कर्णालीमा खेलकुदः सम्भावना र चुनौती

                           मधुवन बिसी

-मधुवन बिसी :

खेलकुदको महत्व बहुआयामिक छ । यो मानव स्वास्थ्य हितमा त छँदैछ परिचय, इज्जत र प्रतिष्ठा आर्जनको माध्यम पनि बनेको छ । खेल खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका यस्ता कयौं पात्रहरू छन्, जो विश्वजगतकै ख्यातिप्राप्त ‘सेलिब्रेटी’ बनेका छन् । चाहे फुटबलका मेस्सी र रोनाल्डो हुन् या क्रिकेटका सचिन तेन्दुलकर र ब्रेन लारा । एथ्लेटिक्सका उसेन बोल्ट हुन् वा टेनिसका राफेल नाडाल र मारिया सारापोभा । जसलाई आगामी कयौं युगले चिन्नेछ । खोज्नेछ । पढ्नेछ र सम्झनेछ । यो उनीहरूले खेलकुदकै माध्यमबाट कमाएको परिचय र प्रतिष्ठा हो ।

खेलकुद अब मनोरञ्जनको माध्यम मात्रै रहेन । यसको शक्तिको आयाम बृहत् भइसकेको छ । त्यही बृहत् आयामभित्र आफ्नो भविष्य खोज्नेहरूको संख्या पनि निक्कै बढेको छ । नेपाल यसबाट टाढा रहने कुरै भएन । विकासका सबै सूचकाङ्कहरूमा पछि रहेको कर्णालीमा पनि ढिलै सही खेलकुदको विकास भने हुँदै गएको छ । बामे सर्दैको अवस्थामा छ भन्न सकिन्छ । मन्द गतिमै अघि बढिरहेको महसुस हुन्छ ।

विश्वमा खेलकुदप्रति विशेष चासो बढ्न थालेपछि यसको प्रभावमा नेपालका शहरी क्षेत्र हुँदै विस्तारै ग्रामीण क्षेत्रसम्म पर्न थाल्यो र अहिले गाउँ–गाउँमा खेलकुदका गतिविधि हुने गरेका छन् । पछिल्लो पुस्तामा यसप्रतिको क्रेज बढ्दो छ । यसको उदाहरणको रूपमा विश्वकप फुटबललाई लिन सकिन्छ । पहिले–पहिले युरोपेली देश तथा अमेरिकाको जस्तो लाग्ने फुटबलले नछोएको अहिले कुनै देश छैन । विश्वकप फुटबल चलिरहँदा, त्यो समयको एक/डेढ महिना हामी नेपालीहरूका लागि पनि उत्सवमय हुने गर्दछ । विशेष रौनकले छुन्छ । जसले गर्दा पनि खेलकुदको महत्व अझ बढ्दै गइरहेको छ ।
हामी र हाम्रो देशमा मात्र नभएर विश्वका अन्य विभिन्न देशहरूमा पनि अहिले खेलकुदलाई ठूलो महत्व दिइएको छ । खेलकै माध्यबाट केवल खेलाडी मात्र नभएर सिङ्गो मुलुककै पहिचान स्थापित गर्दछ । त्यसैले पनि अन्तर्राष्ट्रिय रूपमा हुने प्रतिनिधित्वलाई देशकै प्रतिष्ठाका रूपमा लिने गरिएको छ । पछिल्लो समय त खेलकुदलाई यतिमात्र नभएर स्वास्थ्य र मनोरञ्जनका रूपमा पनि लिने गरिएको छ ।

फुटबलपछि नेपालमा यतिबेला सर्वाधिक रुचाइएको खेल हो, क्रिकेट । नेपालले विश्व क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गर्दै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि किक्रेटप्रतिको क्रेज झन बढ्न थालेको छ । त्यसमाथि टि–२० विश्वकपमा सहभागिता जनाएपछि नेपाली क्रिकेटप्रेमीहरूको संख्या पनि ह्वात्तै बढेको छ । तर के यसरी बढ्दै गएको खेलकुद क्रेज सुहाउँदो खेल वातावरण नेपालमा छ ? यो गम्भीर सवाल बनेको छ ।

कर्णालीमा सम्भावना
कर्णालीको भौगोलिक बनावट कतिपय खेलकुदका लागि अनुकूल छैन । सम्भावना भएका खेलकुदका लागि पनि पर्याप्त स्रोत र साधानको अभाव छ । जसले गर्दा कर्णालीले अपेक्षाकृत विकास देख्न भने पाएको छैन । यद्यपि यही सीमित स्रोत र साधनका बाबजुद पनि कर्णालीमा खेलकुदलाई सम्भावनाको रूपमा लिन सकिन्छ । जुन पछिल्लो गतिविधिले पनि देखाइरहेका छन् । अहिले सरकारी तथा निजी क्षेत्रबाट खेल गतिविधि सञ्चिालन भइरहेका छन् । निजी क्षेत्रको लगानी बढ्दै गइरहेको छ । यसले सकारात्मक सङ्केत दिएको छ ।

