यसरी मनाइयो सुर्खेतमा तीज

1साझा बिसौनी संवाददाता
सुर्खेत, १९ भदौ ।
आइतवार वीरेन्द्रनगरको खुलामञ्चमा जम्मा भएका महिलाहरू तीजका भाकामा छमछमी नाचिरहेका थिए भने खुलामञ्चकै छेउमा रहेको कुइनेपानीमा पुरुषहरू देउडामा पाइला सारिरहेका थिए । हिन्दु धर्मावलम्बी महिलाहरूको महान् पर्वको रूपमा रहेको हरितालिका तीज मनाउन खुलामञ्चमा आइतवार सयौं मानिस जम्मा भएका थिए । महिलाहरू गीतको भाका हालेर गाउँदै र नाच्दै थिए भने नाच हेर्ने पुरुषहरूको संख्या पनि कम थिएन ।
त्यति मात्र होइन कुइनेपानीमा भेला भएका पुरुषहरू देउडामा झुमिरहेका थिए । उनीहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था र तीजमा भित्रिएको विकृतिमाथि व्यंग्य गर्दै देउडा गाए । चर्को गर्मीको प्रवाह नगरी
खुलामञ्चमा भेला भएका महिला तथा पुरुषहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् । बागीना समूह सुर्खेतले तीज विशेष सद्भावना मेलाको आयोजना गरेको थियो । मेलामा सयौंको सहभागिता रहेको थियो ।
खुलामञ्चमा जम्मा भएर महिलाहरूले आ–आफ्नै समूहमा तीजका भाकामा नृत्य गरेका थिए । बागीना समूहका कलाकारहरूले उक्त गीत र नृत्यको अवलोकन गरेर उत्कृष्ट गीत र नृत्य प्रस्तुत गर्ने समूहलाई पुरस्कृत समेत गरेको छ । बागीनाले हरेक वर्ष तीजको दिन यो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा कलाकारहरू प्रेमदेव गिरी, गंगा केसी, डम्मर आचार्य, मन्जु मेदासी, दिपाशा बिसी लगायतको पनि सहभागिता रहेको थियो ।
वीरेन्द्रनगरको खुलामञ्चमा मात्र नभएर जिल्लाका अन्य स्थानमा पनि आइतवार हर्षोल्लासका साथ तीज पर्व मनाइएको छ । हिन्दु नारीहरू महादेवको पूजा आराधना गरी तीज मनाउने गर्दछन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

प्रकाशित मितिः   २० भाद्र २०७३, सोमबार १०:२१