प्रवृत्ति, पथ, परिवर्तन र पश्चाताप

dinesh
दिनेश गौतम

केही कुरा दर्शन भन्दा पनि बाहिर हुन्छन् । केही कुरा आदर्श भन्दा पनि बाहिर हुन्छन् । केही कुरा यो समाजको मर्यादाले तोकेको सीमा भन्दा पनि बाहिर हुन्छन् । केही कुरा गर्न खोजेर गर्न नसकिएको, हुन खोजेर नभएको, बनाउन खोजेर नबनाइएको, भेट्न खोजेर नभेटिएको, चाहेर पनि नपाइएको वा अनेक यस्तै–यस्तै असफल प्रयासहरूमा सन्निहत हुन्छन् । सम्मुनत नेपालको कुरा, शान्त नेपालको कुरा, समृद्ध नेपालको कुरा, सम्पन्न नेपालको कुरा यी कुराहरू पनि यी नै अवस्थाका उपज हुन् । समृद्ध हुन चाहेर पनि नभएको, सम्पन्न हुन जति प्रयास गरे पनि हुन नसकेको वा भनौं यस्तै–यस्तै । निरन्तरको सङ्घर्ष, धेरै लामो परिश्रम र एउटा सिंगै इतिहास बोकिरहँदा पनि देश उही रहनु पक्कै पनि भगवानको दोष हैन, नियती हैन । भगवानको दोष नै देख्न कसरी सक्नु र ? जब कि संसारको सबैभन्दा पुरानो धर्मको मुख्य स्थलको रूपमा रहेको नेपालमा पक्कै पनि भगवानहरूको कमी थिएन, पुराणहरू यसै भन्छन् । किन देश उही रह्यो, किन भगवानहरूको केही लागेन ? यी कुराहरू त भए जम्मै हुन नसकेका कुराहरू । भएका कुराहरू पनि किन सही ढङ्गबाट हुन सकेनन् ? सही ढङ्गबाट भइसकेका कुराहरू पनि किन फेरि पछि आएर बिग्रिए ? बिग्रिएका कुराहरू पनि फेरि पुनः बन्ने सम्भावना रहेन ? आखिर छ त्यस्तो के कारण, जुन कारण देशमा केही पनि कुरा ठीकसँग चलिरहेको छ ? सबैकुरा सोचे विपरित र इच्छा चाहना प्रतिकूल हुनेगरी आइरहेछ ?
प्रवृत्ति
देशले अप्ठ्यारो स्थिति भोग्नु परिरहेको यस परिस्थति सिर्जनामा हुनमा हाम्रो प्रवृत्ति नै मुख्य दोषी हो । प्रवृत्ति अर्थात् आदत, व्यवहार, संस्कार, प्रचलन । प्रवृत्ति चलि आएको रितीको निरन्तरता हो । प्रवृत्ति भइरहेका विकृतीको शिलशिला हो । प्रवृत्ति जे कारण कुनै कुरा बिग्रिएको छ, फेरि पनि त्यही कुरा बिगारिरहन गरिने त्यही पुरातन व्यवहार हो । मुख्यतः हामी त्यहीं रहनुमा, अगाडि सर्न नसक्नुमा वा पछाडि फर्किन खोज्नुमा यही प्रवृत्ति दोषी छ । हाम्रो प्रवृत्ति जसले अरुको प्रगति देख्न सक्दैन । हाम्रो प्रवृत्ति जसले आफ्नो छोरो फेल भएकोमा भन्दा छिमेकीको छोरो पास भएको बढी दुःख मान्छ । हाम्रो प्रवृत्ति जहाँ आफूले मानेको नेताले आकाश कालो छ भने त्यसलाई सही हो भन्दै हिँड्छ, आफूले मुन्टो उठाएर आकाशतिर हेर्दैैन । हाम्रो प्रवृत्ति जहाँ आफूले भनेका कुरा सबै सही, आफूले गरेका कुरा सबै जायज, आफ्नो रायहरू सबै उत्कृष्ट मानिन्छ । यस्ता अनेक प्रवृत्ति छन् हामीसँग जो वर्षाैंदेखि, शताब्दीयौंदेखि चलिनै आइरहेका छन् र अहिले पनि चलिरहेका छन् । तपाईं, हामी, म सबै यसैलाई निरन्तरता दिइरहेछौं । तपाईंका, हाम्रो, मेरो भविष्यका सन्ततीले पनि भविष्यमा यही कुरा पछ्याउनेछन् यदि अहिले नै हामीले यो प्रवृत्ति दौडिरहेको रेलको लिक नभाँच्दिने हो भने ।
पथ
पथ अर्थात् बाटो । पथ अर्थात् मार्ग । हामीले हिँडिरहेको बाटो, हामीले समातिरहेको मार्ग, हामीले प्रयोग गरिरहेको नक्सा जसमार्फत् हामी कहीं पुग्न खोजिरहेछौं । विडम्बना, हामीले हिँड्न खोजेकै बाटो गलत छ, हामीले हिँड्न भनेर बनाएको पथ नै गलत छ, अनि हामी सही गन्तव्य खोजिरहेछौं । माथि उल्लेखित प्रवृत्ति यो मार्गमा आएर जोडिन्छ र त्यही प्रवृत्ति हावी हुन्छ । मार्ग पनि गलत हुन्छ र कालान्तरमा हामी पुग्नुपर्ने ठाउँमा अरु कोही नै पुगिसकेको हुन्छ वा अरु हामी कहिल्यै