छोराले सोध्छ, ‘बाबाको बिदा कहिले हुन्छ ?’
सात बज्नासाथ फोनको घण्टी बज्यो । हेरें, आमाले गर्नुभएको रहेछ ।
‘हेलो… हेलो…! आमा एक्छिनमा फोन गर्छु है, घर पुगेसी’ साँझको समाचार सकेर घर फर्किने तर्खरमै थिएँ । त्यसैले कुरा नगरी फोन काटेँ । सोचेँ, घरै पुगेर आरामले कुरा गर्छु ।
रेडियोको कार्यालयबाट घर पुग्न त्यही १० देखि १२ मिनेट जति लाग्छ, मोटरसाइकलमा ।
साँझ सात बजे रेडियो भेरीको समाचार बुलेटिन ‘भेरी खबर’ सकिन्छ । समाचार सकिने बित्तिकै घरबाट फोन आउँछ । बुवा–आमालाई थाहा छ : अब त छोराको काम सकियो ।
भेरी खबरको समय त सकियो तर यो लकडाउनको समय पनि हो । साँझको बेला । बाटो सुनसान छ । फाटफूट केही मानिसहरू तरकारी किनमेलको लागि बाटोमा देखिन्छन् । प्रहरीले निगरानी बढाएको छ । अटेर गरेरै लकडाउन अवज्ञा गर्नेहरू पनि नभएका होइनन् । यसरी लकडाउन उल्लंघन गर्नेहरूको सवारी साधनको चावी प्रहरीले खोसेर राखेको छ, कसैलाई कारबाही ।
त्यतिकैमा मेरो पालो आयो । ‘कहाँ जान ला’को रातीमा ?’ ड्यूटीमा खटिएको प्रहरीको प्रश्न थियो ।
‘घर जान ला’को सर । रेडियोबाट समाचार पढेर’ आफ्नो ड्यूटी सकेर फर्किदै गरेको मैले सहज जवाफ फर्काएँ ।
प्रहरीको काम नै केरकार गर्नुथियो । सोध्यो, ‘पास छ कि छैन सर ?’
मसँग पत्रकारको परिचय–पत्र थियो । त्यही छ भनेँ ।
‘पास बनाउनु पर्यो, यसरी त हुँदैन नि’ उसले सायद शंका ग¥यो, ‘ल…जानुहोस् आजलाई, भोलिदेखि रातीमा नहिँड्नु है ।’
प्रहरीलाई के थाहा ? मेरो काम पनि उसकै जस्तो छ, रातीसम्मै खटिनुपर्ने ।
एक ठाउँमा मात्र कहाँ हो र ? घर पुग्दासम्म तीन–तीन ठाउँ प्रहरीको केरकारमा परिन्छ । उही सवाल–जवाफ दोहोरिन्छ । म पत्रकार हुँ, भर्खर काम सकेर आएको बताउँछु । उनीहरू पास लिएर हिँड्नु भन्छन् ।
एक दिन वा दुई दिन होइन, प्रहरीसँग मेरो यस्तो वार्तालाप लकडाउन भएयता दैनिकजसो हुने गरेको छ । कुनै–कुनै प्रहरीले त मलाई चिन्न थालिसके । नजिकै पुग्दा ‘समाचारवाला सर आउनुभयो’ भन्छन् । अनि सोध्छन्, ‘आजको समाचार के छ ? कति देशमा रोग फैलियो ? कतिले ज्यान गुमाए ? हाम्रो देशमा के छ अवस्था ? यस्तै यस्तै । उनीहरूलाई पनि चासो कोरोनाकै छ । त्यसमाथि आफ्नो ज्यानको सुरक्षाको कुरा पनि छ, र छ परिवारका सदस्यहरूमाथिको जोखिमको सवाल ।
प्रहरीसँगको उही निरन्तरको वार्तालाप सकेर घर पुग्छु । घर पुग्दा रातको आठ बजिसकेको थियो ।
छोरा अनि श्रीमती खाना कुरिरहेका थिए । पकाएको खाना चिसो भएर फेरि तताउने अवस्थाको भइसकेको थियो । त्यतिकैमा फेरि फोनको घण्टी बज्यो । हेरेँ ।
आमाको फोन । अहो !, मैले त भुसुक्कै बिर्सेछु आमालाइ फोन गर्न ।
आमा : घर पुगि कि नाइँत ? (उहाँ सिम्ताली लवजमा सोध्नुहुन्छ ।)
म : पुगिगे आमै (म पनि त्यही लवजमा जवाफ फर्काउँछु ।)
आमा : क्या ग¥र्याउ छौं त तिमीहरूले, सबै ठिगै त हौला ?
म : ठिगैइ छौं, हजुरहरूले क्या’गर्नु भयाउ छ त आमै ?
