एउटै सहारा सतर्कताको

चैत १० गते । सोमवार । बेलुकीको सात बजिसकेको थियो, हामी ‘पिक आवर’मा थियौं । ‘साझा घर’को न्यूजरुम भोलिपल्ट प्रकाशित हुने पत्रिकाको तयारीमा जुटेको थियो । सहकर्मीहरू समाचार ‘फाइनल’ गर्दै थिए ।

केही दिनयता मुख्य समाचार कोरोनाकै बनिरहेका थिए । विशेष गरेर कोरोना भाइरस संक्रमणको जोखिम, यसबाट बच्न भए–गरेका प्रयास र लापरबाही लगायतका विषय हाम्रा प्राथमिकतामा थिए । आम पाठकको चासो पनि यसैमा थियो ।

अघिल्लो दिन ‘प्रतिकार्यमा हेलचक्य्राइँ’ शीर्षकमा मुख्य समाचार बनाएका थियौं । कोरोनाको संक्रमण भित्रिन वा फैलिन नदिन सरकारी निकायबाट गर्नुपर्ने कार्यमा भइरहेको ढिलासुस्ती र हेलचक्य्राइँबारे सजग गराउने प्रयास थियो, त्यो ।

सोमवारको अंकमा भने ‘सतर्क कर्णाली’ शीर्षकमा मुख्य समाचार छापियो । प्रदेशका दश वटै जिल्लामा कोरोना संक्रमण रोकथामका लागि भइरहेका सतर्कताका प्रयास समेटिएको थियो । प्रदेश र स्थानीय सरकारले यो प्रतिकार्य अभियानमा हातेमालो गरेर हेल्थ डेस्क स्थापना, क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राखेका थिए । जुम्ला ‘लकडाउन’ गरिसकिएको थियो भने अन्य जिल्लाहरूमा पनि छलफल चलिरहेको थियो ।

भोलिको अंकमा पनि त्यसकै ‘फ्लोअप’ दिने तयारीमा जुटिरहँदा सुर्खेत बजार बन्द हुने, मुख्यमन्त्री तथा मन्त्रीहरूले अत्यावश्यक बाहेकका भेटघाट बन्द गर्ने, जिल्ला प्रशासनले सवारी साधन सञ्चालनमा जोर–विजोर लागू गर्ने लगायतका सूचना आरइरहेका थिए । ती सबै सूचनालाई समाचारको रूप दिन हाम्रा सहकर्मी जुटिरहेका थिए ।

सँगसँगै उता नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बसिरहेकाले के निर्णय गर्छ भन्ने चासोका साथ कुरिरहेका हामी देश ‘लकडाउन’ नै हुने निर्णय आएपछि अब के गर्ने भन्नेमा पुग्यौं । सरकारको ‘लकडाउन’ गर्ने निर्णय कोरोनाविरुद्ध लड्ने पूर्वतयारी थियो । र, लकडाउन नै गर्ने निर्णय भएपछि अवस्था जटिल बन्ने संकेतका रूपमा हामीलाई बुझ्न गाह्रो भएन ।

अब हामी पत्रिका प्रकाशन गर्ने या नगर्ने भन्नेमा गयौं । लकडाउनको आदेश अनुसार कार्यालय र व्यवसाय बन्द हुँदै थिए । अत्यावश्यक कामबाहेक नागरिकहरू बाहिर निस्कन नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा भएको थियो । एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधन सञ्चालनमा रोक लागेको थियो । सुर्खेतबाहेकका अन्य जिल्लामा सार्वजनिक सवारीको प्रयोग गरेर पत्रिका पठाउँदै आएका थियौं । यातायात नचल्ने भएपछि पत्रिका पठाउने अर्को उपाय थिएन । यस्तो अवस्थामा पत्रिका प्रकाशन गरेर के गर्ने ? पाठकसम्म कसरी पु¥याउने ?

कुरा पत्रिका छापेर पाठकसम्म पु¥याउने मात्रै पनि थिएन । सहकर्मीहरूको सुरक्षाको सवाल पनि थियो । समाचार संकलन, लेखन तथा सम्पादन र प्रकाशनदेखि वितरणसम्ममा आवद्ध सहकर्मीहरूको ज्यान जोखिममा राख्नु उपयुक्त होइन । फेरि पत्रिका पाठकका हातमा पुगिसकेपछि पनि जोखिम छँदैथियो । एउटै पत्रिका धेरै जनाले समाउने र पढ्ने हुँदा कोरोना भाइरस संक्रमणको थप जोखिम हुन आउथ्यो ।

यही जोखिमपूर्ण अवस्थाको आँकलन गरेर सम्पादक विनोद शाहीले मतिर संकेत गर्दै भन्नु भयो, ‘कोरोनाले डामाडोल बनाउलाजस्तो भो । पत्रिका छाप्ने कि नछाप्ने, के गर्ने होला, भन्नुस् त कार्यकारीज्यू ?’