पनि पुग्न नसक्ने भइसकेका हुन्छौं । पथ नै गलत छ, गन्तव्य सही हुँदै हुँदैन । नेपाल पछाडि नै रह्यो अन्य देशको तुलनामा, भन्दा त संसार सय वर्ष अगाडि छ हामीभन्दा । हामी संसारभन्दा धेरै पछाडि छौं । हाम्रैभित्र पनि राजधानी अल्ली अघिअघि हिँड्छ, कर्णाली ५० वर्ष पछाडि हिँड्छ । फेरि जति हिँडे पनि पथ अर्थात् बाटो त त्यही गलत छ । जानुपर्ने मार्ग नै दुषित छ । देशको माटोको सम्मान छैन । देशको भाषाको, धर्मको, संस्कृतिको जगेर्ना गर्न भन्दा पनि अन्य बाहिरी संस्कृतिको अवलम्बन गर्दा समाजले गतिलो मान्ने सोच छ । आखिर सवचिज गलत छ ।
परिवर्तन
सकारात्मक परिवर्तन समाज विकासको मुख्य अस्त्र हो । कुनै पनि समाज स्थायी संरचनाको हुँदैन । कुनै पनि समाजले अंगालेको रितीथिति, परम्परा आजीवन त्यही रहँदैनन् । कुनै पनि देशको कानुन, नीति नियम, प्रथा, चालचलन आदि सबै परिवर्तनीय हुन्छ । समयसापेक्ष यो परिवर्तन गर्न जरुरी पनि छ । हाम्रो संस्कृति सकारात्मक परिवर्तन गर्न नसकिने किसिमको भयो । हामीले परिवर्तनीय संस्कृतिलाई संस्थागत गर्न सकेनौं, स्थापित गर्न सकेनौं । परिवर्तन गर्दा पुरानो कुरा मेटिने हामीमा त्रास भयो । पुराना कुरा अर्थात् चलीआएका कुरालाई नै निरन्तरता दिँदा त्यसबाट नै आफ्नो कल्याण देख्यौं । समाजको संरचनामा रहन त रह्यौ तर संसार धेरै अगाडि बढीसकेको तथा धेरै परिवर्तन भइसकेको हेक्का राख्न सकेनौं । संसार हिँड्दा हामी सुत्यौं, संसार दौडिँदा हामी हिँड्न थाल्यौं, संसार उफ्रिएर दौंडिदा, हामीले अलिकति गति बढायौं । संसार पछाडि फर्केर हेर्न थालेन, गति झन् बढाउँदै गयो । हामीले पहिलेदेखि नै संगाल्दै आएका अनेक परम्पराको खोल ओढ्यौं, दुई कदम अगाडि हिँड्यौं, तीन पटक पछाडि फर्कियौं । पछि जब हामीलाई यो आभाष भयो कि हाम्रो गति सुस्त छ, अगाडि हेर्दा त बाँकी संसार हामीले देख्नै नसक्ने गरी टाढा गइसकेछ । थाहा छैन, यो युगभरीमा, यो अस्तिव रहने समय भरीमा हामीले यो संसारलाई भेटाउन सक्छौं वा सक्दैनौं । वास्तवमै हामी परिवर्तनलाई बुझ्न सकेनौं, पछाडि रह्यौं ।
पश्चाताप
कर्मपछिको प्रतिक्रिया हो, पश्चाताप । गलत प्रवृत्ति अवलम्बन गरेर, गलत बाटोबाटै आफूलाई हिँडाएर गलत गन्तव्यमै पुगिसकेपछि पनि पुनः त्यो गल्ती दोहो¥याउने संस्कार छ हामीमा । विगतमा गरेको गल्ती सकभर गल्ती नै होइन भन्ने, गल्ती नै भएको स्वीकारे पनि त्यो गल्ती नै राम्रो थियो, त्यो गल्ती नै जायज हो भन्ने प्रवृत्ति छ हाम्रो । आफूले गरेको कुरा गल्ती भन्ने जान्दा–जान्दै पनि त्यो कुरा गलत हो, अबका दिनहरूमा यो कुरा म बाट दोहोरिने छैन वा गलत देखिने यस्तै समान प्रकृतिको घटनाहरू हुने छैनन् वा हुन दिइने छैन भनेर पश्चाताप गर्ने सक्दैनौं हामीले । हामीलाई आफ्ना कुराहरू कहिल्यै गलत लागेनन्, वास्तविक गल्ती नै यही भइदियो ।
अन्त्यमा,
धेरै पक्षहरू छन्, धेरै तथ्यहरू छन् देश यस्तै रहनुका, समाज यत्तिकैमा रहनुका । धेरै कारणहरू छन्, धेरै तर्कहरू छन् यसो हुनुका । धेरै अवस्थाहरू छन्, धेरै व्यवस्थाहरू छन् मुलुकको गति यो हुनुका । धेरै अनुमानहरू, धेरै विकल्पहरू, धेरै सदस्यहरू र धेरै संकल्पहरू ज–जसले जुनसुकै ढङ्गबाट पनि देशलाई विफल बनाउनमा महŒवपूर्ण भूमिका खेलेका छन् । प्रवृत्ति, पथ, परिवर्तन र पश्चाताप, यी तŒवहरूको सकारात्मक संयोजन भयो भने चाहिँ देश यस्तै रहिरहला भनिरहन सकिन्न ।

प्रकाशित मितिः   २० भाद्र २०७३, सोमबार १०:१७