आमा : क्या हुनो यता कामै काम, तिमीहरू बसाबस । चना, मसुरो संङगाल्ने, बल्ल–गाईलाई घाँस काट्न्या, क्याहुनो घरुनाउ माझो काम कइलेइ नसकिने ।
म : त्यो त हो, धेरै काम मात्र नगर्नु अल्ली अल्ली आरम पनि गर्नु पर्छ के आमै ।
आमा : क्या भाइरस आयो भन्छन्, निकरी बस्या, सबैका छोरा–बुहारी, नाति–नतिना घर आइग्या तिमीहरू आएनौ । (उहाँ गुनासो गर्नुहुन्छ ।)
म : यसपाली फुर्सद भएन आमै, चैते दशाइमा आउँला । (आमालाई सान्त्वना दिने प्रयास गर्छु म ।)
आमा : गाउँमा दशैैं आए जस्तै भयाउँछ, तेरो माझोँ नोकरी कस्तो र छ ? कहिले बिदा नहुने । तेरा बा, साँझ–व्यान त बोलेको नसुनी खाना नै खाँदैनन् । रेडियो सुनिरहन्छन् । छोरो बोल्यो, छोराका कुरा सुनौ अनि अरु काम गरौँला भन्छन् ।
म : हो र, बा’लाई कस्तो छ ? (प्रफूल्लित हुँदै म बाको हालखबर सोध्छु ।)
आमा : हिजोआज ठीकै छ, रेडियोले पनि अचेल, रोग आयो, रोग आयो, घरभित्रै बस मात्र भन्छ । हामीलाई भने काम धन्दा नगरी हुँनैन ।
म : चिन्ता न लिनु आमा हाम्रो, बरु आफ्नो ख्याल गर्नु । टाउकोको बिरामी हुनुहुन्छ औषधि बेलैमा खानु, बाहिर ननिस्कनु धेरै ।
हुन त लकडाउनको प्रभाव गाउँमा त्यति धेरै परेको छैन । सबै मानिस आ–आफ्नो काममा व्यस्त छन् । के लकडाउन, के सटडाउन उनीहरूलाई !
आमासँगको कुरा सकिनँ नपाउँदै चार वर्षको छोराले हात समाउँछ, ‘बाबा, हजुर सधैं किन ढिला आउनु हुन्छ ?’
‘तिम्रो बाबाको काम नै यति बेला हुन्छ छोरा’ म उसलाई सम्झाउन खोज्छु ।
‘बाबा हजुरको छुट्टी कहिले हुन्छ ?’ छोराको प्रश्न सकिएका छैनन् । म भने जवाफविहीन हुन्छु । चुपचाप ।
फेरि छोराले सोध्यो, ‘बाबा, मोटुको बाबा, अटलको बाबा त सधैं घर बस्नुहुन्छ । भोलि हजुर नजानु है, घरै बस्ने ।’
छोरालाई आफ्नो बाबासँग बस्नुछ । बाबालाई भने भोलि पनि फेरि दौडिनुछ एकाबिहानै ड्यूटीमा ।
छोराको कुरा सुनेर म सोचमग्न भएँ ।
हुन पनि बाबु–छोराको भेट कहिलेकाहीँ हुन्छ । दुई–तीन दिनसम्म भेटघाट नै नभएका घटना पनि छन् ।
म सधैँ बिहान साढे पाँच बजे रेडियोमा जान्छु । त्यतिबेला छोरा सुतिरहेको हुन्छ । अनि नौ बजे आउँदा छोरा स्कुल पुगिसकेको हुन्छ । ऊ स्कुलबाट घर आउँदा म घरमा हुँदैन । राती ८ बजे रेडियोबाट म घर पुग्दा छोरा सुतिसकेको हुन्छ ।
बुवाआमा गाउँमै हुनुहुन्छ । यहाँ (वीरेन्द्रनगरमा) तीन जनाको सानो परिवार छ । तर यही तीन जनाको सँगै भेट हुने अवसर समेत कुर्नुपर्छ । जुर्नुपर्छ । श्रीमती र छोरासँगै बसेर खाना खान समेत नपाउने बाध्यता छ । कहिलेकाहीँ त आफ्नै मन पनि दुख्छ । छोरा र श्रीमतीको पनि त दुख्तो हो ।
मलाई कुक्करमा पाकेको भात भेट्न मुस्किल हुन्छ । हटकेसको भात पुनः तताएर खानु जीवनशैलीजस्तै बनिसक्यो । संयोगले कहिलेकसो घरमा चाँडै पुग्दा पनि अनौठो मान्छिन् श्रीमती, ‘आज त कत्ति छिटो आउनु भएछ, बिजी मान्छे । फेरि जाने गरेर हो कि के हो ?’
