पूर्वको नागरिकताविहीन गाउँ, घुम्ती शिविर राखिदिन आग्रह

nagritaसाझा बिसौनी संवाददाता
सुर्खेत, १९ भदौ ।
जिल्लाको भेरीगंगा नगरपालिका अन्तर्गत मैनतडाका अधिकांश बासिन्दा नागरिकताविहीन छन् । नागरिकताको प्रमाणपत्र नहुँदा उनीहरू सरकारी तथा गैरसरकारी निकायले दिने सेवाबाटसमेत वञ्चित हुनु परेको छ । नागरिकताको बारेमा जानकारी नहुनु र सदरमुकामसम्म पुग्ने गाडी भाडा नहुँदा आफूहरूले नागरिकता बनाउन नसकेको स्थानीयको भनाइ छ ।
सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा रहेको मैनतडा भेरीगंगा नगरपालिकाको वडा नम्बर ३ मा पर्दछ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार मजदुरीका लागि घरमा ताला नै लगाएर भारत जाने गर्दछन् । दशैंको बेलामा मात्र गाउँलेहरू भारतबाट घर फर्कने र त्यतिबेला प्रशासन बन्द हुने भएकाले उनीहरूले नागरिकता बनाउन नपाएका हुन् । यस्तै प्रायः पुरुषहरू रोजगारीका लागि भारतमा रहेको र महिलाहरू नागरिकताको बारेमा अनभिज्ञ हुँदा पनि गाउँमा नागरिकताविहीनको संख्या बढेको हो ।
करिब एक हजार जनसंख्या रहेको यो वडामा साढे तीन सय जनाको नागरिकता छैन । स्थानीय अगुवा विमला परियारले नागरिकता नभएकै कारण गाउँका महिलाहरू सरकारी तथा गैरसरकारी संस्थाले दिने सेवाबाट वञ्चित हुनुपरेको दुखेसो पोखिन् । ‘नागरिकताको बारेमा धेरैलाई जानकारी छैन, उमेर ढल्केकासँग पनि नागरिकता छैन’ उनले भनिन्, ‘नागरिकता नहुँदा बुढापाकाले वृद्धभत्ता पाएका छैनन्, धेरैको विवाहदर्ता र जन्मदर्ता पनि भएको छैन ।’ आफूहरूले स्थानीय समूहको सक्रियतामा गाउँमा नागरिकता नभएकाहरूको तथ्याङ्क सङ्कलन गरेको भन्दै साढे तीन सय जना उमेर पुगेर पनि नागरिकताविहीन रहेको उनले जानकारी दिइन् । गाउँलेहरू परिवारसहित भारत जाने र दशैंमा मात्र गाउँ आउने बताउँदै उनले थपिन्, ‘अघिपछि गाउँमा कोही हुँदैनन्, दशैंको बेलामा मात्र सबै आउँछन् । तर त्यसबेला प्रशासन खुल्दैन, कसरी नागरिकता बनाउने ?’
स्थानीय ३५ वर्षीय चैते विकले सदरमुकामसम्म पुग्ने गाडीभाडा नभएकै कारण आफूले नागरिकता बनाउन नपाएको बताए । नागरिकता नहुँदा धेरै काम रोकिएको भन्दै उनले आफूहरूका लागि गाउँमै शिविर राखिदिन आग्रह गरे । भारत जानका लागि नागरिकता अनिवार्य नभएका कारण पनि धेरैले नागरिकता बनाउनेतर्फ ध्यान दिएका छैनन् । पुरुषहरूले नागरिकता नबनाएका कारण महिलाहरूले पनि नागरिकता बनाउन सकेका छैनन् । उमेरले ६५ वर्ष नाघेकाहरूसँग पनि हालसम्म नागरिकता छैन । जसको कारण उनीहरूले आफ्ना सन्तानकोसमेत नागरिकता बनाउन सकेका छैनन् । नागरिकता नभएकै कारण यहाँका बासिन्दा वृद्धभत्ता, विवाहदर्ता, जन्मदर्ता र अन्य सुविधाबाट वञ्चित हुनु परेको हो । नागरिकता नहुँदा धेरै महिलाहरूले विभिन्न उपभोक्ता समूह र अन्य स्थानीय संरचनामा सहभागी हुनसमेत पाएका छैनन् ।
नगरपालिकाभित्रै नागरिकताविहीन गाउँ भएको बारे भेरीगंगा नगरपालिकाले पनि चासो देखाएको छ । नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले गाउँलेहरू प्रायः भारतमा बस्ने भएकाले पनि यस्तो भएको हुनसक्ने बताए । उनले भने, ‘हामीले पटक–पटक गाउँमा नागरिकताको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं, नागरिकताको महŒवको बारेमा पनि बुझाएका छौं । अब दशैं र तिहारको बीचमा गाउँमै घुम्ती शिविरमार्फत् नागरिकता वितरण गर्ने हाम्रो योजना छ, त्यसका लागि जिल्ला प्रशासनसँग हामी आवश्यक समन्वय गर्नेछौं ।’ गाउँलेहरू भारतबाट फर्केको मौकामा शिविर सञ्चालन गर्न आफूहरूले पहल थाल्ने खड्काले जानकारी दिए । आर्थिक अभावका कारण नागरिकता बनाउन सदरमुकाम जान नसक्नेहरूका लागि गाउँमै शिविर चलाएर भए पनि नागरिकताको समस्या समाधान गरिने उनको भनाइ छ ।
यता जिल्ला प्रशासन कार्यालयले भने तत्काल उक्त स्थानमा घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले आर्थिक अभावकै कारण कोही पनि नागरिकता पाउनबाट वञ्चित हुन नहुने बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका र विपन्न समुदायका लागि हामी गाउँमै शिविर सञ्चालन गर्नेछौं, मैनतडाको समस्या पनि समाधान हुन्छ । अब नगरपालिकासँग आवश्यक समन्वय गरेर हामी मैनतडामै पुगरे नागरिकता वितरण गर्नेछौं ।’ नागरिकता पाउने अधिकारबाट कोही पनि वञ्चित हुन नहुने प्रजिअ श्रेष्ठको भनाइ छ ।

प्रकाशित मितिः   २० भाद्र २०७३, सोमबार १०:१०