मैले भोलिका लागि काम भइसकेकाले यो अंक प्रकाशन गर्ने र थप परिस्थिति हेरेर निश्कर्षमा पुगौंला भन्ने राय राखें ।

दशैंका अवसरमा ६ दिन र तिहारमा चार दिन मात्रै प्रकाशन बन्द हुने पत्रिका एक्कासी बन्द गर्नुपर्ने परिस्थति आइलाग्दा के गर्ने भन्नेमा हामीलाई अन्यौल भयो । काठमाडौं लगायतका स्थानमा साप्ताहिक पत्रिकाहरूले सामूहिक रूपमा परिस्थिति अनुकल नहुञ्जेलसम्म प्रकाशन बन्द गर्ने निर्णय गरिसकेका थिए । ‘लकडाउन’ अरु बेलाका कफर््यू वा बन्द–हड्तालजस्तो अवस्था पनि थिएन । विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाइरसको महामारीसँगको लडाइँ थियो । यसबाट सतर्क रहनुको विकल्प हामीसँग पनि थिएन । सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नपाइने भनिसकेको थियो ।

साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारी र प्रबन्ध निर्देशक कृष्णप्रसाद रेग्मीसँगको छलफलपछि हामी पत्रिका केही दिनका लागि प्रकाशन नगर्ने निश्कर्षमा पुग्यौं । सूचना प्रकाशित गरेर एकसाता बन्द गर्ने र वेवसाइटमार्फत पाठकसम्म निरन्तर समाचार पु¥याउने निर्णय ग¥यौं । यो पनि कोरोना संक्रमण जोखिमबाट बच्न हामीले अपनाएको सतर्कताकै प्रयास थियो ।

हामी त सतर्क बनेका थियौं । तर मंगलवार बिहान ६ बजेदेखि हुने लकडाउनले कस्तो प्रभाव पार्छ ? नागरिकले यसलाई कसरी लिन्छन् ? कार्यान्वयन गर्छन् वा हेलचक्य्राइँ गर्लान् ? एक साता पत्रिका प्रकाशन नगर्ने र सबै सहकर्मी घरमै बसेर सुरक्षित रहने निर्णयसहित घर फर्कदै गर्दा भने मनमा भने यस्तै प्रश्न खेलिरहेका थिए ।

सिंगो विश्व नै कोरोना भाइरस ‐कोभिड–१९) सँग जुधिरहेका बेला नेपाल सरकारले पनि संक्रमण नफैलियोस् भनेर मंगलवार बिहानैदेखि देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । सम्भावित जोखिमबाट बच्न मानवीय दूरी बढाउन लकडाउनको नीति अवलम्बन गरेको सरकारले पहिलो दिन नै आफ्ना नागरिकको अटेरी प्रवृत्तिसँग जुध्नुपर्ने भइदियो ।

प्रहरीले सरकारी निर्देशन अवज्ञा गर्नेलाई सम्झाउँदा पनि पार नलागेपछि पक्राउ नै गर्नुपर्ने स्थिति बन्यो । देशभर सयौंको संख्यामा मानिस तथा तीनले प्रयोग गरेका सवारी साधन नियन्त्रणमा लिनुप¥यो । महाविपत्तिमा पनि सावधानी नअपनाएर पक्राउ हुनुपर्ने अवस्था हाम्रै अटेरी बानीले निम्त्याएको हो ।

सरकारले घर बाहिर ननिस्कनुस् भनेकै छ । तर, हामीलाई भेटघाट र रमाइलो गर्ने उपयुक्त बेला यही हो झैं लागिरहेको छ । यो विपद्मा साथीभाइ भेला हुने, घुम्न जाने र जुवातास खेल्ने जस्ता हाम्रा गतिविधिले कोरोना भाइरससँग जुध्ने सरकारी रणनीतिलाई साथ देला कि संक्रमण निम्त्याउँला ? यो समय चाडबाडको छुट्टीजस्तो होइन । न त स्वतन्त्रता खोज्ने र पक्ष–विपक्षमा विभाजित भएर बहसमा उत्रिने सही बेला नै हो ।

कर्णाली प्रदेशकै कतिपय जिल्लाहरूमा स्वास्थ्य परीक्षणका लागि सञ्चालन गरिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी नै स्थानीयलाई जम्मा गरेर तास खेलिरहेका समाचार तथा तस्बिरहरू बाहिरिएका छन् । यो हदको हेलचक्य्राइँले हामी कोभिड–१९ सँग कसरी जुध्न सकांैला ? हामी किन यो हदका हर्कत देखाइरहेका छौं ? यो कुनै समूहले गर्ने बन्द–हड्ताल जस्तो अवस्था हो ? कोरोना भाइरसले विश्वका महाशक्ति राष्ट्रलाई घुडा टेकाइरहेका बेला हाम्रो घंैटोमा घाम किन लागेको छैन ?