म पनि ‘हो’ भन्छु, जिस्केर ।
कहिलेकाहीँ त छोरोले भनेको कुरा पनि सही हो जस्तो लाग्न थालेको छ, हिजो आज ।
‘न कहिल्यै शनिवार, न त सार्वजनिक बिदा, बन्द, हडताल चाडपर्व । कहिल्यै बिदा नहुने बाबा’ ऊ बेलाबखत भनिरहन्छ ।
अहिले फेरि समय त्यस्तै आयो । पूरै देश लकडाउनमा छ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । तर यो लकडाउन मेरो लागि भने लागू भएन । अझ धेरै व्यस्त हुनुपर्ने अवस्था आयो । नागरिकलाई सही सूचना दिने जिम्मेवारी झन् बढेर आयो ।
अहिले अधिकांश नागरिक घरमा छन् । पत्रपत्रिका पनि बन्द छन् । गाउँघरमा टेलिभिजन र इन्टरनेटको पहुँच सबै ठाँउमा पुगेको छैन । सञ्चारको भरपर्दो माध्यम भनेकै रेडियोबाहेक अरु विकल्प छैन । त्यसैले पनि ज्यान जोखिममै राखेर भए पनि हामी सूचना सम्प्रेषणमा खटिएका छौं ।
यो लकडाउनले अहिले वर्षौ भेट नभएका सासु–बुहारी एक ठाउँमा छन्, कामका कारण दिनभर भेट नहुने श्रीमान्–श्रीमती रातमा मात्र नभएर दिनमा पनि सँगै छन् । टाढा गएका छोराछोरी पनि घर फर्केका छन् । परिवारका सबै सँगै हुन पाएका छन् ।
म भने यो संकटको घडीमा अझ बढी जिम्मेवारीसहित बिहानदेखि राति अबेरसम्म कोरोना भाइरस (कोभिड–१९) को प्रभावका समाचार प्रशारणमा व्यस्त छु ।
सबै सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द छन् । नियमित हुने कार्यक्रम भएका छैनन् । पत्रकार सम्मेलन त हुने कुरै भएन । समाचार जम्मै कोरोनाकै । मोफसलका सञ्चारमाध्यहरूलाई प्याकेज नै पु¥याउन गाह्रो भइरहेको छ । यद्यपि यतिबेला सबैको चासोको विषय पनि कोरोना नै भएकाले अरु विषयको रिपोर्टिङ्ग गर्ने पनि कुरा भएन ।
मेरा नजिकका केही साथीहरूले त भन्छन् कहिलेकाहीँ, के खान पत्रकारिता गर्नुपरेको होला ? किन जोखिम लिएको ? कतिले त यस्तो अवस्थामा समाचार बन्द गर्दा राम्रो हुन्छ समेत भन्न भ्याए ।
म भने आम नागरिकका समस्या र आवश्यकताको खोजी गर्दै समाधानको उपाय खोज्ने कुरामा कहिले पछि हट्ने छैन भन्दै काममा लागिरहँे र रहने पनि छु ।
आम नागरिक र जिम्मेवार निकायबीच सम्बन्ध स्थापित गर्ने पुलको काम गर्नुलाई म आफ्नो दायित्व ठान्छु ।
हो, मलाई थाहा छ, देश अहिले संकटको घडीमा छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी यसको सबैभन्दा जोखिममा छन् । कोरोना भाइरसको संक्रमणका कारण नै जिम्बाब्वेमा एक टेलिभिजन पत्रकारले ज्यान गुमाइसकेका छन् । र पनि हामी जिम्मेवारीबाट पञ्छिएका छैनौं । यद्यपि जोखिम कम गर्न सतर्कता भने अपनाइरहेका छौं ।
यो समय सबैले सतर्कता अपनाउनुपर्ने समय हो । कोरोना भाइरसले सिङ्गो विश्वलाई नै त्रसित बनाइरहेको बेला छ । यो संकटमा सरकारको मात्र मुख ताकेर हुँदैन । त्यसैले आम नागरिकले बुझ्नुपर्ने समय आएको छ । घर परिवारसँग घरभित्रै बस्नुहोस् । बाहिर ननिस्कनुहोस् । सबैलाई यस्तो अवसर कहाँ मिल्छ र ? एकपटक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई हेर्नुहोस् त कसरी जोखिम लिएरै नागरिकको हितमा काम गरिरहेका छन् ? यतिबेला तपाईंहरूको जिम्मेवारी सुरक्षित रूपमा घरभित्रै बस्नु नै हो । घरभित्रै बसेर कोरोनाविरुद्धको यो लडाईंमा साथ दिनुहोस् ।
(लेखक सुर्खेतको रेडियो भेरी एफएममा कार्यरत छन् ।)
प्रकाशित मितिः १७ चैत्र २०७६, सोमबार ११:३५
साझा बिसौनी ।