरकार चुक्यो ।
उता स्थानीय सरकार झन ढिला गरी ताते । भारत वा अन्य मुलुकबाट फर्किएकाहरूको पहिचान गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्नेतर्फ उनीहरूको ध्यान पुगेन । सबै गाउँ फैलिइसकेपछि खोज्दै हिँडेका छन् । केही स्थानीय तहले राम्रा काम पनि नगरेका होइनन् । तर अधिकांश जनप्रतिनिधिहरू भने ‘देखावटी’ काममा रमाएका छन् ।
सरकारी तथ्यांक अनुसार हालसम्म कर्णालीमा तीन हजार आठ सय बेडका क्वारेन्टाइन निर्माण गरिएको छ । एक हजार पाँच सय बेडको आइसोलेसन तयार छन् । तर क्वारेन्टाइनमा बस्नेहरूको संख्या जम्मा आठ सय दुई जना छन् भने आइसोलेसनमा अहिलेसम्म कसैलाई राख्नुपरेको छैन । आइसोलेसनमा राख्नुपर्ने अवस्था नै नआउनु खुशीको कुरा हो तर झण्डै दश हजारको संख्यामा विदेशबाट भित्रिँदा आठ सय मात्रै क्वारेन्टाइनमा रहनु सुखद पक्ष होइन । यही कुरालाई अहिले हल्का रूपमा लिँदा भोलि त्यसले ठूलो दुर्घटना निम्त्यायो भने त्यसको जिम्मेवारी कसले लिने ?
संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न निक्कै चुनौती छ । औषधि उपचार पत्ता नलागिसकेको अवस्थामा पूर्व सावधानी नै यसको उपचार हो । त्यसमाथि कर्णालीमा सुविधायुक्त स्वास्थ्य संस्था र पर्याप्त जनशक्तिको अभाव छ । प्रदेश सरकारले सुर्खेतमा रहेको प्रदेश अस्पतालसहित जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्नेगरी आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको दुई साता पुग्न थाल्यो । तर ती अस्पतालहरूले अहिलेसम्म बजेटसमेत पाएका छैनन् ।
प्रदेशभर गरेर १७ वटा आइसीयू कक्ष र सात वटा भेण्टिलेटर बेड उपलब्ध छन् । जुन पर्याप्त होइन । यसलाई बढाउनेतर्फ काम भइरहेको छैन । क्वारेन्टाइन निर्माण मात्रै कोरोना भाइरसको संक्रमणसँग लड्ने अचुक उपाय होइन । यदि संक्रमण फैलिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने आइसीयू र भेण्टिलेटरसहितका पर्याप्त आइसोलेसन बेड तयार गर्नेतर्फ भइरहेको ढिलाइले सम्बन्धित निकायले गरिरहेको काम कति प्रभावकारी भइरहेको छ वा छैन भन्ने देखाउँछ ।
संघीय सरकारको सहयोगमा प्रदेश अस्पताल सुर्खेतमै कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको छ । तर यसले प्रदेशभर पहुँच स्थापित गर्न सकिरहेको छैन । सुर्खेत केन्द्रित नमूना परीक्षण भइरहेको छ । विदेशबाट आएकाहरू (जसबाट बढी जोखिम रहन्छ) को संख्या भने सुर्खेतमा भन्दा धेरै अन्य जिल्लामा छ ।
आवश्यक स्वास्थ्य सामग्री, औषधि र उपकरणको जोहो गर्न ढिलाइ भइरहेको छ । समयमै उपाय अवलम्बन नगर्ने र समस्या परिसकेपछि तातिने प्रवृत्तिले निम्त्याउन सक्ने जोखिमको आँकलन सरकारले गरेको आभाष हुँदैन ।
संकटको बेला छ । सरकारको आलोचना गर्ने समय होइन । साथ दिने र हातेमालो गर्नुपर्ने आवश्यकता छ । तर यो समयमा नागरिकले सरकारलाई गर्ने सबैभन्दा ठूलो सहयोग लकडाउनको पूर्ण पालना हो । सतर्कता अपनाएर जोखिम घटाउनु नै हो । यदि संकट नै आइलागेमा के गर्ने र त्यसबाट कसरी निस्कने भन्ने तयारी गर्ने जिम्मेवारी र दायित्व सरकारकै हो । त्यही भूमिका प्रभावकारी नभइरहँदा हुनसक्ने जोखिम हरेक नागरिकको सरोकारको विषय हो । आज दुई–चार थोपा बाछिटाले छुँदा बेवास्ता गरियो भने भोलि भेल पसेर बगाउने घर नागरिककै हुनेछ । त्यसैले नागरिकले आफ्नो र सरकारले आफ्नो भूमिका उचित तरिकाले निर्वाह गरेमा मात्रै महाशक्ति राष्ट्रहरूलाई पनि हायलकायल बनाइरहेको कोभिड–१९ सँग जुध्न सकिनेछ ।
प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार ११:११
विनोद शाही ।