खेलकुदलाई पनि अन्य विकाससँगै जोडेर लैजाने हो भन्ने खेलको व्यावसायिकता वृद्धिसँगै व्यावसायिक खेलाडीहरू देखिन सक्ने अवस्था आउँछ । आजको पुस्तालाई खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सक्ने स्थिति सिर्जना गराउन सक्नुपर्छ । भलिबल खेल कर्णालीका सबै जिल्लामा खेल्ने गरिएको छ । पछिल्लो समय फुटबल र क्रिकेट पनि कर्णालीमा विस्तार भएका छन् । यसलाई व्यावसायिक बनाउन सके खेल क्षेत्रमा कर्णालीले पनि राम्रो सम्भावना बोकेको छ । अनुकूल भौगोलिक अवस्था नहुँदा पनि सुर्खेतसहित दैलेख, सल्यान, रूकुम पश्चिम, जाजरकोट र कालीकोटमा क्रिकेटको विकास भएको छ । यसलाई अत्यन्त सकारात्मक मान्नुपर्छ । जुनजुन खेलका गतिविधिहरू धेरै हुन्छ तिनै खेलको भविष्य उज्ज्वल देखिन्छ । खासगरी क्रिकेट, फुटबल, भलिबल, तेक्वान्दो, कराँते लगायत प्रचूर सम्भावना बोकेका खेल हुन् ।

आज हामीले कर्णालीका रोहित चन्द मात्र नभई थुप्रै खेलाडीहरू देख्न सक्छौं, जसले अन्तर्राष्ट्रिय स्तरमा गएर खेलिरहेका छन् । यदि सरकारले यो सबै कुरा बुझेर खेलकुदमा पनि लगानी ग¥यो र यो प्रदेशको प्रतिष्ठा पनि हो भन्ने बुझ्यो भने कर्णालीको भविष्य खेलकुदमा उज्जल छ । किनभने यसअघिको अझ कमजोर अवस्थामा पनि यस क्षेत्रबाट विभिन्न खेलका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा आफूलाई प्रमाणित गरिसकेका छन् ।

यी हुन् मुख्य चुनौती
खेलकुद क्षेत्रमा जतिसुकै सम्भावना भए पनि पूर्वाधार नभई हुँदैन । कर्णालीको मुख्य चुनौति नै पूर्वाधार हो । पर्याप्त पूर्वाधारको त कुरै छोडौं थोरै तर गतिला खेल मैदान समेत छैनन् । जसले गर्दा खेलाडीहरूले नियमित खेल्ने वा प्रशिक्षण गर्ने अवसर पाउँदैनन् । नियमित प्रशिक्षण नहुँदा आफ्नो क्षमता विकास हुन सक्दैन । यस्तो परिस्थितिमा कि पछि पर्ने कि खेलकुदबाटै पलायन हुने तीतो यथार्थ हाम्रासामु छ । त्यसमाथि नियमित प्रतियोगिताहरू
नहुँदा प्रतिभा भएर पनि खेलाडीहरू उजागर हुन सकेका छैनन् । वर्षमा एक/दुई वटा प्रतियोगिता खेल्न बाहेक अरू समयमा खेलकुदका गतिविधि नहुदाँ खेलाडीहरू खाली बस्नुपर्ने बाध्यता छ । यही बाध्यताका कारण उनीहरूले अन्य वैकल्पिक बाटो खोज्नुको विकल्प छैन ।

पछिल्लो समय कर्णालीमा खेलकुद गतिविधि बढ्दै गए पनि विगतदेखि नै खेलमैदानको अभाव कायमै छ । भौतिक पूर्वाधारका संरचनाहरू नहुदाँ प्रतियोगिता सञ्चालनमा पनि समस्या हुने गरेको छ । यद्यपि यही अभाव र समस्याकाबीच केही काम भने भएकै छन् । विगतमा छिट्फुट् रूपमा हुने क्रिकेट प्रतियोगिता अहिले भने वर्षमा एक÷दुई वटा साना–ठुलो प्रतियोगगिता हुने गरेका छन् । कर्णाली प्रदेश सरकारले खेलकुदमा प्रत्येक वर्ष बजेट छुट्याउने र खेल कार्यक्रममा करौडौं खर्च गरे पनि किन सोचे जति नतिजा आउन सकेको छैन ? जुन कुरा केही समय अघि बाँकेमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नतिजा हेरे पुग्छ ।

