उचित कदम

यतिबेला विश्व नै कोरोना भाइरसको जोखिममा छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई महामारीकै रूपमा घोषणा गरिसकेको छ । सतर्क रहन, प्रतिकार्यमा जुट्न सङ्गठनले सबै मुलुकलाई सचेत गराइसकेको छ । नेपाल पनि कोरोनाको जोखिममा रहेको मुलुकमध्ये एक हो । त्यसमा पनि सबैभन्दा पहिला कोरोनाको संक्रमण फैलिएको मुलुक चीन नेपालकै छिमेकी हो । पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको अर्को छिमेकी देश भारतसँग नेपालको सम्बन्ध अझ नजिक छ । धेरै नेपालीहरू रोजगारीका सिलसिलामा भारतमा छन् । उनीहरू स्वदेश फर्कने क्रममा छन् । यति मात्र नभएर नेपाली बजार भारतसँग निर्भर छ । धेरै वस्तुहरू उतैबाट आयात हुने गरेको छ । जसले गर्दा भारतबाट पनि नेपालमा कोरोनाको जोखिम अझ बढी छ ।

दुवै छिमेकी मुलुकबाट बीचमा रहेको नेपाल जोखिममुक्त हुने कुरै भएन । त्यसमा पनि कर्णाली प्रदेश अझ बढी संवेदनशील क्षेत्र हो । यसको सीधा नाका उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएको छ । अर्कोतर्फ कर्णालीका धेरै नागरिक रोजगारीका लागि भारतमा छन् । उता कोरोना त्रास बढेपछि स्वदेश फर्किदैछन् । केही दिनयता स्वदेश फर्किनेहरूको संख्या पनि बढ्दै गइरहेको छ । यस्तो अवस्थामा भारतबाट फर्कने व्यक्तिहरूबाट कोरोनाको संक्रमण भित्रिने जोखिमलाई नकार्न सकिंदैन । यद्यपि भारतबाट आउने व्यक्तिबाट कोरोना भित्रिनै हाल्छ भन्ने चाहिँ होइन ।

जुनसुकै कारणले होस् सिङ्गो विश्व नै जोखिममा रहेका बेला हरेक देशले उच्च सतर्कता अपनाइरहेका छन् । नेपालमा पनि सतर्ककताका विधिहरू अपनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मात्रै राष्ट्रका नाममा सम्बोधन गर्दै विभिन्न घोषणा गरेका छन् । जसले सरकार नै कोरोनाविरुद्धको प्रतिकार्यमा सजग भएको देखिन्छ । यता कर्णाली प्रदेश सरकारले पनि केही महत्वपूर्ण निर्णयहरू गरेको छ । शुक्रवार नै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर कोरोनासँग जुध्न उच्च सतर्कता अपनाउने निर्णय भएका छन् । जुन निर्णयहरू उच्च महत्वका छन् ।

पर्याप्त स्वास्थ्य संरचना र सुविधा नभएको कर्णालीमा अहिलेदेखि नै संवेदनशील बनिएन भने ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । यही जोखिमलाई मध्यनजर गरेर सुर्खेतमा तत्काल एक हजार बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ । यो पूर्वतयारी अपरिहार्य छ । प्रदेश राजधानी वीरेन्द्रनगरका साथसाथै हरेक जिल्ला र स्थानीय तहमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने देखिन्छ । कोरोनाको संक्रमण भित्रिएपछि त्यसलाई थेग्न कर्णालीलाई सबैभन्दा मुस्किल छ । त्यसैले संक्रमण भित्रिनै नदिन आवश्यक पूर्वतयारी नै उचित कदम हो । प्रदेश सरकारले जुन कदम चालेको छ त्यो प्रशंसायोग्य छ । क्वारेन्टाइनका साथसाथै आवश्यक परेको समयमा खर्च गर्नका लागि ५० करोडको अक्षयकोष स्थापना गर्ने निर्णय होस् या उद्धारका लागि हेलिकोप्टरको तयारी । यी सरकारले चालेको महत्वपूर्ण कदम हुन् । आवश्यक हेल्थ डेस्क स्थापना र त्यहाँबाट प्रभावकारी स्वास्थ्य जाँचको व्यवस्थापन गर्नतर्फ पनि सरकारको ध्यान जान आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७६, आईतवार ०५:०१