सरकारले देशलाई लकडाउन गर्ने निर्णय हचुवाको भरमा गरेको छैन । कोभिड–१९ को छिमेकी मुलुक चीनमा महामारी र भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आवागमन र भेटघाट ठप्प पार्ने निर्णय गरिएको हो । यस हिसाबले संक्रमणको जोखिम नेपालमा पनि उच्च छ । यदि संक्रमण फैलिहाले हामीले गर्न सक्ने थोरै मात्रै हुन सक्छ । संक्रमण फैलन नदिन सतर्कता अपनाउनु नै हामी सुरक्षित हुनु हो ।

एक पटक कल्पना गरौं, सामान्य असावधानीले फैलिने झाडापखालासमेत नियन्त्रण गर्न नसकेर मृत्युवरण गर्नुपर्ने तितो सत्यका कथा बोकेका हामी विश्वलाई नै त्रसित पारिरहेको कोभिड–१९ विरुद्ध लड्नुपरे कस्तो हालतमा पुगौंला ? संक्रमण भइहाले महामारीको रूप लिन सक्ने र नियन्त्रण बाहिर जाने आँकलन गरेको सरकारले सचेतना र सतर्कतामै बढी जोड दिएको छ । तर नागरिकमा भने सावधानी बढेको छैन । अटेरी प्रवृत्ति उस्तै छ ।

जुनसुकै संक्रमण भित्रिन नदिन अपनाउनुपर्ने सावधानी नै हो । विश्वलाई नै हल्लाइरहेको कोरोना भाइरसको संक्रमणले एक जनाको असावधानीले मात्रै पनि जटिल रूप लिन सक्छ । संक्रमण भित्रिहाले उपचार कठिन हुने हाम्रोजस्तो मुलुकमा सजकता अपनाउनु नै बढी बुद्धिमानी ठहरिन्छ । यसतर्फ सरकार गम्भीर बने पनि कतिपय नागरिकले आफ्नो उही अटेरी स्वभाव देखाउँदै छन्, जस्तो अरु कुनै बन्द हड्तालका समयमा देखाउँथे ।

एकसाता सुरक्षित घरमा बस्नुस्, हामी बन्दोबस्त गर्छौ सरकारले भनिरहेकै छ । यो संकटको घडीमा पनि हामीलाई सडकमा हुल बाँधेर हिँड्नुपर्ने, सवारी चलाउनै पर्ने, भेटघाट गर्नैपर्ने र आत्मीयता देखाउनै पर्ने किन जरुरी लागेको छ कुन्नि !

एकातिर कोरोना संक्रमण नफैलियोस् भनेर कामना गर्ने पनि हामी, अर्कोतिर सरकारी निर्देशनको पालना नगर्ने पनि हामी नै भएपछि हाम्रो कामना कसरी पूरा होला ? नेपालमा पनि कोरोना संक्रमणका प्रारम्भिक संकेतहरू देखिन थालेपछि सरकारले देश लकडाउन गर्नु उपयुक्त ठानेको हो । देशै लकडाउन गर्नु कफर््यूजस्तो अवस्था पनि होइन । एक हप्ता घरमै बसौं । दैनिक जीवन सञ्चालनमै समस्या भए सरकारसँग सहयोग मागौं । त्यसका लागि सरकारी संयन्त्र तयारी अवस्थामै छन् । यस्तो बेला आवश्यक सावधानी अपनाएर सरकारी निर्देशनको पालना गरौं । अटेरी स्वभाव हटाऊँ, आफू बाँचौं, अरुलाइ पनि बचाऔं ।

अहिले फैलिइरहेको कोरोना भाइरसको औषधि समेत पत्ता लागेको छैन । यस्तो अवस्थामा यसबाट जोगिन तपाईं–हामी सबैका लागि एउटै मात्रै साहारा हो सतर्कता । सतर्कता अपनाउनु नै सुरक्षित रहनु हो ।

(लेखक साझा बिसौनी दैनिकका कार्यकारी सम्पादक हुन् ।)

प्रकाशित मितिः   १२ चैत्र २०७६, बुधबार ०९:२०