प्रदेश सरकारको नजर
प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि खेलकुदतर्फ एघार करोड ७५ लाख भन्दा धेरै बजेट छुट्टाएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना, खेलाडी प्रोत्साहन र सहयोगका लागि भन्दै ६० लाख, मुख्यमन्त्री कपको लागि एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । राष्ट्रपति रनिङ शिल्डको लागि ८० र जिल्लामा हुने रनिङ शिल्डको लागि ४० लाख छुट्याइए पनि प्रतियोगिताहरू सञ्चालन हुन सकेको छैन । सुर्खेतमा निर्मााणाधिन रंगशालाको यो वर्ष दुई करोड ५० लाख, हुम्लामा हार्ईअल्टिच्युड रंगशालाका लागि दुई करोड, राजकोट रंगशालको लागि एक करोड लगायत धेरै ठाउँमा रकम विनियोजन गरे पनि काम सुस्त गतिमा अगाडि बढेको छ ।

बिडम्बना नै भन्नुपर्छ लोकप्रियताका लागि खेलक्षेत्रमा बजेट विनियोजन गरेको सरकारले भौतिक संरचना निर्माणमा भने खासै चासो दिएको छैन । बजेट छुट्याए पनि खर्च गर्न सकेको छैन । यो आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा यति धेरै रकम खर्च गर्न सक्ने अवस्था निकै कम छ । यो वर्ष पनि गत वर्षहरूझै खेलुकदमा आएको बजेट फ्रिज हुने अवस्था नआउला भन्न सकिंदैन ।

१३ औं दक्षिण एसियाली खेलकुदमा कर्णालीबाट प्रतिनिधित्व गर्ने स्वर्ण, रजत र काश्य पदक विजेता ६ जना खेलाडीलाई प्रोत्साहन, जुम्लामा म्याराथुन, संविधान दिवस र प्रदेश स्थापन दिवसको अवसरमा खेलकुद गतिविधि सञ्चालन भए । यो बीचमा सरकारले साढे २१ लाखको हाराहारीमा खर्च गर्न सफल भयो भने अरू क्रियाकलाप गर्न सकेन । बाँकी बजेट फिर्ता हुने अवस्था पुगेको छ ।

खेलकुद परिषद् गठन
सरकार गठनको दुई वर्ष बितिसक्दा समेत खेलकुद परिषद् गठन हुन नस्कनु दुखद् विषय हो, जसले कस्ता खालका खेलको आवश्यकता छ, कुन–कुन खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने विषय यसले निर्णय गर्छ । प्रतियोगिताको संख्या जति बढ्छ त्यति नै राम्रा खेलाडी उत्पादन हुने सम्भावना हुन्छ । तर प्रतियोगिता नै हुन कठिन भएमा भने खेलकुदको अस्तित्वलाई जटिल अवस्थामा पु¥याउँछ । यसप्रति हामी गम्भीर बन्नै पर्दछ । देश निर्माणको एउटा पाटो खेलकुद पनि हो भन्दा फरक पर्दैन ।

अबको चार वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालमा हुने लगभग पक्का पक्की जस्तै छ । त्यसका लागि आवश्यक पूर्वाधार छैन । अहिलेदेखि नै तयारी नथाल्ने हो भने यो अवसर कर्णालीको हातबाट फुत्किन सक्छ । त्यसैले सम्बन्धित निकायको खेलक्षेत्रको विकासको लागि समयमै ध्यान जान जरुरी छ ।

अब के गर्ने ?
सरकारले खेलकुदलाई पनि अन्य आयोजनाहरूजत्तिकै महत्व दिन जरुरी छ । त्यसै अनुसारको बजेट छुट्याएर लगानी गर्नुपर्दछ । आवश्यक भौतिक पूर्वाधार निर्माणदेखि नियमित प्रतियोगिताहरूको आयोजनाका लागि योजनाबद्ध काम गर्न नसकेसम्म कर्णालीको खेलकुदले जतिसुकै सम्भावना बोके पनि उपलब्धि हासिल गर्न सक्ने छैन ।

खेलाडीहरूको नियमित प्रशिक्षण, उनीहरूको वृत्तिविकास, छात्रवृत्ति लगायतका योजना पनि अपरिहार्य छ । खेलाडीहरूलाई खेलकुदमै उज्ज्वल भविष्य छ भन्ने आभाष दिलाउन सक्नुपर्दछ । प्रशिक्षकहरूको सीप विकास उत्तिकै जरुरी छ । उच्च स्तरीय खेलमैदान, रंगशालाको उचित व्यवस्था हुनसके खेलकुदको विकासले फड्को मार्नेछ ।

फुटबल र क्रिकेटका लागि कम्तिमा ८–१० हजार दर्शक अट्ने रंगशाला, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत अन्य खेलका लागि पनि पर्याप्त पूर्वाधार निर्माण–व्यवस्थापन हुनसकेमा कर्णालीमा खेलकुदको माहोल नै बेग्लै हुन सक्छ । खेलकुदमा लागेर पनि अबका दिनमा भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने र खेलाडीलाई आकर्षण गर्ने खालका योजना तथा नीति नियम बनाउनुपर्ने आवश्यकता खट्किएको छ ।